बागमती पदेशलाई साक्षर प्रदेश घोषणा

बागमती पदेशलाई साक्षर प्रदेश घोषणा

Hollywood Khabar September 26,2021 Comments

बागमती प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजनामा सोमबार हेटौंडामा एक कार्यक्रमका बीच प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले साक्षर प्रदेश घोषणा गरेकी हुन् । प्रदेशको १३ जिल्लाको १५ देखि ६० वर्ष उमेर समूहका साक्षर नागरिकहरुको संख्या औषतमा ९७।३३ प्रतिशत रहेकाले साक्षर प्रदेश घोषणा गरिएको बागमती प्रदेश शिक्षा निर्देशनालय हेटौंडाका निर्देशक चन्द्रप्रसाद लुइटेलले जानकारी दिए ।

युनेस्कोको परिभाषा अनुसार बागमती प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको उनले बताए ।  १५ देखि ६० वर्ष उमेर समूहका नागरिकको संख्या न्यूनतम ९५ प्रतिशत पुगेपछि कुनैपनि देश, प्रदेश वा स्थानीय तहले साक्षर क्षेत्र घोषणा गर्न सक्ने युनेस्कोको प्रावधान रहेको उनले बताए ।  साक्षर प्रदेश घोषणा सन्देश र मार्ग निर्देशन भएकाले यसको निरन्तरता र वृद्धिदर प्रदेश सरकारको चुनौतीको विषय रहेको उनले बताए ।

प्रदेश सरकारले संघीय सरकार र स्थानीय तहहरुसंग समन्वय गरेर साक्षर उमेर समूहका व्यक्तिको निरन्तर सिकाइका कार्यक्रम र सिप विकासमा जोड दिनुपर्ने उनले बताए ।  बागमती प्रदेशका १५ वर्ष मुनिका र ६० वर्ष भन्दा माथिकासहित गरेर ४५ हजार ३४५ जना व्यक्तिहरु निरक्षर रहेकाले उनीहरुको लागि पनि तिनै तहका सरकारले क्षमता विकास र सिप सिकाइका योजनाहरु लागु गरी औपचारिक शिक्षामा जोड्नु पर्ने उनको भनाइ छ ।