डिल्लीराम तिमल्सिना

गैरआवासीय नेपाली संघको पुनर्व्याख्या र प्रतिमान परिबर्तनको खाँचो छ:विश्लेषण

Hollywood Khabar July 07,2023 Comments

डिल्लीराम तिमल्सिना, जुलाई ७, २०२३, क्यानाडा

हामी प्रबासी नेपालीको साझा संस्था वा प्रबासी नेपालीहरुको साझा घरको प्रतिनिधित्व छान्ने चटारोमा छौँ। सबैको साझा घरको सदस्यता लिनको लागि स्वम परिबारका सदस्यहरु तदारुकता देखाउनुको साटो उमेद्वार बनेका महानुभाबहरु सदस्य बन्नुस बरु लाग्ने रकम म तिर्छु भन्दै ढोका-ढोका र चोक चोकमा धाउनुले यसको गरिमा, औचित्य र सस्थागत परिपाटी के कस्तो छ भनेर सजिलै अनुमान गर्न सकिन्छ।

संरचनात्मक प्रकार्यबादी सिद्धान्तको नजरले विश्लेषण गर्ने हो भने पनि हामी नेपालीका जातीय, क्षेत्रिय, साहित्यिक, धार्मिक, लैंगिक, साँस्कृतिक, राजनैतिक वा अन्य इकाई बनाएर आ-आफ्नो बिशिस्ट पहिचान र गौरबको लागि अगाडी देखिए पनि आखिर सबलाई साझा पहिचान दिने र समेट्ने वा समेट्नु पर्ने साझे अन्तराष्ट्रिय (सामुहिक, सामान्य वा साधारण) संस्था भनेकै गैरआवासीय नेपाली नै हो र हुनुपर्दछ। तर विडन्वना प्रबासी नेपालीमा यो सस्थाप्रति आकर्षण भन्दा विकर्षण हुनुमा केहि तत्वहरु छन्। जसको बारेमा व्यापक छलफल, अनुसन्धान र खोज गर्नुभन्दा चल्दै गरोस भनेर निस्क्रिय बन्दिनु पनि एउटा मनोबैज्ञानिक दशा बनेको छ। 

सस्था बन्नको लागि यसले लिने दार्शनिक र बैचारिक धरातल केलाउनु पर्ने हुन्छ। संस्थाले लिने अन्तर्निहित संरचनाको  विचार र दर्शन अनुसारको सतह संरचना बन्ने हो। अब अहिलेको गैरआवासीय नेपाली वा बोलीचालीको भाषामा नारानेको बैचारिक धरातल र उत्पतिको इतिहास हेरौं।

बि स २०४६ पछाडिको राजनैतिक परिबर्तनसंगै बिस्वब्यापिकरणको प्रभाब, दबाब र अभाबमा परेर हामी नेपालीहरु सपनाको संसार खोज्दै विभिन्न मुलुकमा आफ्नो सुरक्षित भबिस्य खोज्दै संघर्ष गरेका छौं। एकातर्फ सम्बन्धित मुलुकमा घुसेको उपभोक्ताबादी परसंस्कृतिको राप र तापमा आफ्नो संस्कार र विचार घुलन भएको महशुस हुँदैछ भने अर्को तर्फ आफ्नो मुलुककोबाट लिएर आएको राजनैतिक चेतना, साँस्कृतिक बिशेषता उपभोग गर्न संघर्षरत छौँ।

गैरआवासीय नेपाली बन्नु र बनाउन नेपालमा रहेको राजनैतिक दलको हात भएकोले हालसम्म पनि उतैको राजनैतिक दर्शन र विचार लिनु स्वाभाविक जस्तै छ। नेपालमा  रहेका पार्टी पद्धतिको बैचारिक धरातल खोतल्ने हो भने शीत युद्ध कालिन  बैचारिक बिभाजनसंग जोडिएको छ। बास्तबमा भन्नु पर्दा यी बिचारहरु आफैमा दुइ फ़नक्ल्याटे र एक अर्कालाई निषेध गरि आफ्नो अस्तित्व कायम गर्ने विभाजनकारी छन्।

