सुन्तलीको चावी 

Hollywood Khabar June 16,2017 Comments

बाहिर बारीको मकैको बोट सुक्ने गरि टन्टलापुर घाम लागिरहेको भएता पनि आज सुन्तलीको मुहार भने औशिको रात जस्तै अध्यारो देखिएको थियो।नागमणि हराएको सर्पजस्तै देखिएकी थिई सुन्तलि।नहाँसी बोल्न नजान्ने सुन्तलीको मुहारमा टाढै बाट हेर्दा मृत हासो प्रस्ट देखिन्थ्यो। उसका लाम्चा आँखा सुनिएका जस्ता देखिन्थे अझ भन्नु पर्दा लगातारको एक हप्ते झरीले ठटाएको पालुंगो जस्तो लुत्रुक्क देखिएकी थिई सुन्तली। 

मेरो घर सामुन्ने घर भएकी सुन्तलीलाइ मैले जैले देखि देखे चट्टानकै रुपमा देखेको थिये,हरेक परिस्थितिको सामना डटेर गर्थी उसलाई सहासी महिलाको रुपमा परिभाषित गरेको थियो समाजले।सानातिना काँढाले नकोतर्ने र सानातिना चोटले नदुख्ने सुन्तलीको आत्मविश्वास  गलेको प्रस्टै देखिन्थ्यो।आज उ रातभर आँखाको माध्यम बाट पग्लिछे भन्ने  उसको मुहारमा परै बाट प्रस्ट देखिन्थ्यो। 

आज सुन्तलीलाई बरफको टुक्राजस्तै पग्लेको देख्दा म अचम्मित भएँ,हातमा मोबाइल  बोकेर घरि भित्र घरि बाहिर गरेकी सुन्तलीलाइ देखेर मेरो मनको प्रश्नको बाँध फुट्यो अनि म सरासर गेट खोल सुन्तली भन्दै सुन्तलीको घरपुगें। बनावटी हाँसोका साथ् दाँत देखाउदै गेट खोलि तर उस्को पहिचानको रुपमा रहेको मुस्कुराहट बन्द थियो मानु कि उसको मुस्कान खोल्ने साँचो अरु कसैको हातमा थियो।उसलाई हँसाउने मनसायले मैले नानाथरी कुर गरें जुन कुरामा उ समय दिएर हाँस्थी तर आज सुन्तलीको हाँसोलाइ मेरो हसाउने चाविले काम गरेन। 

उ दुध चिया पिउथि भान्सामा गएर उसलाई र मलाई मन पर्ने चिया बनाइ दुधै दुधको, चिनी कम,चियापत्ती बढी भएको मैले स्वाद लिदै पिए तर सुन्तलिले भने भएभरको जरामुरा थिचेर बनाएको जडिबुटी औषधि निले जस्तै गरि निली घुटुक्क……  घुटुक्क…… मानौकि उसलाई मन पर्ने त्यो चिया आज उसका लागि ‘कप अफ टि’ थिएन केवल चिया मात्र थियो  थियो स्वाद पटक्कै थिएन।

आकाशमा पानि पर्न ठिक्क हुँदा  मडारिएको कालो बादल उसका अनुहारमा झल्किन्थ्यो।आँशु आँखामा थामी नसक्नु थियो टिलपिल टिलपिल परेलीको डिलबाट पोखिन मात्र बाँकी।मैले कस्ले के गर्यो कान्छुलाई भन्ने बित्तिकै आँशुले उसको परेलीको डिल फुटाएर उर्ल्यो खहरे झै उस्को आँसुको भेलमा म नतमस्तक भएँ ।जीवनमा आएका कैयौ ज्वालामुखी पार गरेकी सुन्तलीलाई कुन तेस्तो कुराले छोयो कुन्नि? मानौ ठुलै अपराध गरेर डराएझैँ  डराएकी थिई उ मेरो मनमा उब्जेका हजारौ प्रश्न तेर्स्याउदा सुन्तलीको जवाफ एस्तो आयो। 

१-हरेक दिन मोबाइल खोल्ने बित्तिकै केच्छ कान्छु भन्ने मेरो मान्छेको स्वरमा आएको मलिनताले मलाई शान्ति मिलेन। २-म सबैथोक सहन्छु तर मेरो मान्छेलाइ दुखि देख्न सक्दिन।३ -बरु मेरो ज्यान जाओस् तर मेरो मान्छेलाइ मेरो कारण शिर झुकाउन नपरोस्। ४ -उ मेरो जीवन हो म उसको छायाँ हुँ। ५ -आफुलाई भन्दा धेरै उसलाई माया गर्छु।तर आज मैले गरेको यौटा गल्तीले उ दुखी छ। म चाहन्न मेरो कारणले अरुको अगाडी उसको शिर झुकोस्। गल्ति मेरो हो सजायँ मैले पाउनुपर्छ उस्ले होइन। उसको दिमाग जस्तै दिल पनि महान छ म चाहन्छु उसले मलाई दिलै देखि माफी दियोस् र भनोस् के छ कान्छु खाना खाइस कि नाइँ?

सुन्तलिका एती कुरा सुनी सकेपछी मलाइ लाग्यो उ जसका लागि बनेकी छ त्यो उस्का लागि पूर्ण छ।सुन्तलीको मुस्कान र खुसीको चाबी बोकेको मान्छे कहाँ थियो मलाई थाह भएन,नजिक होस् या टाढा उस्को “उ”लाइ सुन्तलीले धेरै माया गर्छे भन्ने प्रस्टभयो।“संसारमा सबैभन्दा बलियो बनाउने शक्तिपनि मायामा हुँदो रहेछ र सबैभन्दा ठुलो कमजोरी पनि मायानै हुदोरहेछ” भन्ने सुन्तलिका कुरा सुनेपछि मा नतमस्तक भए चियाको लागि धन्यवाद भन्दै म निस्के दिनभर मनमा यौटै कुरा खेल्यो कठोर सुन्तली अनि उसको खुशीको चावी कहाँ होला कस्तो होला भनेर।