अमेरिकामा दुइ एनआरएनए समायोजन नहुने भएपछि अब राष्ट्रिय महाधिवेशन गर्ने निर्णय

Hollywood Khabar July 17,2023 Comments

जुलाई १६, २०२३ अमेरिकी पूर्वीय समय अनुसार बेलुका ८ः०० बजे देखी राती ११ः०० बजे सम्म गैरआवासीय नेपाली संघ-एनआरएनए अमेरिकाको बैठक कार्यवाहक अध्यक्ष ज्ञानल थापाको अध्यक्षतामा बस्यो।

३ः०० घण्टा लामो चलेको सो बैठकले एनआरएनए अन्तर्राष्ट्रीय परिषदको जानकारी अनुसार समायोजनको ढोका खुला रहेको तर तत्काल एकता नहुने भन्ने जानकारी प्राप्त भए अनुरूप अब एनआरएनए अमेरिकाले एकताको सट्टा राष्ट्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ।

अन्तर्राष्ट्रीय परिषदको संयोजनमा अर्को पक्षसँग गरिएको पहलमा क्षेत्रीय संयोजकहरुले चासो नदिएको र एनसीसीसँग सहमत भएर जाने बैठक सम्म हुन नसकेकाले भविष्यमा दुई एनआरएनए समायोजनका कुरा तत्काल स्थगन राख्दै राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरिएको हो। एनआरएनए अमेरिकाले समायोजनलाई असर नपरोस भन्ने हेतुले रोकिएको गतिविधिहरुलाई अब सदस्यता निरन्तर गर्दै राज्य च्याप्टर गठन देखि राष्ट्रिय महाधिवेशन सम्म तयारी गर्ने निर्णय गरेको छ। 

बैठकले एनआरएनए अमेरिकाको सदस्य बन्ने प्रक्रिया फेरी खुल्ला गरेको छ भने राष्ट्रीय महाधिवेशनका पूर्व तयारीका लागी विधान अनुसार आवश्यक निर्वाचन समिति, राष्ट्रीय महाधिवेशन तयारी समिति, सदस्य छानबीन समितिहरु गठन गर्ने निर्णय पनि गरेको छ।

बैठकमा निर्वाचन प्रक्रिया लगायत विविध बिषयमा घनीभूत रुपमा छलफल भएको कावा थापाले बताउँनु भयो। अन्तमा कार्यवाहक अध्यक्ष थापाले एनआरएनए नाफामूलक नभई सेवामूलक संस्था भएकोले आगामी दिनमा एनआरआनए- अमेरिकाले आफ्नो राष्ट्रीय महाधिवेशन बाट सम्पूर्ण तह र तप्काका समिति एवं विभागहरु निर्माण गरी आम नेपालीहरुको हक, हित र अधिकारको लागी द्रुतगतिमा काम गर्ने  योजना रहेको पनि बताउनुभयो।