यी बिचारहरुले  आपसमा समन्वय, सहकार्य वा स्वतन्त्र रुपले आफ्नो अस्तित्वको खोज गर्न भन्दा व्यक्तिलाई निराश, लघुताभासको चंगुलमा लगेर केवल बजारु बस्तु र विभाजनकारी बिचारको उपभोक्ता बनाउने प्रकियामा लग्छ/लादैछ।

पश्चिमा केन्द्रित कम्युनिस्ट, काँग्रेस वा अन्य विभाजनकारी शक्तिले हामीलाई हाम्रो सनातन परम्परा र साँस्कृतिक जरासम्म जोड्ने छैनन भन्ने कुरा करिब ३४ बर्षको राजनैतिक प्रणाली र यस संग सम्बन्धित भगिनी संस्थाहरुको क्रियाकलाप, यसले अंगालेको ज्ञान, अबधाराना र ब्यबहारले स्पस्ट पारेको छ।

नाराने संस्थाका क्रियाकलाप हेर्दा त झन् नेपालका राजनैतिक पार्टीको भगिनी संस्था भन्दा माथि उठ्न नसकेको कुरा बैदेशिक रोजगारीमा आउनुहुने हरेक नेपालीलाई घाम झैँ छर्लंग छ। यस्तै खालको प्रबासी चेतना सन् १७७६ अगाडिको अमेरिकन प्रबासीहरुमा थियो। त्यो बेला बेलायती प्रबासीहरु बेलायतमा रहेको व्हिग र टोरी पार्टीको पक्ष वा बिपक्ष्यमा छलफल र बहस गर्थे।

हाम्रा नारानेहरु पनि आफ्नो मौलिक समग्रतापूर्ण साँस्कृतिक पहिचान छोडेर केवल नेपालमा रहेको  मिति गुज्रेका, बिचारको  फोटोकपी गर्ने र पश्चिमको इच्छाको लागि मर्ने राजनैतिक पार्टीको भजन मण्डली बनेर हिड्ने  भएकोले सस्थाको गरिमा झन् झन् खस्किंदो र नाम सुन्दै मानसिक स्वास्थ्य बिग्रने खालको बनेको छ।

यी र यस्तै अबस्थाले यो संघको पुनर्व्याख्या र प्रतिमान परिबर्तन हुनु पर्दछ भन्ने कुरामा जोड दिन खोजिएको हो। व्यक्तिगत रुपमा प्रतिमान परिबर्तन भन्नाले जब कुनै व्यक्तिले आफुले लिएको विचार, विश्वास र दृस्टीकोणको कमजोरी थाहा पाएर त्यो भन्दा उन्नत, मानबिय र बृहत्तर हित हुने विचार अगाल्न पुग्दछ। अब हामीले हाम्रो नेपालको कुल, परम्परा, संस्कार र संस्कृतिसंग हामीलाई अविछिन्न जोडेर राम्रो हितकारी कुरा लिन अनि पुर्बग्राही, अहितकारी, अमानबिय बिचारलाई   त्याग्नको लागि प्रेरणा दिन के कस्तो विचार अंगाल्ने भन्ने प्रमुख चुनौती र अवसर हाम्रो सामु खडा भएको छ।

जसरि पश्चिमा संस्कृतिको जरा होमर र इलियादसंग जोडिएको छ। त्यसै गरि हामी सनातन पुर्बिय प्रवासीको संस्कार, विचार र भावना बैदिक समाज र उनीहरुको बैचारिक तत्वसंग जोडिनु पर्छ। यदि आफ्नो अस्तित्व र पहिचान कायम गरि आगामी पुर्खालाई नेपाली र नेपालीपनको अमिट पहिचान छोड्ने हो भने, हिन्दु, बुद्ध, जैन, किरांत, बोन लगायत प्रकृति पुजक सबैको अन्तर्यमा जाने हो भने, यात "बसुधैबा:कुटुम्बकम" वा "बहुजन सुखाया बहुजन हिताय" छ।

