Yogen Chhetri, UK

NRNA वर्तमान-निवर्तमान अध्यक्ष एउटै मिशनमा लाग्नुहुन्छ-योगेन क्षेत्री

Hollywood Khabar April 13,2018 Comments

हलिउडखबरको लागि तयार पारिएको
गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए) को आठौँ विश्व सम्मेलन तथा अधिवेशनबाट तत्कालिन उपाध्यक्ष भबन भट्टको नेतृत्वमा निर्वाचित कार्यसमिति भएको पनि ६ महिना बितिसक्यो। एनआरएनको आठौँ निर्वाचन पछि नेपालमा संघको चहलपहल नै हराएको थियो। हाल केही हप्ता आएर फेरि नेपाल र नेपाल बाहिर नँया तरङ्ग छोडेको छ।

मार्चको अन्त देखि अप्रिलको पहिलो हप्ता सम्म नेपालमा गैरआवासीय नेपाली संघका हस्तीहरुको जमघट भयो। संघका अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त, महासचिव बद्रि के सि, प्रवक्ता भूषण दाहाल, सचिव जानकी गुरुङ, निवर्तमान अध्यक्ष डा शेष घले, प्रमुख संरक्षक जीवा लामिछाने, निवर्तमान आइसीसी सदस्य जमुना गुरुङ समेत हुनुहुन्थ्यो।

त्यसैगरी एनआरएनए एसिया प्यासिफिक पूर्व आरसी त्रिलोक गुरुङ, एसिया प्यासिफिक पूर्व डिआर्सी गोबिन्द श्रेष्ठ, निवर्तमान सल्लाहकार मेजर डमर घले, पूर्व सल्लाहकार युवराज गुरुङ, बेलायतका पूर्व अध्यक्ष मुक्षेत्र गुरुङ, बहराइनका पूर्व अध्यक्ष श्याम तामांग, अमेरिकाका पासाङ्ग लामा लगायत संघका विश्वमा छरिएर रहेका महत्वपूर्ण व्यक्तिहरुको टोली पनि नेपालमा थियो।

त्यतिमात्र संघका अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, प्रवक्ता, पूर्व अध्यक्ष तथा संरक्षक जीवा लामीछाने रातारात नेपाल आउनुभयो। एउटा व्यक्तिको प्रयासले अप्रिल महिना नेपालमा एनआरएनमय भयो। सबैलाइ नेपालमा एकै ठाउँमा जुटाउन महत्वपूर्ण भूमिका खेल्ने सफल इण्टरप्रेनर, संघका पूर्व आइसिसि सदस्य तथा

एनआरएनए एनसीसी बेलायतका पूर्व अध्यक्ष योगेन क्षेत्रीसंग हलिउडखवरकी सम्पादक सोनी शर्माले गरेको कुराकानी आजको लागि।

**योगेनजी यहाँको परिचय बताई रहनु नपर्ला। त्यसैले एकै पटक बिषयमा प्रवेश गर्नु उपयुक्त ठाने। गैरआसासीय नेपाली संघका निवर्तमान अध्यक्ष डा शेष घले, निवर्तमान आइसीसी सदस्य जमुना गुरुङ लगायत संघका महत्पूर्ण हस्तीहरुलाई नेपालमा जमघट गराउनुको मुख्य उदेस्य के होला?


-सर्वप्रथम त हाम्रो नेपाल आउनु र संघका महत्वपूर्व प्रोजेक्ट लगायत कुराहरुको बारेमा जिज्ञासा राखीदिनु भएकोमा हलिउडखवरलाइ धन्यवाद दिन चाहन्छु। हामी एनआरएनहरुले जन्म भूमिका लागि केहि गर्नुपर्दछ, नेपालमा संक्रमणकालको अन्त्य भइ राजीनितिक स्थिरता कायम भैसकेको अवस्थामा नेपालको बिकासमा कसरी हातेमालो गर्न सकिन्छ भन्नका लागि केही महत्वपुर्ण योजनाका साथ नेपालमा जमघट भएका हौँ।

