भन्सार छलि अवैध रूपमा लुकाई छिपाई ल्याएको सुनसहित तीन जना पक्राउ

Hollywood Khabar September 12,2023 Comments

नेपाल प्रहरी, काठमाडौं/भन्सार छलि लुकाई छिपाई ल्याएको ९ सय ६० ग्राम तौलको अवैध सुन जस्तो देखिने पहेंलो धातु बरामद भएको घटनाको अनुसन्धानको क्रममा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काभ्रे खानीखोला गाउँपालिका-३ घर भई पनौती नगरपालिका-५ बस्ने २८ वर्षीय बाबुलाल दोङ, काभ्रे रोशी गाउँपालिका-३ घट्टेखोला बस्ने ३३ वर्षीय जगत लामा र काभ्रे महाभारत गाउँपालिका-३ सानो पोखरा घर भई हाल बनेपा बस्ने ३६ वर्षीय मिङमा दोर्जे स्यान्तान रहेका छन् ।

हिमालयन एयरलाईन्सद्वारा सोमबार बिहान दुबईबाट नेपाल आएका बाबुलालले भन्सार छलि अवैध सुन लुकाई छिपाई ल्याएको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाडौं महानगरपलिका-९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर सार्वजनिक सडक पेटीमा हिँड्दै गरेका बाबुलाललाई मलद्वारमा लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणको धातुसहित तत्काल फेला पारी पक्राउ गरेको थियो ।

थप सोधुपछ एवम् अनुसन्धानको क्रममा जगत लामा र दोर्जे स्यान्तानलाई समेत काठमाडौं महानगरपालिका-१५ ढल्कुस्थित बिगमार्टको पार्किङबाट मंगलबार प्रहरीले पक्राउ गरेको हो । उनीहरूले प्रयोग गरेको बागमती प्रदेश ०१-२७ च ९९६० नम्बरको गाडी र बागमती प्रदेश ०२-०३० प ८५१७ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ। उनीहरूलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौचर पठाइएको छ।