कांग्रेसका जनसम्पर्क समिति र कम्युनिस्टका प्रवासी मंचहरु धरापमा

Hollywood Khabar May 06,2023 Comments

कृष्ण के सी, अमेरिका, मे ५, २०२३

नेपाली कांग्रेसको बिदेशस्थित रहेका जनसम्पर्क समिति र कम्युनिस्ट पार्टीहरुका प्रवासी मंचहरु ह्रासमा जाँदै गर्दा धरापमा नै पुगेका छन्।

नेपालका प्रमुख राजनैतिक पार्टीहरुका यस्ता भगिनी र एकाइहरुमा एकातिर बर्षौं सम्म अधिवेशन नगर्ने अर्कोतिर नेतृत्वको लागि चरम गुटबन्दीले ठाउँ लिएको छ। कुरा यतिमात्र होइन यस्ता समिति र मंचहरुबाट पार्टीका महाधिवेशनमा प्रतिनिधि हुन पाउने तर उम्मेदवार हुन नपाउने पार्टीहरुको व्यवस्था छ। नोट र भोट चल्ने उम्मेद्वारी नचल्ने ? भेदभाव किन ? 

अझै गहिराइमा जाने हो भने पार्टीहरुले चुनाव खर्च र विभिन्न बहानामा चन्दा उठाउने आदेश पत्र दिने तर ति संस्थाहरु जीवित राख्न अधिवेशन र चुस्त नेतृत्व चयन गर्न भने रोकिदिने गरेका छन्। कतिपय देशमा त करिव एक दशक देखि एउटै नेतृत्व छ। धेरै देशमा पार्टीका गुटै पिच्छे ३ भन्दा धेरै समिति-मंचहरु अस्थित्वमा छन्।

यस्ता गुटहरु मध्ये सबै जसोले प्रत्यक्ष या परोक्ष रुपमा एनआरएनहरुको निर्वाचन हुने बेला आफ्नो गुटको ठेक्का-पट्टाको लागि खर्च-पानी लिएर इन्डोर्स पनि गरिदिन्छन। तर उनीहरुको आफ्नै समिति र मंचहरुको सदस्य र समर्थकहरु भने घट्दै गएका छन्। उनीहरुका आफ्नै परिवारका सदस्यहरुले पनि टेर्न छाडिसके अरु कसले र किन टेर्ने?

हजुरले भनेको यतिका बर्ष मानियो, जसलाई भन्यो उसैलाई भोट मागियो, गरियो अब यो पटक मैले भनेको अनुसार गरिदिनु भनेर मलाइ बालेन साह, रवि लामिछाने, डा तोसीमा कार्कीलाइ भोट माग्न लगाए। मैले पनि कुरा ठिकै हो भनेर फरक राजनैतिक कारण भएपनि उनीहरुलाइ भोट मागी दिए, एकजना पूर्व नेताको भनाइ।

अहिले सम्म यस्ता भगिनी संस्थाका काम भनेको आफूतिरका नेताहरुलाइ उपहार लिएर भेट्न जानु, उनीहरु आउँदा अन्तरक्रियाको नाममा केहि संख्यामा मानिसहरु जम्मा गरेर टाउन हल गसिप आयोजना गरिदिनु।  शहरका ठाउँ-ठाउँ घुमाई दिनु हो। यति मात्र होइन चन्दा उठाएर उनिहरुको लागि एक शहर देखि अर्को शहर अनि एक देश देखि अर्को देश सम्म जानको लागि फ्लाइट टिकेट किनिदिनु पनि हो। 

कतिलाई त नाइट क्लब र बार पनि लगिदिनु पर्ने रे। गएर सभ्य भएर आए त हुने हो त्यहाँ पनि पुरानै हरियो पर्दाको चौलानी पानीको पारा निकाल्छन। अमेरिकाको ओक्लेहमा सिटीको कुनै नाइट क्लबमा नेपालका एकजना पूर्व मन्त्रीको हर्कतको भिडियो लिएर कसैले ब्लाकमेलिङ्ग नै गरेको भन्ने पनि सुनिएकै हो। 

फेरी कुरा गरौँ मुख्य बुंदामा, पहिलो कुरा त एउटा देशको राजनैतिक दलले अर्को देशमा सोहि राजनैतिक दलको रुपमा स्थापित हुन सक्दैन र मिल्दैन। 

दोश्रो कुरा नेपालका राजनैतिक पार्टीहरुले पार्टीको महाधिवेशन प्रतिनिधि नै पठाउन पाउने गरी अर्काको देशमा आफ्नो दलको अङ्ग या राजनैतिकको संयन्त बनाउन मिल्दैन। केवल समर्थकहरुको संस्था भने बनाउन मिल्छ।

तेश्रो तर महत्वपूर्ण कुरा, तिनै निकायबाट महाधिवेशन प्रतिनिधि भएका धेरै जना त अर्को देशका नागरिक भैसकेका व्यक्तिहरु पनि छन्। यदि सो बिषयमा नेपालको निर्वाचन आयोगमा निवेदन हुने हो भने बिदेशीलाइ दलको सदस्यता दिएको, महाधिवेशन प्रतिनिधि बनाएको लगायतका कारण दल नै खारेज हुनुपर्ने हो। सोहि प्रकृतिमा रवि लामिछानेलाइ दोश्रो पटक निर्वाचनमा जान बाध्य बनाइयो भने बिदेशी नागरिकलाइ नेपालका कांग्रेस, एमाले, माओवादी लगायत दलका महाधिवेशनमा प्रतिनिधि भएर मत दिएर जितेका नेताको पद चैट हुनेकी नहुने ? के यो कानुनी मिचाई भएन ?

यी पार्टीहरुले बिदेशमा बस्ने नेपाली र नेपाली मुलका बिदेशीहरुलको नोट र भोट लिने तर नेपाली नागरिकताको बिषयमा, बिदेशमा बस्ने नेपालीहरुको मताधिकारबारे सर्वोच्चको निर्देशन समेतमा किन चुप बस्ने ? नोट र भोट चल्ने बाँकी किन नचल्ने ?

यहि कारण नेपालका ठुला दलहरुप्रति नेपालमा मात्र होइन बिदेशीमा पनि बितृष्णा बढेर गएको छ। जसरी नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी बढेर गयो त्यसैगरी विदेशमा पनि ह्वात्तै उनीहरुका समर्थक र शुभचिन्तकहरु बढेर गएका छन्। तिनै पार्टीका समिति र मंचका सदस्य, समर्थक, पदाधिकारीहरु समेत नै उता गएका छन्। त्यसैले अब नेपाली कांग्रेसका जनसम्पर्क समिति  र कम्युनिस्टका प्रवासी मंचहरु धरापमा परेका छन्।

सबैलाइ थाहा छ नेपालको एक तिहाइ जनसंख्या बिदेशमा छ। नेपालको चुनावमा बिदेशमा रहेका नेपालीहरु र नेपाली मुलका बिदेशीहरुको आत्मिय प्रभाव उच्च कोटीको हुँदै गएको छ। अब २०८४ को आम निर्वाचन सम्म पुग्दा उनीहरुका वंसजका नागरिकता, बिदेशमा बस्ने नेपालीका मताधिकार, नेपालमा लगानी र संपति सुरक्षा, अधिकार जस्ता बिषयमा संबिधान र कानुनले ब्यबस्था गरेको कुरालाई कार्यान्वयन गरेनन भने हालत पत्ता साफ हुनेछ।