नेपालको बिकासका लागि हामीले कुन-कुन क्षेत्रमा कसरी लगानी गर्न सकिन्छ भन्दै आफ्नै देशमा बसेर छलफल गरौँ र विदेशी भूमिमा हामीले आर्जन गरेका ज्ञान, शिप र पुँजीलाई कुन रुपमा कुन क्षेत्रमा लगाउँदा नेपाल र नेपालीको हितमा हुन्छ, लगानी सुरक्षित हुन्छ भन्ने जस्ता कुराहरुमा छलफल र अध्यन गर्न हाम्रो यो जमघट भएको हो।

**

निर्माणाधीन संघको आफ्नै भवन, शंखमुल पार्क र भुकम्प पीडितका लागि निर्मित लाप्राक नमुना  बस्ति लगायत ठाउँमा घले दम्पतिलाई फेरि पनि लैजानुको कारण कुनै हिडन एजेन्डा त छैन नि ? किन यसो गर्नु परेको ? यो त एक किसिमले वर्तमान नेतृत्वको पछि लागेको जस्तो भएन र ?

-होइन यसमा तेस्तो लुकेका र छिपेको कुनै कुरा छैन। उहाँहरुलाई ६ महिना सम्म चुप-चाप काम गर्न दिएको हो। तर हरेक निर्णय र कामका पछाडी असन्तुस्ट मात्र होइन प्रगति सोचे जस्तो आएन। एकलौटी जस्तो भयो।

अर्को महत्वपूर्ण कुरा भनेको एनआरएनएको निर्माधीन भवन, शंखमुल पार्क र भुकम्प पीडितका लागि निर्मित लाप्राक नमुना बस्ति, NRNA Vision 2020 & Beyond भनेको डा शेष घलेको परिकल्पना हो। यिनै संरचना निर्माणका लागि हरेक एनआरएनहरुले आफुले सकेको सहयोग गरेका छन्। लाखौँ एनआरएनहरुको सहयोगबाट निर्मित साझा फुलबारी बनाउने घले दम्पतिले देखेको परिकल्पनामा निर्मित संरचनालाई अझै कसरी राम्रो बनाउन सकिन्छ भनेर ति सबैको अवलोकनका भ्रमण गरेका हौँ।

डा घलेले शुरु गरेको अभियान पुरा गर्ने दायित्व अव भवन भट्ट नेतृत्वको काँधमा आएको छ। संघको अभियान साझा अभियान हो, नेतृत्व जुनसुकै भए पनि हाम्रो उदेश्य यौटै हुनुपर्दछ। निर्माधीन अवस्थामा रहेका एनआरएनएको भवन, शंखमुल पार्क र भुकम्प पीडितका लागि निर्मित लाप्राक नमुना बस्ती हाम्रो पहिचानसंग जोडिएका छन्। नेपाल आउँदा एनआरएनसंग जोडिएका संरचना स्थल पुग्नुपर्छ भन्ने कर्तब्य र दायित्व सम्झेर हामी त्यहाँ पुगेका हौँ।


**भुकम्प पीडितका लागि निर्माधीन लाप्राक नमुना बस्तीको डिजाइन त रातारात परिवर्तन गरियो भन्ने सुनिन्छ नि ?

-अवलोकनका क्रममा लाप्राक नमुना बस्ति र एनआरएनको भवनमा केहि कुराहरु परिवर्तन भएको हामीले पनि देख्यौं। कम खर्च लाग्ने बहानामा मनलाग्दी तरिकाले डिजाइन नफेरौं भन्ने हाम्रो पनि भनाइ हो। दाता बिना संस्था चलाउन गार्हो हुन्छ यी सबै कुरा एनआरएनको पहिचान र भावनासंग जोडिएका कुरा हुन्। डिजाइन परिवर्तन गर्ने परेमा जुन उदेश्यका लागि एनआरएनहरुसंग रकम उठाइएको थियो। उनीहरुको भावनालाई सम्बोधन गर्ने किसिमले परिवर्तन गर्नुपर्छ।

