आश्विन ३ गते, नेपालको संविधान दिवस

Hollywood Khabar September 19,2023 Comments

आश्विन ३ गते, नेपालको संविधान दिवस हो। एकातिर देशभर विभिन्न कार्यक्रम गरी संबिधान दिवस मनाइँदै छ भने अर्कोतिर संबिधान कार्यान्वयन नै नभएको अवस्था छ। त्यसैगरी संबिधान नै फालेर अर्को ब्यबस्थाको माग पनि हुँदै गएको छ। देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सघसंस्था लगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदै छन्।

आज बिहान टुँडिखेलमा आयोजना हुने संविधान दिवससम्बन्धी कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेछन् ।सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ ।

नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो । संविधान जारी हुँदा संविधानसभाको अध्यक्षका रूपमा स्वर्गीय सुवासचन्द्र नेम्वाङ थिए । सङ्घीयता, धर्म निरपेक्षता, समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालगायतका नयाँ व्यवस्था राखिएको यो संविधान जारी हुँदा संविधानसभाको प्रक्रियामा सहभागी दलका पाँच सय ३७ जना सभासद्ले हस्ताक्षर गरेका थिए । नेपालको संविधान, २०७२ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका छन्।