अवैध लागू औषध सहित छुट्टाछुट्टै स्थानबाट १४ जना पक्राउ

Hollywood Khabar May 21,2023 Comments

नेपाल प्रहरी, काठमाडौं/काठमाडौं महानगरपालिका-१६ पक्नाजोलस्थित सबल क्याफे एण्ड खाजा घरबाट अवैध लागूऔषध आइस ड्रग्स जस्तो पदार्थ ३ ग्राम ५ मिलिग्राम, चरेश जस्तो पदार्थ २ सय ६४ ग्राम, लाइजरजिक एसिड डाइथेलामाइड १३ पिस र पोल्याण्ड जस्तो पदार्थ ३८ ग्राम र नगद ४९ हजार रूपैयाँसहित जापानिज नागरिक युचिरो अबेमास्तु र ३ जना नेपाली समेत गरी ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त खाजा घरमा लागूऔषध बिक्री भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उक्त लागूऔषधसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१ चौकिटोलस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ९२ किलोसहित भारत घर भएका १८ वर्षीय किशोर समेत ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले हेटौंडातर्फ आउँदै गरेको बीआर ०१ बीएन १५१८ नम्बरको कारलाई जाँच गर्ने क्रममा उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

बाँके, कोहलपुर नगरपालिका-३ मैटहवाबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ करिब १ सय ७० मिलिग्रामसहित सोही ठाउँ बस्ने २६ वर्षीय अक्ष कुमार थारुलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट मदनचोकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्रामसहित बुद्धशान्ति गाउँपालिका-१ बस्ने २२ वर्षीय समिर दर्जी समेत २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर १ सय ७० मिलिग्रामसहित भारत पलिया बस्ने २४ वर्षीय मनोज सिंहलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त ब्राउनसुगरसहित फेला पारी पक्राउ गरेको हो ।  

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ गैरीगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ५० मिलिग्राम र नगद १० हजारसहित सोही ठाउँ बस्ने ५२ वर्षीया तस्लिमा बिबिसमेत ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेत लागूऔषध नियन्त्रण व्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

मोरङ, बिराटनगर महानगरपालिका-१८ मुसरी टोल नजिकबाट अवैध लागूऔषध गाँजा करिब ३० किलोग्राम शनिबार राति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरीलाई देख्नासाथ भारततर्फ जाँदै गरेका अपरिचित व्यक्तिहरूले बोरा फाली फरार भएपश्चात जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।