कति लेख्नु व्यावसायिक लेखन अनि एक दिनमा म कति लेख्न सक्छु ?

Hollywood Khabar April 06,2023 Comments

कृष्ण केसी सञ्जेल, फेब्रवरी १०, २०२३ (मेरो आफ्नै लागि बिश्व बिधालयमा पेश गरिएको लेखनको एक भागबाट)

मलाई लाग्छ लेखन भनेको मोहको प्रवाहको साथ तथ्यहरुलाइ मनको हाँडीमा आफ्नो मस्तिष्क भुट्नु जस्तै हो। मलाई थाहा छैन कति जनाले हरेक दिन लेख्छन् र कतिले दिनमा सयौं शब्दहरू लेख्छन्। यद्यपि मेरो लागि लेखन कार्य भनेको सधैं समस्याहरू खोज्ने, शब्दहरू खेल्ने, दर्जनौं पटक सम्पादन गर्ने, बीच-बीचमा सोच्ने र बारम्बार शब्दहरू प्रतिस्थापन गर्ने हो। छोटकरीमा, लेखन धेरै भावुक र मेहनती काम हो।

मेरो कलेज समयको अङ्ग्रेजी शिक्षक भन्नुहुन्थ्यो, कुनै पनि लेखकले एक पृष्ठ लेखनको लागि झन्डै ३० पृष्ठको साहित्यको अध्ययन र समीक्षा गर्नुपर्छ। शाब्दिक रूपमा २५० देखि ३०० शब्दलाइ एक पृष्ठ मानिन्छ। मलाई थाहा छैन कति लेखकहरूले मेरो ती अंग्रेजी शिक्षकको वर्णन पछ्याउँछन्। यद्यपि, यस संसारमा सयौं र हजारौं व्यावसायिक लेखकहरू छन्। तर, मैले गुगल गर्दा पाएको सबैभन्दा चर्चित नाम भने स्टीफन एडविन किङ्ग हो।

किङ्ग आफ्नो युगको अद्भुत अमेरिकी लेखकहरू मध्ये एक हुन्। किङ्गको बारेमा उनको वेबपेज र ब्रिटानिकामा पनि पढें। उनि १९४७ मा पोर्टल्याण्ड, मेनमा जन्मेका थिए। उनले आफ्नो शिक्षण पेशा छोडेर पुरै समय व्यावसायिक लेखनमा बिताउन थाले। अन्तत्वगत्वा उनका ५० वटा पुस्तकहरू प्रकाशित भए अनि विश्वका सबैभन्दा सफल लेखकहरू मध्ये एकमा गनिए।

जब मैले किङ्गको जीवनी पढें, त्यसपछि मलाई व्यावसायिक लेखनको बारेमा अलिकति दुविधा भएको अवस्था आयो। मेरो मनमा एउटा ठुलो प्रश्न उब्जियो। कति लेख्नु धेरै लेख्नु र कति लेख्नु व्यावसायिक लेखन हो? कति लेख्नु कम र कति लेख्नु ब्यबसायिक लेखन हो। त्यसैगरी एक ब्यबसायिक लेखकले एक दिनमा कति लेख्छन्? यस बाहेक, यदि म लेखक बन्न चाहन्छु भने मैले प्रति दिन कति लेख्नु पर्छ? सौभाग्यवास किङ्गले लेखेका छन्, उनी प्रति दिन २००० शब्दहरू लेख्छन्। तर प्रतिदिन १००० शब्द लेक्नु राम्रो लेखक हो भन्ने उनको सुझाव छ।

मेरो मातृभाषा नेपाली हो, अंग्रेजी मेरो दोस्रो भाषा हो। जब म नेपालीमा लेख्छु, मेरो लेखन गति प्रति दिन लगभग २००० देखि ३००० शब्द जस्तो हुन्छ। विवाद, तर्क, सामाजिक-सांस्कृतिक जीवनमा मेरो लेखनहरु धेरै छन्। मलाइ काल्पनिक लेखन भन्दा धेरै कहानी लेखनमा सहज लाग्छ। जे होस्, अंग्रेजीमा प्रति दिन १००० शब्द वा बढी ब्यबसायिक रुपमा लेख्न भन्ने किङ्गको सुझावले मलाइ झस्कायो। अंग्रेजीमा मैले दिनक १००० शब्द लेख्नु आफैंमा एउटा बम्सेल न्यूजको विषय हो। दुर्भाग्यनै भन्नुपर्ला मैले मेरो लेखन अभिव्यक्तिको परीक्षण कहिल्यै पनि गरेको छैन।

सामाजिक सञ्जालमा अनावश्यक या आवश्यक रूपमा लेख्नु वा सर्कलमा इमेल लेख्नु लेखक हुन पर्याप्त छैन। हरेक मानिसको आ-आफ्नै सोच्ने तरिका र फरक वा विशेष जीवन शैली हुन्छ। आजकल, हामीसँग दैनिक काम गर्नको लागि सूची तयार हुन्छ। केहि कफिसपको गफमा बड्डाहरु हनी डु लिस्टको हांसी मजाक पनि गर्छन।हनी डु लिस्ट भनेको श्रीमतीले श्रीमानको लागि के के कम गर्ने, के के किन्ने, के के बिग्रेको छ बनाउनु पर्ने, ग्रोसरी देखि उपहार सम्मको लागि बनाएको लिस्ट हो। लेखकहरू पनि यहि समुदायका हुन्। उनीहरुसँग पनि समान प्रकारका गर्नका लागि सूचीहरू हुन सक्छन्। सूचीहरूले उनीहरूको लेखनमा बाधा पुर्‍याउन पनि सक्छ।