शुरुका दिनमा लाप्राक बस्तीमा जमुना गुरुङले ४२ दिन त्यहि बसेर काम गर्दा निर्माण प्रक्रियाले जुन रुपमा गति लिएको थियो त्यो अनुपातमा अहिले प्रगति कम भएको देखियो। लाप्राक वस्तीमा भौगोलिक विकटता  चुनौती र मौसमको सामना गर्दै काम गर्नुपर्ने ठाउँ हो। खर्च कम गर्ने नाउँमा डिजाइन परिवर्तन गर्न खोज्दा निर्माण प्रक्रिया लम्बिने मात्र होइन सुरक्षामा जोखिम पनि हुन्छ।

लाप्राकिले कहिले सम्पन्न होला र सुरक्षित तरिकाले बस्न दिन गनेर बसेको बेला अनकौं बहानामा यसलाई लम्ब्याउनु हुदैन। विपत्ति थेग्न सक्ने बलियो निर्माणका लागि दाताले गरेको सहयोगलाइ दाताकै भावना अनुसार काम गरौँ भन्ने कुरा डा शेष घले जमुना गुरुङको रहेको छ। हामी सबै एनआरएनहरु पनि यहि चाहान्छौं।



**बालुवाटारमा निर्माणाधीन संघको आफ्नै भवनको संरचना बदलेर भट्टी पसल राख्न भाडामा दिंदै हुनुहुन्छ रे के यसले डा घलेको भिजन पुरा होला त?



एनआरएनको भवन निर्माणाधीन रहेको छ यो हामी एनआरएनहरुको शान हो र गौरव हो। यसलाई हामी पवित्र र साझा घरको रुपमा हेर्न चाहेका छौं। डा घलेले यस भवन निर्माण अभियान चलाउँदा जुन भिजन र दुरदर्शी परिकल्पना गर्नुभएर आफ्नो पहिलो टर्मको एकबर्ष पुग्नु भन्दा अगाडि नै सबै एनआरएनहरुको भावना र स्वामित्व हुनुपर्छ भनेर उहाँले पहिलो फण्ड रेजिंग कार्य अमेरिकाबाट सुरु गर्नुभयो। त्यो बेला अग्रजहरुलाइ डा घलेसंग विश्वास लागेको थिएन। त्यसैले उहाँहरुले भन्नुहुन्थ्यो - शेषजी तपाइले धेरैमा धेरै ५ करोड भन्दा बढी उठाउन सक्नु हुन्न। हाम्रा एनआरएनहरुले पैसा दिंदैनन भनेर हतोत्साही गर्न खोज्नु भएको थियो। तर पनि डा घलेले यो अभियान सुरु गर्नुभयो, लागि रहनुभयो। अन्त त उहाँको नेतृत्वमा संघले २० करोड जति प्लेज बटुल्न सफल भयो। यसका लागि डा घले सबै महादेश पुग्नुभयो र हामी सबैको सपनालाइ पूरा सफल हुनुभयो। ऐले हामी सबै एनआरएनहरुले गरेको सहयोग पनि त्यसैका लागि हो।

यति मात्र होइन जमुना गुरुङले यस भवनलाई युनाइटेड़ नेशनको परिकल्पना अनुसार सबै एनआरएनको साझा र नमूना बनोस भन्ने चाहनाका साथ अभियानमा बलियो खम्बाको रुपमा रहनुभयो। संघको मुख्यालय भवन उदाहरणीय बनाउँदै यस घरभित्र पाइला टेक्दा हरेक एनआरएनले गर्व महसुस गर्न सकुन भन्ने गुरुङको चाहना हो। एनआरएनहरुले विश्वासले दिएको सहयोगमा निर्मित साझा भवनको डिजाइन परिवर्तन गरि रेस्टुरेन्टलाइ दिन खोज्नु दु:खको कुरा हो। यसलाई धोती च्यातेर झुम्रो हलो काटेर मुङ्ग्रो भनेको जस्तै उपमा दिन सकिन्छ।