यी अमृत बिचारको अबलम्बन गर्न सकेमा मात्र पनि अहिले संसारमा चलेका विभिन्न कित्ताकाट र द्वन्दलाई धेरै हदमा निस्तेज पार्न सकिन्। यो त रह्यो अहिलेको सन्दर्भमा के कस्तो बैचारिक मूल्य र मान्यता अबलम्बन गर्न सके हाम्रो बिशिस्ट पहिचान साथै साधारण पहिचान बन्न सक्ला भन्ने।

अहिले जस्तै पश्चिमको "लै बरी लै" मा आफ्नो पहिचान घुलन गर्दै लाने र पश्चिमा बिचारको उपभोक्ता हुने परिपाटीले  "नाराने" नामको संस्था संरचना रहे पनि यसले समन्वयकारी भूमिका खेल्ने छैन र सक्दैन।

अबको दोस्रो पुस्ताले नेपालका राजनैतिक पार्टीलाई चिन्दैन अनि त्यो अबस्थामा नेपाल र नेपालीको बिशिस्ट पहिचान के कसरि निर्माण गर्ने वा खोज्ने गहन अनुसन्धान र खोज गरि प्रयोगमा ल्याउन पनि प्रतिमान परिबर्तन को खाँचो भैसकेको छ।  आजका समाजशास्त्रीहरुमा एउटा गहन छलफल र बैचारिक द्वन्द्ध छ, त्यो हो संरचना र व्यक्ति बिचको द्वन्द्ध। कुनै पनि संरचना के कस्तो हुने भन्ने कुरा त्यसमा लाग्ने व्यक्तिले पनि निर्धारण गर्दछ।

कहिले काँही  संरचनाले नै व्यक्तिको स्वतन्त्र बिचारलाई  निर्देशित, दुषित वा कलंकित पारी दिन्छ। नेपालका राजनैतिक पार्टी र प्रणालीमा जे जस्ता व्यक्ति आए पनि संरचनाको बैचारिक धरातल नै खराब हुनाले ति व्यक्तिहरु आफैंमा राम्रा र सबल हुँदा-हुँदै पनि संरचनाको राप र तापमा ओइलिएको द्रिस्टान्त हामीसामु छन्।

कहिलेकाँही गलत पात्रको छनोट र प्रवेश ले पनि संरचनात्मक प्रकार्यमा अबरोध हुन्छ। अब तपाईं आफै अनुमान लगाउनुहोस, बिस्तारै बर्गीय समाजमा विभक्त हुँदै गएको हाम्रो नेपाली समाजका सदस्यहरु नाराने सस्थाको सदस्य बन्ने प्रक्रियामा कसरि सामेल हुन्छन। शिक्षित, दिक्षित र प्रशिक्षित हुने प्रक्रिया कसरि चलेको छ। एक पटक गम खानुस त ?  केन्द्रमा रहेका ठुला-ठालुसंग जसले मेरा यति सदस्य छन् वा मैले हजुरलाई यति भोट दिलाउन सक्छु भन्दै ताबेदारी गरेर  सदस्य शुल्क तिर्दै हिडेर नाराने संस्थाको बिगत चलेको छ। 

अब नया तरिकाले न सोच्ने हो भने यस्तै टपर-तुइंया पात्रले हाम्रो सम्पूर्ण हिसाबले के कसरि प्रतिनिधित्व गर्लान ? सहृदयी, पारिबारिक संरचना बलियो भएको, दिगो आम्दानी साथै समाजसेवालाई  मानबिय हिसाबले पुण्य कमाउनको लागि लागि पर्ने पात्रलाइ सामुहिक रुपमा अगाडी सारेर सामाजिक र सस्थागत स्वार्थ खोज्नुभन्दा केहि पात्रको उक्साहटमा आफ्नो स्वार्थ देखेर सस्थामा आउने पात्रले न त अरुको सबल सेवा गर्न सक्छ न त उक्त पात्र आफैंमा सन्तुस्ट रहला।

