तोरी र कोदो, कन्फ्यूजनले बिगारेको त्यो कथा

Hollywood Khabar February 27,2024 Comments

कृष्ण के सी, अमेरिका, फेब्रवरी २७, २०२४

म एकतमासले फोनमा अल्मलिएको थिएँ। मेरी आमाले ढोकैबाट भन्नु भयो-कान्छा, सेतो बोरामा २ पाथी कोदो छ त्यसलाई हिराकाजीको कलमा लगेर पिठो बनाएर लेराइज। अनि सुन, त्यो खैरो बोरामा २ पाथी कालो तोरी छ त्यो चाइ चिनकाजीको मिलमा लगेर तेल पेलेर लेराइज। मैले हुन्छ त भने तर मेरो ध्यान फोनमा थियो। 

उसै पनि म काममा तेती ध्यान नदिने मान्छे। केहि समयपछि मैले दुवै बोरा मोटरसाइकलमा हालेर तेसै गर्नगएँ। तर मैले भुलेको थिएँ की कुन बोरामा तोरी छ र कुन बोरामा कोदो। म धेरै अल्छी भएको र प्राय यस्तो काम गर्दैनथिएँ। एउटा बोरा मिलमा र अर्को बोरा कलमा लगेर दिएँ अनि पालो कुर्न फोनमा व्यस्त भएँ। 

कुरा उल्टो भएछ। तोरीको बोराको ठाउँमा कोदोको बोरा र कोदोको बोराको ठाउँमा तोरीको बोरा परेछ। कल र मिलमा काम गर्नेले हेर्दै नहेरी घानको ओइरो हालेछन, अनि बर्बाद। न तेल आयो न पिठो। उल्टा पिठो पिंध्ने कलमा तोरी पर्दा लेसिएर बिग्रियो अनि तेल निकाल्ने मिलमा कोदो पर्दा न फुलो बन्यो न पीठो, अर्को समस्या। त्यसमाथि मिल र कलवालाको गाली त खाइयो नै घर पुगेर खाने गालीको भाग त बाँकी नै छ। 

त्यसलाई समाधान गर्ने या केलाउने, छुट्टयाउने उपाए थिएन। यसबाट हाम्रो कोदो र तोरी दुवै गुमे अर्को तिर गाली खाइयो, मिल र कल बिग्रिए। कन्फ्यूजनमा गरेको हरेक कामले आफूलाई मात्र होइन अरुलाई पनि बिगार्छ त्यसलाई सुधार्न सकिन्न। तर कन्फिडियन्स भएर बिगारेको नै काम भए पनि सकार्न सकिन्छ। कृष्णार्पण