यो यस्तै कुराले आज डा घलेको सक्सेसर त त्यो प्याट्रन बुझेको व्यक्ति जमुना गुरुङको नेतृत्वको अभाव महसुस भएको छ। संघको आफ्नै भवन खर्च अवाभकै कारण भाडामा लगाउनु पर्ने अवस्था आउनु लाजमर्दो कुरा हो। जमुना गुरुङले पनि यस भवनलाई कसरी स्थापित गर्ने भनेर NRNA Vision 2020 & Beyond को परिकल्पनालाइ कार्यन्वयन गर्नु अगाडि आउनु भएको थियो। जुन कुरा हामीले साधारणसभाबाट पास समेत गरिसकेका छौं। अव डा घलेको भिजन अनुसार मर्यादित र सबै एनआरएनहरुको भावना समेटिने दाग रहित घर बनाउनु पर्दछ। जुन उदेश्यका साथ रकम संकलन गरिएको थियो अहिले दाता एनआरएनहरुको परामर्शबिना हाम्रो साझा पवित्र घरलाई भट्टी पसल बनाउनु भनेको लाखौँ एनआरएनको हित बिपरित हो। डा घलेको परिकल्पना भित्र गैरआवासीय नेपाली संघको हित विपरितका कुराहरु अटाउन सक्दैनन्।

**


शंखमुल घाटको एनआरएनए पार्क त कछुवाको गतिमा छ। यो केवल भनाउने कुरा हो कि काम पनि हुने हो ? नेपाल सरकारले ढिलो सुस्ती गर्छ भनेर कम्प्लेन गर्ने अनि आफ्नै एउटा पार्क बनाउन ४/५ बर्ष लगाउने अनि तपाइँहरु त्यसैलाई कुन हैसियतले गौरव भन्दै हुनुहुन्छ ?


-अबश्य पनि तपाइको प्रश्नमा धेरै हद सम्म म सहमत छु। शंखमुल घाटको एनआरएनए पार्क निर्माण थालेको पनि चार वर्ष भैसक्यो। यो ढिलासुस्तीले पटक्कै राम्रो संदेश जान्दैन। जिम्मा लिनेले यस कुरामा ध्यान नदिंदा निर्माण प्रक्रिया लम्बिएको लम्बियै छ। अव जति सक्दो छिटो यसलाई सम्पन्न गर्न तिर लाग्नु पर्दछ।

**तपाईहरुको टिम काठमान्डौ वरपरका नुवाकोट कास्की, स्यांङ्ग्जा, लम्जुङ्ग लगायतका गाउँमा निक्कै घुम्नु भएछ। मनोरन्जनका लागि मात्र हो कि गाउँको अरु कुनै योजना सहित हो?

-

नेपालमा जति पनि बिदेशी आउँछन् तिनीहरु सुन्दर हिमाल, परम्परागत शैलीका गाउँघर बस्ति र प्राकृतिक सौन्दर्यताको अवलोकनका लागि आउने हुन्। पछिल्लो समय युवा शक्ति खाडी मुलुक भासिदा गाउँ रित्ता भएका छन्। जमिन बाझै छन् आधुनिकिकरणका नाउँमा हाम्रो पहिचान बोकेका घरहरु भत्काउँदै कंक्रिटको संरचनाले गाउँको पहिचान मेटिदै गएको छ। घले दम्पतिले एमआइटी फाउन्डेसन मार्फत गरेका र ल्याउन लाग्नुभएको योजनालाई गाउँ जोगाउने नया अभियान तथा महान परिकल्पनालाइ साथ दिदै कसरी गाउँको पहिचान र मौलिकता जोगाइ युवालाई गाउँमै रोजगजार बनाउन सकिन्छ, दिगो र स्थाई रुपमा गाउँमा नै कसरी राम्रो जीवनयापन गर्न सकिन्छ भन्ने अध्यन अनुसन्धानका लागि पनि  घले दम्पतिको नेतृत्वमा हामी गाउँ-गाउँमा गएका हौँ।

**

एनआरएनएले डा शेष घलेको नेतृत्वमा तपाइहरुले नेपालमा लगानी पनि भित्राउदै हुनुहुन्छ भन्ने कुरा सुनिन्छ त्यो कहा सम्म पुग्यो ?



