तस्बिर साभार वेब

विश्व बैंकद्वारा नेपाललाई साढे तीन अर्ब आपत्कालीन सहयोग प्रदान

Hollywood Khabar April 06,2020 Comments

२६ चैत्र काठमाडौं।विश्व बैंकले नेपाललाई २ करोड ९० लाख अमेरिकी डलर अर्थात् करिब साढे तीन अर्ब रुपैयाँ आपत्कालीन सहयोग प्रदान गरेको छ। विश्व बैंकले यो सहुलियत ऋण सहयोग अन्तर्गत उपलब्ध गराएको हो।कोभिड–१९ आपत्कालीन सम्बोधन तथा स्वास्थ्य प्रणाली परियोजनालागि प्रदान गरिएको उक्त सहयोग नेपालमा कोरोना भाइरस रोकथाम, पहिचान तथा निदानका लागि स्वास्थ्यसामग्री तथा प्रयोगशाला स्तरोन्नति लगायतमा खर्च गरिनेछ। सहयोग सम्बन्धि सम्झौतामा अर्थ सचिव शिशिर कुमार ढुंगाना र विश्व बैंकका राष्ट्रिय व्यवस्थापक फारिस एच. हदाद जर्भोसले हस्ताक्षर गरेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको नियम तथा विश्व स्वास्थ्य संगठनको कार्यविधिमा आधारित रहेर संक्रमितहरुको पहिचान र सम्पर्क पहिल्याउन आपत्कालीन सहायता प्रदान गर्ने विश्व बैंकले उल्लेख गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यान्वयन गर्ने यो परियोजना कोरोनाको महाव्याधिसँग जुझ्न आवश्यक पूर्वतयरी अन्तर्गत सघन उपचार कक्ष,शय्याहरु विस्तार,अलग्गिएर बस्ने सुविधा देशभर विस्तार गरिनेछ।

सचिव ढुंगानाले कोरोना भाइरसको महामारी शुरु भएलगत्तै नेपालले कोरोना भाइरसको सम्भावित संकट नियन्त्रणका लागि विभिन्न सुरक्षात्मक उपायहरु अपनाएकोले सामाजिक आर्थिक गतिविधि प्रभावित भएको उल्लेख गर्दै अर्थतन्त्रको पुनःस्थापनाका लागि थप सहयोगको अपेक्षा गरेको बताए।जनस्वास्थ्य संकटको अवस्थालाई सम्बोधन गर्न तयार रहने गरी परियोजना अन्तर्गत व्यक्तिगत सुरक्षा उपकरण(पीपीई),सफाइ सामग्री, उपचार र हानिकारक संक्रामक रोगहरुको उपचारका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको क्षमता विस्तारमा सहयोग पुग्नेछ।

विश्व बैंकका राष्ट्रिय व्यवस्थापक जर्भोसले सम्झौतामा उल्लेखित ‘रेट्रोएक्टिभ फाइनान्सिङ’सम्बन्धि व्यवस्थाका कारण यो परियोजना शुरु हुनुअघि यसको उद्देश्य अन्तर्गत भएका खर्चलाई परियोजना अन्तर्गत राख्न सकिने बताए। विद्यमान संकटको समयमा सरकारको पहलले मुलुकभर नागरिकको जीवन रक्षा गर्न सक्ने भन्दै जर्भोसले विश्व बैंक समूहका विकास साझेदारहरु कोरोना भाइरसको महाव्याधि फैलन नदिन आवश्यक स्वास्थ्यसम्बन्धि पूर्वाधार र स्रोतको व्यवस्थापनमा सहयोग गर्न तत्पर रहेको उल्लेख गरेका छन्।विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघको द्रुत सहायता सुविधा प्याकेज अन्तर्गत यो सहयोग प्राप्त गरेको हो।