-ललितपुर निर्वाचन क्षेत्र नं १ (ख) का बागमती प्रदेश सांसद चेतनाथ सञ्जेल

ललितपुरका लागि थप बिकास योजना, बागमती प्रदेश सांसद चेतनाथ सञ्जेल

Hollywood Khabar October 10,2020 Comments

सन्तोष दाहाल, ललितपुर/१०/११/२०

ललितपुर निर्वाचन क्षेत्र नं १ (ख) का बागमती प्रदेश सांसद चेतनाथ सञ्जेल ३ वर्षअघिको निर्वाचनमा आफू सांसद निर्वाचित भएलगत्तै आफ्नो क्षेत्रको विकासका लागि अहोरात्र रुपमा सक्रिय छन्। ३ वर्ष पुग्नै लाग्दा संजेलले बागमती प्रदेश सरकारमार्फत काँठ र दक्षिण पहाडी क्षेत्रको विकासका लागि कृषि, सडक, स्वास्थ्य, शिक्षा, खानेपानी, पर्यटन लगायतका क्षेत्रमा अति महत्त्वाकांक्षी योजनाहरु ल्याएर क्रमश कार्यान्वयनको चरणमा छन्।

यसै क्रममा संजेलको पहलमा भर्खरै विभिन्न थप विकासका योजनाहरु सार्वजनिक भएका छन्। सांसद सञ्जेलका अनुसार चालु आर्थिक वर्षमै मल्लकालीन ऐतिहासिक ललितपुर राजकुलो एकीकृत प्रणाली (टिकाभैरब १, २, गोदावरी छम्पी र साना कुलाहरु समेत) सिंचाइ प्रणालीको निर्माण रु एक करोड विनियोजन भएको छ। यस योजनाले विगत लामो समयदेखि बन्द रहेका राजकुलो संचालन का साथै सिचाई सुविधामा महत्त्वपूर्ण सफलता हुनेछ। यसैगरी टिकाभैरव २ नं राजकुलो संरक्षणको लागि समेत १३ लाख ५० हजार प्राप्त भएको छ।

यसैगरी बागमती गाउँपालिका ४ प्युटारस्थित खोराङ खोला खयरघारी सिचाइ योजनाको लागि १० लाख रुपयाँ विनियोजन भएको छ भने गोदावरी नगरपालिका चापागाउँको खसीमारा सिचाई योजनाको लागि पनि १० लाख विनियोजन भएको छ। बागमती गाउँपालिका ७ गिम्दीको कटुवास्थित खैरेखोला सिचाई योजनाको लागि ५ लाख रकम विनियोजन भएको छ भने गिम्दीकै देउताखोला सिचाई योजनाको लागि पनि ५ लाख रकम छुट्याईएको छ। प्राकृतिक विपत्ति नियन्त्रण कार्यक्रम अन्तर्गत गोदावरी नगरपालिका ७ देवीचौरको सल्लाबोट पहिरो नियन्त्रणका लागि १३ लाख ५० हजार विनियोजन भएको सांसद सञ्जेलले बताएका छन्। गोदावरी नगरपालिका ११ चापागाउँको कुश्लेचौर पहिरो नियन्त्रणका लागि पनि ९ लाख रकम छुट्याईएको छ।

प्राविधिक शिक्षा प्रवर्धन योजना अन्तर्गत कोञ्ज्योसोम गाउँपालिका २ शंखुको मगरगाउँ माविमा विगत देखि नै संचालित प्राविधिक शिक्षालयको लागि थप ४० लाख रकम विनियोजन गरिएको छ। स्वास्थ्य सेवा अन्तर्गत विश्वव्यापी कोभिड १९ फैलिरहेका बेला टिकाभैरव स्थित आनन्दवन अस्पतालमा आइसोलेसन निर्माणको लागि १५ लाख रकम छुट्याईएको छ भने बज्रबाराही अस्पताल आईसोलेसन निर्माणका लागि २५ लाख रकम विनियोजन गरिएको छ। हाल आनन्दवन अस्पतालमा पनि कोरोनाको पिसीआर परीक्षण सुरु गरिएको छ। यसैगरी यसै आर्थिक वर्षबाट बज्रबाराही सामुदायिक अस्पताललाई प्रदेश स्तरको जिल्ला अस्पतालमा रुपान्तरण गर्ने निर्णय बागमती प्रदेश सरकारले गरेको छ।

यी सबै योजना सफल रुपमा कार्यान्वयन गर्दै विकसित ललितपुर बनाउनका लागि सबै जनता तथा राजनीतिक दलको सहयोग, सहकार्य आवश्यक रहेको सांसद संजेलाको भनाई छ। विकास निर्माण सबैको साझा पाटो भएकोले सबै मिलेर नयाँ योजनालाई कार्यान्वयन गर्नुपर्ने उनले बताए।