साँढे जुधाएर होइन मिस्टर बुलको आयोजना गर्नु, बाघले हरिण खानु दैनिकी, हरिण बाघलाइ दिनु प्राणी माथिको अत्याचार हो

Hollywood Khabar August 11,2023 Comments

कृष्ण के सी, अमेरिका, जनवरी १५, २०२१

एउटा त अबोध प्राणी साँढे, बयस्क भएपछि प्राकृतिक रुपमा उसले लडाइ गरेर जित्न खोज्नु र आफू त्यो टिमको नाइके साँढे हुनु स्वभाविक र प्राकृतिक कुरा हो। इच्छाले कुनै जनावर लड्नु त्यो उसको लाइफ साइकल हो। जंगलमा बाघले हरिण मारेर खानु दैनिकी हो। तर हरिण लगेर बाघलाइ दिनु चाहिं प्राकृतिक नियमको लिमिट क्रस गर्नु हो। 

त्यस्तै साँढे जुदाइने कार्यक्रम आयोजना गर्नु र त्यसबाट मनोरंजन लिनु प्राणी माथिको अत्याचार मात्र होइन प्राकृतिक नियमको उलंघन र सामाजिक अपराध पनि हो। नेपालको नुवाकोट जिल्लामा हरेक बर्ष माघे सक्रान्तिका दिनमा साँढे, गोरु जुदाउने प्रतियोगिता गर्दै आइएको छ। हुनत यस्तो कुरा “बुल सो”, अमेरिका, मेक्सिको, स्पेन लगायत देशमा सदियौं देखि चल्दै आएको छ। नुवाकोटको सो साँढे जुदाउने प्रतियोगिता आजभोलि नजिकका जिल्लाहरु धादिङ्ग र गोरखामा पनि सुरु गर्न थालिएको छ।

सामान्य रुपमा हेर्दा साँढेको खेल मनोरंजन जस्तो देखिए या भनिए पनि वास्तवमा भने प्राकृतिक नियमको उलंघन र प्राणी माथिको सामाजिक अपराध सरहको कदम हो भन्ने मेरो जिकिर छ। हुनत यस्तो गतिबिधि तुरुन्त बन्द गर्नुपर्छ भन्ने कुरा पशु अधिकारवालाहरुको पनि छ। उसै पनि हिन्दु धर्ममा साँढे या गोरु भगवान शिवको बाहन भनेर नन्दीको रुपमा पुजनीय पशु हो। सबै गोरु पुज्नको लागि योग्य छन् तर जोत्ने गोरु र ढोग्ने साँढेबारे धार्मिक ब्याख्या फरक छन्।

नेपालमा साँढेलाइ पुजनीय र ढोगनीय मानिन्छ। गोरुलाई जोतिएला, गाडा तान्न लगाइएला तर खाना, दाना-पानी दिन्छन। उनीहरुलाई करुणा साथ पालिन्छ। तर त्यसै गोरुलाइ अर्को गोरुसँग जुदाएर मनोरंजन लिनु भनेको महापाप हो। हुन त यो मनोरंजन होइन एक किसिमको तमासा हो।

गुगलगर्दा पाइने जवाफमा बुल फाइट गराउँदा यातना पनि दिने गरिन्छ। अनि जुधाउने बुल धेरै दुखित भएर रिसाउँछ। तर पनि उसलाई बाध्य पारिन्छ। यस्ता सिंगल बुल फाइट प्रतियोगिता सरदर २० मिनेटको हुने गर्दछ।

यति मात्र होइन कतिपय ठाउँमा तमासा हेर्न बसेका स-साना बाल-बालिका, बृद्ध, शारीरिक रुपमा भाग-दौड गर्न नसक्ने अशक्तहरु समेत हुन्छन। जुदाउँदा रिसाएको साँढे-गोरुले उनीहरुमाथि जाइलाग्ने अवस्था धेरै पटक भएको छ। यसबाट धेरै घाइते पनि भएका छन्। कतिको ज्यान गएको पनि छ। गुगलका अनुसार अहिले सम्म ५३४ जना भन्दा धेरै ब्याबसायिक बुल माताडोरहरुको ज्यान बुल फाइट रिङ्गमा नै गएको छ। 

नुवाकोट लगायतका ठाउँमा यो अझै दर्दनीय अवस्थाको छ। ति सबैजसो खेलमा जोखिम ब्यबस्थापन पटक्कै छैन। यहाँ सम्मकी नजिक फेरो दुर्घटना उपचार, घाउ-चोट लागेको गोरु, बुल माताडोर या दर्शक कसैलाई पनि उपचार गर्ने तयारी गरेको देखिंदैन। त्यो भन्दा पनि ठुलो कुरा गोरु या मालिकको बिमा गरिएको छैन। हिन्दु धर्ममा गोरु खान मिल्दैन, यस्ता गोरु घाइते भएमा उपचार गर्ने या पाल्ने चलन पनि देखिएन।

तर पनि यसलाई निरन्तर दिने हो भने फरक रुपमा आयोजना गर्न सकिन्छ। सम्पूर्ण सुरक्षा र संकट व्यबस्थाको तयारी पुरा गरेर गोरुलाई सुन्दर बनाएर पालिएको छ भने त्यसलाइ नजुधाईकन “मिस्टर बुल” को रुपमा प्रदर्शन गर्न सकिन्छ।

प्रदर्शनमा ल्याइने गोरूहरु मानिससँग, उसका मालिक परिवारसँग मिलानसर छन् भने, तिनलाई एकल या मासमा प्रदर्शन गर्नु राम्रो कुरा हो। यति मात्र होइन गोरुका सुन्दर गतिबिधि प्रदर्शन गरेर मनोरंजन दिनु अर्को पक्ष हो। गोरु सिंगार र सुन्दर बनाएर प्रदर्शन प्रतियोगिता आयोजना गर्दा मानिस र गोरु दुवैको ज्यान जोखिममा पर्दैन। त्यो राम्रो पक्ष हो।

तर उनीहरुलाई आपसमा जुदाउने कार्य, दुख दिएर भगाएर, कुदाएर, अंग समातेर प्रतियोगिता गर्नुभने अत्यन्तै निन्दनीय कुरा हो। यसलाई स्थानिय रुपमा दण्डनीय कानुन बनाउँदै तुरुन्त बन्द गर्नुपर्छ।