-Sita Bhandari Kanel

स्मृतिका छापहरू

Hollywood Khabar October 12,2023 Comments

-सीता भण्डारी कणेल, शंखमूल, नयाँबानेश्वर, काठमाडौँ, अक्टुवर १२, २०२३

विहानको मिर्मिरे उज्यालोमा
स्वच्छ र निर्मल आकाशबाट
जब झुल्किन्छन् घामका किरणहरू
तिमी नै झुल्किएजस्तो लाग्छ !

रातको सुनसान प्रहरमा
जब चम्किन्छन्
जून र ताराका चम्किला छविहरू
तिमी नै चम्किएजस्तो लाग्छ !
जब फुल्छन्् बगैँचामा
रंगीचंगी फूलका थुँगाहरू
तिमी नै फुलेजस्तो लाग्छ
पाखा, पर्वत, नदी–किनार
बाटा र गोरेटाहरूमा
तिमी नै डुलेजस्तो लाग्छ
यो सुन्दर धर्तीसँग तिमी
र, तिमीसँग यो सुन्दर धर्ती
सम्मिलित भएजस्तो लाग्छ !

कहाँ मेटिन्छन् र
स्मृतिका ती अविष्मरणीय छापहरू ?
कहाँ भुलिन्छन् र
तिमीले छोडेका स्नेहपूर्ण धापहरू ?
आँखाले त्यही दृश्य देखेको हुन्छ
कानले त्यही शब्द सुनेको हुन्छ
मन, मुटु र मस्तिष्कले
हरपल, हरक्षण तिनै स्नेही पलहरूको
हिफाजत गरिरहेको हुन्छ
त्यसैले,
भौतिक सम्बन्ध टाढा भए पनि
भावनात्मक सम्बन्ध
झन्–झन् गाढा हुँदोरहेछ !