नेपाल अमेरिका पत्रकार संघ-नेजाको आठौं अधिवेशन तथा १६औं साधारण सभा ह्युस्टनमा सम्पन्न

Hollywood Khabar May 30,2023 Comments

मे २२, २०२३, ह्युस्टन ।

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को आठौं अधिवेशन तथा १६औं साधारण सभा टेक्ससको ह्युस्टनमा सम्पन्न भएको छ । मे २०-२१, २०२३ मा आयोजित अधिवेशनको उद्घाटन नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले गर्नुभएको थियो । मे २०, २०२३ मा भएको उद्घाटन सत्रमा नेपाली भाषालाई अन्तर्राष्ट्रिय भाषाको रुपमा वासिङटन राज्यको पाठ्यक्रममा सूचीकृत गर्न महत्वपूर्ण भूमिका खेल्नुभएका वासिङटन राज्य, एसिया पेसिफिक अफेयर्सका पूर्वकमिसनर मोहन गुरुङलाई सम्मान गरिएको थियो ।

संघका अध्यक्ष विकासराज न्यौपानेको अध्यक्षता, महासचिव सुरज भण्डारी र सचिव कल्पना घिमिरेको सञ्चालनमा भएको उद्घाटन सत्रमा संघका संस्थापक अध्यक्ष गिरीश पोख्रेल, पूर्वअध्यक्षहरू गौतम दाहाल र भोला आचार्य, नेजाका सल्लाहकार सञ्जय घिमिरे, मानार्थ सदस्य तारा बराल, नेपाल पत्रकार महासंघका सल्लाहकार निर्मला शर्मा, एनआरएनए अमेरिकाका उपाध्यक्ष सुमन थापा, जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्ट, नेप्लिज एसोसिएसन अफ ह्युस्टनका अध्यक्ष रवीन्द्र श्रेष्ठ, ग्रेटर ह्युस्टन नेप्लिज चेम्बर अफ कमर्सका अध्यक्ष ज्ञानेश्वर श्रेष्ठ, टेक्सस हाउस अफ डेलिगेट्स डा. सुलेमान ललानीका चिफ अफ स्टाफ जेनीफर स्ट्रोबेल, नेजाकी उपाध्यक्ष मच्छेदेवी गुरुङ, कन्भेनर सुजन पण्डितलगायतले धारणा राख्नुभएको थियो ।

सो अवसरमा अधिवेशन सफल पार्न सहयोग गर्नुहुने संस्था एवम् व्यक्तिहरूलाई प्रशंसास्वरूप मायाको चिनो प्रदान गरिएको थियो । सो अवसरमा संघको स्मारिका ‘प्रयास’ को ११औं संस्करणसमेत विमोचन गरिएको थियो । संघका कार्समिति सदस्य बाबुराम दाहालको संयोजकत्वमा कार्यसमिति सदस्य प्रतिमा बाँस्कोटा, आजीवन सदस्य लेखनाथ भण्डारी, सदस्यहरू रामचन्द्र भट्ट, लेखनाथ गौतम, राजु आचार्य र सुपेन्द्र बस्नेत रहनुभएको प्रकाशन उपसमितिले ‘प्रयास’ सम्पादन गरेको थियो ।

यसैगरी, मे २१ मा सम्पन्न संघको आठौं अधिवेशनले सुरज भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्माण गरेको छ । अध्यक्ष पदमा मतदान भए पनि अन्य पदमा भने सर्वसम्मत् पदाधिकारी तथा सदस्य चयन हुनुभएको हो । जसअनुसार, उपाध्यक्षमा सुजन पण्डित, महासचिवमा बाबुराम दाहाल, सचिवमा प्रतिमा बाँस्कोटा, कोषाध्यक्षमा जानु पङ्गेनी (जानकी पङ्गेनी शर्मा), मध्य क्षेत्रीय संयोजकमा शंकर थापा, पश्चिम क्षेत्रीय संयोजकमा रोशन अधिकारी, उत्तर-पूर्व क्षेत्रीय संयोजकमा सुपेन्द्र बस्नेत रहनुभएको छ । यसैगरी, कार्यसमिति सदस्यहरूमा हेमराज बराल, ईश्वरी न्यौपाने, झरना अधिकार र केशव रेग्मी सर्वसम्मत चयन हुनुभएको हो । अध्यक्ष पदमा सुरज भण्डारी र मधुकर अधिकारीबीच प्रतिस्पर्धा भएको थियो ।

अधिवेशन प्रक्रिया निर्वाचन समितिका संयोजक गिरीश पोख्रेलको संयोजकत्वमा भएको थियो । निर्वाचन समिति पाँच सदस्यीय रहे पनि अधिवेशनमा संयोजकसहित सदस्य बिटु केसी र मोहनसिंह लामाको उपस्थिति रहेको थियो ।

अधिवेशनपश्चात् बनेको कार्यसमितिलाई एक कार्यक्रमबीच संस्थापक अध्यक्षसमेत रहनुभएका निर्वाचन समिति संयोजक गिरीश पोख्रेलले शपथ ग्रहण गराउनुभएको थियो । शपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, संघका निवर्तमान अध्यक्ष विकासराज न्यौपाने, पूर्वअध्यक्ष भोला आचार्य, अध्यक्ष पदमा प्रतिष्पर्धा गर्नुभएका मधुकर अधिकारीलगायतले धारणा राख्नुभएको थियो ।

सो अवसरमा नवनिर्वाचित अध्यक्ष सुरज भण्डारीले आगामी योजनासमेत समेटेर धारणा राख्नुहुँदै अधिवेशन सफल पार्न भूमिका खेल्नुहुने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । शपथ ग्रहणपश्चात् निवर्तमान कोषाध्यक्ष प्रभात भट्टराईले नवनिर्वाचित कोषाध्यक्ष जानु पङ्गेनीलाई, निवर्तमान महासचिव सुरज भण्डारीले नवनिर्वाचित महासचिव बाबुराम दाहाललाई र निवर्तमान अध्यक्ष विकासराज न्यौपानेले नवनिर्वाचित अध्यक्ष भण्डारीलाई पद हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रमको सहजीकरण अधिवेशनका कन्भेनर तथा नवनिर्वाचित उपाध्यक्ष सुजन पण्डितले गर्नुभएको थियो ।

भवदीय,

बाबुराम दाहाल

महासचिव

नेपाल अमेरिका पत्रकार संघ (नेजा)