आसन्न निर्वाचनका लागि देशभर मतदान स्थलको सङ्ख्या १० हजार ८८८ कायम

आसन्न निर्वाचनका लागि देशभर मतदान स्थलको सङ्ख्या १० हजार ८८८ कायम

Hollywood Khabar September 05,2022 Comments

निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि १० हजार ८ सय ८८ मतदान स्थल कायम भएको जनाएको छ ।मतदान व्यवस्थापनलाई प्रभावकारी बनाउन तथा मतदातालाई मतदान प्रक्रियामा सहज पहुँचका लागि मतदाताको सङ्ख्या, सुविधा एवं सुरक्षाको अवस्था समेतलाई मध्यनजर गरी केही मतदान स्थल पुनरावलोकन गरिएको आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले जनाकारी दिनुभयो ।

यसअघि देशभरका जम्मा १० हजार ७५६ मतदान स्थल रहेका थिए । मतदान स्थल पुनरावलोकन गर्दा देशभरका ४०१ मतदान स्थललाई हटाई नयाँ मतदान स्थल निर्धारण गरिएको आयोगका सहायक प्रवक्ता अर्यालले बताउनुभयो ।

मतदान स्थल पुनरावलोकन भए पश्चात् स्थानीय तहको निर्वाचन, २०७९ को समयमा मतदान गर्नका लागि बास बस्नुपर्ने, निकै टाढा टाढासम्म हिँड्नुपर्ने लगायतको गुनासो समेत सम्बोधन भई मतदातालाई मतदान स्थलसम्मको पहुँच सहज भई निर्वाचनमा मतदाताको सहभागिता अझ बढ्ने अपेक्षा आयोगको रहेको छ ।