मेरो कुरा गर्ने हो भने बिहान सबेरै कामको लागि बाहिर निस्कन्छु र साँझ थकित अनुहार लिएर घर फर्कन्छु। साथमा सामाजिक गतिविधि, किराना सामान, कफी, खाजा र टेलिभिजन हेर्ने मेरो दिनचर्या हो। मलाई लाग्छ कि यी धेरै दैनिक गतिविधिहरूले मेरो लेखनमा पनि बाधा पुर्‍याउन सक्छ।

मेरो लेखनको अर्को बाधक या कारक कुरा भनेको सामाजिक सञ्जालमा समय बिताउनु हो। मेरो फेसबुक र ट्वीटर एकाउन्ट छ। म अनायास केहि न केहि पोस्ट गर्छु। नियमित रूपमा फेसबुक अपडेट गर्नु अचम्मको बानी भएको छ। तर म फेसबुक बारम्बार अपडेट गर्दा छक्क पर्छु, मैले बुझिन फेसबुक अपडेट मेरो लागि सहज छ तर ट्विटर भने निरन्तर उँदो गतिमा गएको छ। स्न्यापच्याट र इन्स्टाग्राम एकदमै बेजोड छन्। जे होस् मनोरन्जन संसारमा टिकटक अर्को विकल्प छ। यदि तपाइँ मेरो टिकटकको कुरा गर्नुहुन्छ भने जवाफ स्वादिलो छैन। यो ढिलो मात्र छैन हल नमिलेको गोरु जस्तो छ। तर पनि सामाजिक सञ्जालमा पोस्ट गर्नु, समाचार, सामाजिक-सांस्कृतिक गतिविधि र अपडेटहरू लेख्नु मेरो लागि अभूतपूर्व रमाइलो समय हो।

मैले मेरो पहिलो पुस्तक लेखन २०१२ मा सुरु गरेको थिएँ तर अझै पूरा भएको छैन। यो बर्षौं देखि पेन्डिङ्गमा छ। जब लामो समय कुनै बिषय पेण्डिङ्गमा हुन्छ अनि हामीमा दुविधा हुन्छ, निरनर गर्ने या नगर्ने भनेर। पुस्तक सामग्री, अध्याय र शब्दहरू कसरी व्यवस्थित गर्ने भन्ने कुरामा मलाई राम्रो ज्ञान छैन। त्यसमाथि मेरो पुस्तकको कथालाई क्रमबद्ध र प्लट गर्ने काममा मेरो क्षमताको कमजोरी नै छ। यो एक प्रकारको भ्रामक अवस्था पनि छ। कथा सुरुबाट सुरु गर्ने या अन्त्यबाट प्रस्त्तुति गर्ने, कहानीको पहिलो दिनको भाग या कहानीको अन्त्य भागमा सुरुवात गर्ने। यस बाहेक वास्ताविक या काल्पनिक प्रवाहमा लेख्ने भन्ने अर्को द्विविधाले सोच्नु बाध्य पार्छ।

फर्केर हेर्दा मेरो लेखन प्रायजसो पौराणिक कथा जस्ता छन्। दैनिक क्रियाकलाप, बानी र सामाजिक-सांस्कृतिक जीवनले मेरो लेखनलाई विचलित पनि बनाउँछ। यदि मैले लेख्न जारी राख्ने प्रयास गरे पनि यसले मेरो प्रवाहलाई रोक्छ। अनि मेरो लेख्दै गरेको औंला किबोर्डको अर्को बिटमा चिप्लिन्छ। बिस्तारै मैले महसुस गरें, कथा लेखन धेरै रमाइलो छ। मेरो वास्तविक समय र जीवनको अर्को पाटो जस्तो मिल्दोजुल्दो पनि छ। कहिलेकाहीँ म कल्पना गर्छु, यदि मैले व्यावसायिक रूपमा दैनिक हजारौं शब्दहरू अंग्रेजीमा लेख्न सकें भने त्यो अदभुत हुनेछ। तर प्रतिदिन सयौं दोश्रो भाषाको अंग्रेजी पाठ्य शब्दहरू फेला पार्न सजिलो पक्कै छैन। 

हामीले लेख्दा हाम्रो धेरै ध्यान पाठकतिर, समाजका मुद्दाहरू बिषय बनाएर बजार हेरेर लेख्दा बढी सफल भइन्छ भन्ने लाग्छ। अर्को पक्ष भनेको लेखनमा पाठकहरूको धारणाकेन्द्रित रुचि सधैं महत्त्वपूर्ण हुन्छ। आजकल, तपाईंसँग सबै कुरा डिजिटल छन्। स्मार्ट दुनियाँले तपाईंलाई जताततै स्मार्ट बनाउँछ। यस प्रकारको स्मार्ट संसारले मुद्रित पुस्तक पढ्ने पाठकहरूलाई ठुलो असर गर्छ। उसै पनि उनीहरको संख्या दैनिक रुपमा घट्दै छ। अझ भन्नुपर्दा उनीहरु बेखुशी छन्। उनीहरु परंपरागत तरिकाले मुन्द्रित पुस्तकहरू पढ्न रमाइलो मान्छन। तर नयाँ पाठकहरू इबुक, भिबुक अझ त्यो भन्दा पनि धेरै कन्टेन्ट रिडर एपहरू चाहन्छन्। कृष्णार्पण !