बसेको देशको सामान्य ज्ञान सम्म नभएका वा नेपाली र नेपालीको  बारेमा गहिरो ज्ञान लिन नसक्ने पात्र हाबी हुनुले पनि यो संस्थाको सदस्य बन्न हिच्किचाउने परिपाटी बसेको छ। शुरुमा केहि पुराना राजनीतिज्ञ र धनाड्य व्यक्तिको दबदबा रहे पनि अहिले आएर विभिन्न क्षेत्रका एजेन्टहरु सक्रिय देखिएका छन्।

यस्तै गरि विभिन्न देशमा कार्यरत यो मंचमा कार्यकारिणीहरु आर्थिक रुपमा पारदर्शी हुन नसक्नु, प्रक्रिया मिचेर पनि आफ्नो  पार्टीको लागि मरिमेटेर लाग्नु, प्राबसिको भन्दा नेपालका नेताको हित र जीतमा लाग्ने, संस्थाको नाम बिकाएर मानब तस्करीमा सामेल हुनु र भ्रस्ट आचरण र आफ्नो आर्थिक फाइदामा संस्थाको नाम बेच्नुले पनि यो सस्थाप्रति दिनानुदिन नकारात्मक धारणा बिकाश भैरहेको यथार्थ लुकेको छैन।

अब आउने पात्रले व्यक्तिगत रुपमा कसैलाई निस्तेज वा निषेध गर्न भन्दानी हजारौ प्रबासी नेपालीको चाहना, समस्या, चुनौतिको साथै नया बैचारिक धरातल निर्माण गर्दै सबैलाई सहज रुपमा गर्वको साथ हाम्रा प्रतिनिधि भन्न पाइने बाताबरण  निर्माण गर्नु पर्नेछ। 

सस्थाको सदस्य बन्नको लागि बैचारिक रुपमा प्रशिक्षित हुनको लागि सबैलाई समेट्ने सहृदयी विचार अगाल्नु, साथै आफु रहेको मुलुकमा बिना पूर्वाग्रह र भेदभाब सम्पूर्ण पक्षको प्रतिनिधित्व गर्नको लागि मानसिक रुपमा तयार र सक्षम भएको हुनु पर्दछ।

हामीलाई अब नेपालको राजनैतिक पार्टीको कार्यकर्ता बराबरको चेतना भएको पात्र भन्दा नेपाली समाज र संस्कृतिको अन्तर्य संरचनाको ज्ञान भएको र प्रबासी नेपाली र सम्बन्धित मुलुकमा मानबिय र सहृदयी, पंचशिलको भूमिका निर्माण गर्ने पात्र हुने हो भने हामीलाई नेपालीको संख्या सानो वा ठुलो भन्ने गणितीय आधार खोज्नु पर्दैन। 

आगामी दिनमा "गैरआवासीय नेपाली संघ" को सस्थागत अस्तित्व कायम गर्दै नेपाल र नेपालीको उच्च मनोबल कायम राख्ने हो भने नया सिराबाट बहस र छलफल गर्नै पर्नेहुन्छ। संस्थाको चुनाबको बेला नजिकैको चिया पसलमा बसेर क्षितिजरुपी गफ गर्ने, फेरी २ बर्ष हराउने जस्ता प्रवृति कायम राख्ने हो भने उही प्रबिधिले धकेलेर गतिमा गए मात्र नत्र  स्वक्रियात्मक भएर आफु, आफ्नो स्व:संस्कृतिकरणको साथै प्रबासी पहिचान कायम गर्दै हाम्रो पुरातन संस्कार र संस्कृतिलाई नया पुर्खामा हस्तान्तरण गर्न निकै गार्हो हुनेछ। हाम्रो पहिचान फिजी, गयाना, ट्रिनिदाद र टोबागोमा रहेका इन्डियन मुलुकका नागरिकका जस्तै हुनेछ।