मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको संबिधानको प्राबधान

Hollywood Khabar April 30,2024 Comments

कृष्ण के सी, अमेरिका, मे १, २०२४

हरेक बर्ष मे १ लाई अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवका रुपमा अन्तर्राष्ट्रिय मजदुर दिवस भने मनाउने गरिन्छ। मजदूर दिवसको दिन हुने हरेक कार्यक्रमहरुमा आफुलाई मजदुरका नेता भन्नेहरु ठुला ठुला भाषण दिन्छन र ताली परररर बजाउने चाहि उही मजदूरहरु नै गर्छन। त्यसैले यहाँ मजदूर दिवस किन र के का लागी भन्ने बिषयमा केहि कोट्याउने प्रयास गर्दैछु।

ब्लु कलर जब या मजदुरीका बारे त होइन तर मजदुर दिवसको सन्दर्भ के हो र यो किन मनाउने भन्ने बारेमा अहिले मजदुरहरुमा नै उदासिनता देखिन थालेको छ। श्रमको हिसाबले हेर्दा इन्जिनियर पनि मजदुर नै हो र लेबर पनि मजदुर हो। 

२४ घण्टाको समयमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोञ्जन हो तर यहाँ रोजी रोटीकै लागि सधैं मजदूरी गर्नेहरुको संख्या धेरै छ। “आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम” नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा यो बर्ष पनि मे १ मा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ।

नेपालको संविधानको धारा ३३ ले प्रष्टरुपमा प्रत्येक नागरिकलाई रोजगारीको हक हुने तथा रोजगारीको शर्त, अवस्था र बेरोजगार सहायता संघीय कानुन बमोजिम हुने उल्लेख गरेर नयाँ संविधानले श्रम र श्रमिकको सवाललाई मौलिक हकका रुपमा नै व्यवस्था गरेको पाईन्छ। यसले प्रत्येक नागरिकलाई रोजगारीको छनोट गर्न पाउने हक समेत सुनिश्चित गरेको छ।

त्यस्तै नेपालको संविधानको धारा ३४ मा प्रत्येक श्रमिकलाई उचित श्रम अभ्यासको हक हुनेछ। प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुनेछ। प्रत्येक श्रमिकलाई कानून बमोजिम ट्रेड युनियन खोल्ने, त्यसमा सहभागी हुने तथा सामूहिक सौदाबाजी गर्न पाउने हक हुनेछ।

तर भाषण गर्दा मञ्चमा नेता देखिए पनि हरेक ऐतिहासिक आन्दोलनमा हेर्ने हो भने अग्रमोर्चामा रहेर नारा लगाउने र गोली खाने तिनै निमुखा मजदूर अर्थात श्रमजीवी हुन्छन्। आन्दोलनपछि प्राप्त हुने हकाधिकार र हरेक परिवर्तनमा रमाउने भने अरु नै नेता हुन्छन्। मजदुर अर्थात श्रमिकको अवस्था भने जहाँको तहिँ छ। 

आफुलाई मजदुरका नेता भन्न रुचाउनेहरु कसैले पनि मजदुरलाई मजदुर भन्दा माथि उठाउन चाहादैनन् भन्ने कुरा सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनदेखि सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गर्दासम्मका अध्ययनबाट पनि यस्तै देख्न सकिन्छ।

