भूटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण निवासबाट पक्राउ

Hollywood Khabar May 10,2023 Comments

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री समेत रहेका बालकृष्ण खाँण बुधबार बिहान उनकै निवासबाट पक्राउ परेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।

नक्कली भूटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि खाँणलाइ बुधबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख दानबहादुर कार्कीले जानकारी दिएका छन्।

कार्कीका अनुसार खाँणलाई प्रहरीले आज बिहान निवासबाट नै गिरफ्तार गरेको हो। यस अगाडि नै पक्राउ गर्ने चेतावनी पश्चात खाँण अनुसन्धानमा सहयोग गर्ने भन्दै काठमाडौं प्रहरी परिसरमा पुगेका थिए। परिसरले खाँणलाई आवश्यक परेको बेला बयानका लागि उपस्थित हुने कागज गराएर छोडेको थियो।

भुटानी नक्कली शरणनार्थी प्रकरणमा खाँणकी पत्नी मञ्जुले पनि रकम बुझेको अडियो सार्वजनिक भएको छ। थप अनुसन्धानका लागि प्रहरीले आज पूर्वगृहमन्त्री खाँणलाई पक्राउ गरेको जनाएको छ।

प्रहरीले यस प्रकरणमा तत्कालीन गृहसचिव टेकनारायण पाण्डे लगायत अभियुक्तलाई पक्राउ गरिसकेका छन्।  पक्राउ पर्नेमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरुङ र एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी छन्। टोपबहादुर लगायत केही अभियुक्तहरु फरार रहेका छन्।