ललितपुरमा भूमिहीन सुकुम्बासीहरुलाई निस्सा वितरण सुरु

Hollywood Khabar July 16,2023 Comments

ललितपुर जिल्लाका भुमिहिन दलितहरु तथा भुमिहिन अन्य सुकुम्बासी नागरिकहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान गर्न सुरु गरिएको छ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले जिल्लाका विभिन्न स्थानीय तहमा पुगेर भूमिहीन र सुकुम्बासीलाई निस्सा दिन थालेको हो। सो क्रममा जिल्लाका ६ वटा स्थानीय मध्ये गोदावरी नगरपालिका वडा नं ७ देविचौरका भूमिहीन दलित तथा भुमिहिन सुकुम्वासीलाई निस्सा दिइएको छ।

गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारी, वडा अध्यक्ष मथुरा शर्मा बजगाईं, भुमि आयोग जिल्ला समिति ललितपुरका अध्यक्ष श्रीगोविन्द महर्जनले सयुक्त रुपमा देविचौर पुगेर भुमिहिन दलित ३ र भुमिहिन सुकुम्वासी ११ गरी १४ जनालाई निस्सा वितरण गरेका हुन्। नगर प्रमुख महर्जनले बाँकी वडाहरुमा पनि चाडै प्रक्रिया पूरा गरेर निस्सा वितरण गरिने बताए। 

यस अघि वागमती गाउँपालिकामा २० जना भुमिहिन दलित र ७४ जना भुमिहिन सुकुम्वासी गरि ९४ जनालाई निस्सा प्रदान गरिएको भूमि आयोग जिल्ला समिति ललितपुरका अध्यक्ष श्रीगोविन्द महर्जनले बताए ।

उनले भुमिहिन दलित तथा भुमिहिन सुकुम्वासीलाई निस्सा वितरण सँगै अव्यवस्थित बसोबासीहरुलाई पनि चाडैं निस्सा वितरण गर्ने तयारी भइरहेको समेत जनाए।

जिल्लाका ६ स्थानीय तहमा लगत संकलनका आधारमा १०७ जना भूमिहीन दलित, ५४७ जना भूमिहीन सुकुम्बासी र २ हजार ५४७ जना गरी कुल ३ हजार २०१ जनाको तथ्याङ्क संकलन रहेको राष्ट्रिय भूमी आयोग जिल्ला समिति ललितपुरका विज्ञ सदस्य प्रतिक तामाङले बताए।