नेपालकै सन्दर्भमा भन्दा २००७ सालमा विराटनगरमा भएको मजदुर आन्दोलनसँगै मे दिवस मनाइन थालिए पनि मजदुरको अवस्था आजका मितीसम्म पनि उस्ताको उस्तै छ भन्दा फरक नपर्ला। २००७ साल देखि २०८१ सालसम्म आईपुग्दा एकदलिय पञ्चायती व्यवस्थाबाट बहुदलिय व्यवस्था प्रजातान्त्रिक ब्यबस्था अनि खशी पारिएको प्रजातन्त्र अर्थात लोकतान्त्रीक गणतान्त्रिक मुलुक हुदै संघिय गणतान्त्रिक नेपालसम्मको अभ्यास गरिरहदा पनि मजदुरका उत्थानका बारेमा न त मजदुरका नेता न त राज्य नै चिन्तित भएर लागेको देखिन्छ। मुलुकमा श्रमिक, मजदूर, किसान र न्यून आय भएका वर्गको हितमा काम के के भए औंलामा गन्न सकिने समेत अवस्था देखिन्न। श्रमजीवी वर्गको नेतृत्व गर्ने भनेर आन्दोलनमा गएको भन्नेहरु नै अहिले सरकारमा छन् तर भयो के त? 

न्यूनतम ज्यालाले डेरा गरेर बस्नेले परिवार पाल्न र सामान्य रोग लाग्दा उपचार गर्न समेत कठिन हुने अवस्थामा आफ्ना छोराछोरीलाई गुणस्तरीय शिक्षा त उसको सामार्थ्य भन्दा बाहिरको कुरा हुन जान्छ। अर्कोतिर मजदूरका नेताहरु भने आलिशान महलमा बसेर विलाशी गाडीमा सयर गर्दै मालिकसंग ह्वीस्कीको चुस्की लिएर सौदावाजी गरिरहेका हुन्छन्। आफूले प्रतिनिधित्व गर्ने राजनीतिक दलको स्वार्थका लागि मजदूरलाई सडकमा उतारिरहेका हुन्छन्। रक्सी र चुरोटकै भरमा चुनावमा भोट माग्न लगाउँछन्।

पुजीबादी मुलुकमा मजदूर र मालिकबीचको सुमधुर सम्बन्ध नै मुलुकको आर्थिक विकासको आधार भनिन्छ। त्यसैले यसलाई श्रमिक र मालिक नभनेर “ब्लु कलर जब” भनिएको होला। श्रम अनुसारको ज्याला पाउनु श्रमिकको अधिकार हो पनि भन्छौं हामी। तर, न्यूनतम आवश्यकता पूर्ति गर्ने गरी पारिश्रमिक निर्धारण भएपनि नेपालमा यसको कार्यान्वयन हुन सकेको छैन।

संसारका मजदूर एक हौं भन्दै माक्र्स-लेनिन–माओका तस्वीर अंकित पम्प्लेट छापेर टाँस्दैमा मजदूर एकता हुँदैन। एउटै कारखानाभित्र कैयौं राजनीतिक दलमा आबद्ध मजदूर संगठन हुन्छन्। उनीहरु राजनीतिक दलको नीति अनुसार विभाजित भएर काम गर्दछन्। उनीहरुले एक पक्षले उठाएको माग अर्को पक्षले वेवास्ता गर्ने गर्दछन्। मजदूरहरुमा चरम विभाजनले गर्दा मजदूरहरुले पाउनुपर्ने सुविधा पाउन सकेका छैनन्। मजदूरमाथि त्यहीँबाट राजनीति शुरु हुन्छ। वास्तवमा भन्ने हो भने श्रमिकको तलब अन्यको भन्दा बढी हुनुपर्ने हो तर उनीहरु नै न्यून ज्यालारकममा काम गर्न बाध्य छन्।मजदूरको सम्मानजनक मजदूरीका लागि राजनीतिक दलहरुबाट मात्र होईन सरकारका तर्फबाट पनि कुनै पहल भएको पाईदैन। नारा घन्काएर मात्र मजदुरको हित हुने होईन। 

अहिलेको प्रश्न: के मजदूर सडकमा टायर बाल्न, गोली खान मात्र हो त ? अनि यो मजदुरका लागि भनिए पनि मजदुर दिवस कसका लागि मनाईन्छ ? केका लागि मनाईन्छ र उपलब्धी के ? के यो दिवस आवश्यक छ त ? सोच्नु पर्ने अवस्था ढीला भएको छ#कृष्णार्पण!