-हामीले कसरि एनआरएनहरुको लगानी सुरक्षित हुने गरि नेपालमा भित्र्याउन सकिन्छ र देशको अर्थतन्त्रमा टेवा दिन सकिन्छ भन्ने बारेमा विज्ञहरुको टिमसंग बसी धेरै छलफल गरेका छौं। यसका लागि विस्वासिलो व्यक्ति भनेको डा शेष घलेनै हो। घलेको अगुवाइमा नेपालमा थुप्रै उध्योग तथा स्वरोजगारका कार्यक्रममा लगानी भित्र्याउन हामी तयार रहेका छौं।

**


तपाइले त वर्तमान अध्यक्ष भवन भट्टबी र निवर्तमान अध्यक्ष डा शेष घले बिचको चिसिंदै गएको ध्रुवीकरणलाइ मेटाएर एक ठाउँमा बस्ने बनाइदिनुभयो। अव निवर्तमान र वर्तमान अध्यक्ष एउटै मिशनमा लाग्लान त ?



-हामी सबै एनआरएनहरु एक हौँ, नेपाली नेपालीका लागि भन्ने हाम्रो स्लोगनलाई आत्मासाथ गर्दै हामी समृद्द नेपाल बनाउने अभियानमा लागेका छौं। संघभित्र पनि ध्रुविकरण खडा गरेर आफ्नो
व्यक्तिगत फाइदाको पछि  दौड़नेको जमात हिजो पनि थियो र आज पनि छ। अव त्यस्ता कुराको पछाडी नलागी व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर हातेमालो गरि समृद्द नेपाल बनाउने बेला आएको छ।

एनआरएनएको साझा अभियानमा भट्ट र डा घले  एकहुनु भनेको सबै एनआरएनको लागि खुशीको कुरा हो। जस्तोसुकै परिस्थितिमा पनि एनआरएन एकभइ अभियानलाई सफल बनाउनुपर्छ भन्ने कुरा उहाँहरुको मिलनले स्पस्ट पारेको छ।

डा घलेको दूरदर्शी भिजनमा अटाएका हामी लाखौँ एनआरएनलाइ समेटेर घलेको दुरदर्शी भिजनलाई वर्तमान अध्यक्ष भट्टले पुरा गर्ने हो भने अध्यक्ष भट्टको स्थान पनि सम्मानित र निक्कै माथि पुग्नेछ। डा घलेको अभियान भिजन ट्वान्टी ट्वान्टी एण्ड बियोण्ड साँच्चिकै कार्यन्वयन गर्ने हो भने डा घले र भट्टको यसपटकको मिलन कोशेढुङ्गो सावित हुनेछ। अव दुवै जनाले एनआरएनको भिजन र मिशन पुरा गर्न लाग्नुपर्छ।



**यसपटकको नेपाल भ्रमणको उपलब्धि के के रह्यो ?

-

निवर्तमान अध्यक्ष डा शेष घले र वर्तमान अध्यक्ष भवन भट्टबीचको एकता सबैभन्दा उपलब्धि हो। भिजन ट्वान्टी ट्वान्टी एण्ड बियोण्ड कार्यन्वयनका लागि एउटै मिशन र भिजनमा उभिएका छन्। समृद्द एनआरएनका लागि डा शेष घले र अध्यक्ष भट्ट दुरदर्शी भिजनका साथ अघि बढ्नुहुनेछ। यस अभियानमा हामी सबै एनआरएको साथ रहनेछ। यो नै ठुलो र महत्वपुर्ण उपलब्धि हो। नेपालमा लगानी भित्रयाउने सम्बन्धमा बिभिन्न टिम खडा गरि अध्यन अनुसन्धानका लागि बिज्ञलाइ जिम्मा दिइएको छ। यसपटकको नेपाल भ्रमण नेपाल, संघ र एनआरएनहरुको हितमा निक्कै अर्थपूर्ण रहेको छ।