तस्बिर साभार वेब

गगन थापाले मागे प्रधानमन्त्री केपी ओलीको राजीनामा

Hollywood Khabar February 24,2020 Comments

१३ फागुन,काठमाडौँ।नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्नुभएको छ।मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद थापाले प्रधानमन्त्री बन्ने संख्या संसदमा भएपनि शासन गर्ने वैधानिक योग्यता र क्षमता गुमेकाले राजीनामाको माग गर्नुभएको हो।

उहाँले भन्नुभयो, ‘संख्या तपाइँसँग होला तर शासन गर्ने वैधानिक योग्यता क्षमता तपाइँले गुमाउनु भएको छ।त्यसैले सम्माननिय प्रधानमन्त्रीजी नेपाल कम्युनिष्ट पार्टीको स्वास्थ्यको लागि र सिंगो नेपालको स्वास्थ्यको लागि तपाइँ स्वास्थ्य लाभ गर्न गइदिनुहोस्।’थापाले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटा र विजय मिश्रबीचको अडियो सार्वजनिक हुनुभन्दा डेढ महिना अघिनै प्रधानमन्त्रीले सुनेको दावी आइरहेको भन्दै यो विषयमा संसदमा आएर जवाफ दिन हिम्मत छ की छैन ? भन्दै प्रश्न गनुभयो ।

थापाले डाडाँकाडा र तालतलैया डुलेर बस्नुभन्दा प्रधानमन्त्रीले संसदमा आएर आँखामा आँखा जुधाएर जवाफ दिनुपर्ने बताउनुभयो।थापाले सेक्युरिटी प्रेसको ठेक्का मात्रै नभएर फोरजी विस्तार, अप्टिकल फाइबर विस्तार, सामुदायिक विद्यालयमा कम्प्युटर ल्याव स्थापना लगायतका ठेक्काका बारेमा पनि प्रश्न उठेको बताउनुभयो।प्रधानमन्त्रीको जन्मदिनका विषयमा बाहिर टिप्पणी भइरहेको भन्दै थापाले पूर्वराजाहरुको न्यास्रो मेटाउने गरी प्रधामन्त्रीले जन्मदिन मनाएको भन्दै बाहिर प्रश्नहरु उठिरहेको बताउनुभयो।