६ कूटनीतिक नियोगका लागि ६ राजदूत सिफारिस

Hollywood Khabar July 14,2023 Comments

सरकारले ६ कूटनीतिक नियोगका लागि राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषद् बैठक बसेको मङ्गलवारको मितिमा मुख्यसचिव डा. वैकुण्ठ अर्यालले शुक्रबार रिक्त सातमध्ये ६ परराष्ट्रका ६ जना सहसचिवलाई राजदूत नियुक्तिका लागि सिफारिस निर्णयमा हस्ताक्षर गरेका हुन् ।

संयुक्त राष्ट्रसङ्घीय स्थायी नियोग न्युयोर्कमा सहसचिव लोकबहादुर थापाको नाम सिफारिस गरिएको छ । हाल उत्तर पूर्वी एसिया महाशाखा प्रमुख रहेका थापा यसअघि बेल्जियमका लागि नेपाली राजदूत थिए । उनीसँग राष्ट्रसङ्घीय मामिलामा काम गरेको अनुभव छैन । न्युयोर्कका लागि परराष्ट्रसचिव भरतराज पौडेल पठाउने चर्चा परराष्ट्रमा रहे पनि निर्णय गर्दा भने उनको नाम आएन ।

राष्ट्रसङ्घीय नियोग जेनेभाका लागि परराष्ट्रमा दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव रामप्रसाद सुवेदी सिफारिसमा परेका छन् । उनी दिल्लीस्थित नेपाली दूतावासको उपनियोगका रूपमा काम गरेर फर्केका थिए ।

सहसचिव सुधीर भट्टराई फ्रान्सका लागि राजदूतमा सिफारिस भएका छन् । उनी हाल प्रमुख शिष्टाचार महापाल रहेका छन् । यसैगरी सहसचिव धनबहादुर ओली थाइल्यान्ड, तेजबहादुर क्षेत्री युएई र घनश्याम लम्साल कुवेतका लागि राजदूतमा सिफारिस भएका छन् ।

सरकारले क्यानडाका लागि राजदूतमा भने सिफारिस गरेको छैन । कार्यकाल सकेर क्यानडाबाट राजदूत भृगुप्रसाद ढुङ्गाना स्वदेश फर्किसकेका छन् । हालै न्युयोर्कबाट अमृतबहादुर राई, जेनेभाबाट मणिप्रसाद भट्टराई, युएईबाट कृष्णप्रसाद ढकाल, कुवेतबाट दुर्गाप्रसाद भण्डारी र फ्रान्सबाट दीपक अधिकारी कार्यकाल सकेर फर्किएका छन् ।