लिखु गाउँपालिका वडा नम्बर ३ र ४ मा सार्बजनिक सुनुवाई सम्पन्न

लिखु गाउँपालिका वडा नम्बर ३ र ४ मा सार्बजनिक सुनुवाई सम्पन्न

Hollywood Khabar March 23,2022 Comments


लिखु गाउँपालिका वडा नम्बर ३ र ४ मा चालु आर्थिक वर्ष २०७८÷८९ को सुरुवातदेखि हाल सम्म भएका सम्पादित कार्यहरु तथा नागरिकहरुलाई प्रदान गरिएको सेवाको सम्वन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ । मखमली मिडिया प्रालिको सहजिकरणमा लिखु गाउँपालिकाले २ वटा वडामा छुट्टाछ्टै सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । सार्वजनिक सुनुवाई कार्यक्रमलाई संवोधन गर्नुहुदै गाउँपालिकाका अध्यक्ष धु्रव श्रेष्ठले गाउँपालिका भित्र सञ्चालित योजनाहरु पारदर्शि रहेको बताउनुभएको छ । 

गत वर्षहरुमा गाउँपालिकाले एकमुष्ट रुपमा सार्वजनिक सुनुवाई कार्यक्रम गर्दै आएकोमा यस वर्ष वडाहरुमा छुट्टाछुटै कार्यक्रम गरेर नागरिकहरुको गुनासोको संवोधन गर्दै वडामा सम्पादित कार्यहरु तथा नागरिकहरुलाई प्रदान गरिएको सेवाको सम्वन्धमा जानकारी गराइरहेको बताउनुभएको छ । विगतका दिनहरुमा आफ्नो टोलटोलको विकासको लागि नागरिकको प्रत्यक्ष सहभागी हुने गरेको भए पनि हाल नागरिक सरकारकै मुख ताक्ने र केही काम गरेन भनेर गुनासो गर्ने गरेको प्रति अध्यक्ष श्रेष्ठको असन्तुष्टि रहेको छ । जनताको नजिकको सरकारको रुपमा स्थानीय तहको स्थापना भए पछि विकासात्मक कार्यले फड्को मारेको उहाँको भनाई छ । 

लिखु गाउँपालिकाको कर्णालीको रुपमा रहेको वडा नम्बर ३ लाई वागमतीको रुपमा परिवर्तन गर्न सक्षम भएको अध्यक्ष श्रेष्ठले बताउनुभएको छ । यस्तै प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमले स्थानीय तहको गहना नै पारदर्शीता रहेको बताउनुभएको छ । योजना कार्यान्वयनको क्रममा पारदर्शीता नभए द्धन्द सिर्जना हुन सक्ने उहाँको भनाई छ । 

यस्तै कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष भोलाप्रसाद सेढाँई र वडा नम्बर ४ का कार्यबहाक अध्यक्ष पदमबहादुर राईले चालु आर्थिक वर्षमा आआफ्नो वडामा प्राप्त बजेट र योजनाको कार्यन्वयनको अवस्थाको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा सहभागी भएका स्थानीय नागरिकहरुले वडामा सम्पन्न विकासात्मक कार्यमा भएको त्रुटि, योजना र बजेटको कार्यान्वयनको अवस्था, वडामा सञ्चालन गर्नुपर्ने योजना लगायतको विषयमा गुनासो गरेका थिए । 

सहभागीहरुको गुनासोको संवोधन गर्दै वडा अध्यक्षहरु सेढाँई र राईले कुनै पनि योजनाहरु सम्पन्न गर्ने काम उपभोक्ता समितिको, वडाको या पालिकाको मात्रै नभनि  आफ्नै गाउँठाउँको आवस्यकता महसुस गरी  सहकार्य मार्फत समाधान गर्नुपर्छ भनि सक्रिय सहभागिता जनाउन नागरिकहरु समक्ष आग्रह समेत गरेका छन् ।
    
वडा नम्बर ४ का वडा सचिव तारानाथ फुलेलले चालु आर्थिक वर्षमा वडामा ५४ वटा योजनाहरु कार्यन्वयन गर्नुपर्ने बताउनुभएको छ । ती योजना मध्ये ३६ वटा योजना सम्पन्न भइसकेको र १४ वटा योजना सम्पन्नताको चरणमा रहेको वडा सचिव फुलेलले जानकारी दिनुभएको छ ।