वान एक्स बेट सट्टाबाजी गर्न गराउनका लागि उत्प्रेरित गर्ने आठ जना पक्राउ

Hollywood Khabar June 15,2023 Comments

नेपाल प्रहरी, काठमाडौं/वान एक्स बेट सट्टाबाजी गर्न गराउनको लागि उत्प्रेरित गर्न संलग्न रहेको अभियोगमा आठ जनालाई बुधबार काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गोरखा बारपाक सुलिकोट गाउँपालिका-६ घर भई काठमाडौं बनस्थली बस्ने ३५ वर्षीय मरिचमान श्रेष्ठ, कास्की पोखरा महानगरपालिका-३३ घर भई हाल काठमाडौं नयाँबजार बस्ने ३६ वर्षीय राजु पौडेल, धनकुटा चौबिसे गाउँपालिका-५ घर भई भक्तपुर सिरूटार बस्ने २८ वर्षीय पवन खतिवडा, उदयपुर घर भई ललितपुर टिकाथली बस्ने २८ वर्षीय अलिस राई, रोल्पा रोल्पा नगरपालिका-६ घर भई काठमाडौं कीर्तिपुर बस्ने २४ वर्षीय जलन घर्ति मगर, मुगु छायानाथ रारा नगरपालिका-५ घर भई ललितपुर टिकाथली बस्ने १९ वर्षीय गणेश देवकोटा, मोरङ विराटनगर महानगरपालिका-५ घर भई भक्तपुर ठिमी बस्ने २५ वर्षीय सरोज घिमिरे र प्युठान मल्लरानी गाउँपालिका-४ घर भई काठमाडौं कलंकी बस्ने २८ वर्षीय बेगम नेपाली रहेका छन् ।

बेटिङ एप्लिकेसन वान एक्स बेटमार्फत विभिन्न खेलहरू खेलाउनको लागि आफ्नो युट्युब च्यानलमार्फत वान एक्स बेटलाई प्रचार प्रसारमा सहयोग पुग्ने गरी प्रोमो कोड समेत दिई विज्ञापन गरी सर्वसाधारणलाई सट्टाबाजी गर्न गराउनको लागि उत्प्रेरित गर्न संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले  पक्राउ गरेको हो ।

उनीहरू उपर सट्टाबाजी गर्न वा गराउन नहुने कसूरमा थप अनुसन्धानको लागि बिहीबार जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।