अख्तियारकै उपसचिव अधिकारीबाट अख्तियारी दुरुपयोग-भाग १

Hollywood Khabar October 25,2023 Comments

हलिउडखबर प्रतिनिधि, काठमाडौं/अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम देशभरि रहेका सार्वजनिक संस्थान, सरकारी निकाय र अन्य आर्थिक गतिविधि हुने क्षेत्रको अख्तियारी दुरुपयोगको निगरानी र नियन्त्रण गर्नु हो। तर, अख्तियारकै उच्च अधिकृतहरूले नै आफूले पाएको अख्तियारी दुरुपयोग गरेपछि यस्ता संवैधानिक निकायहरूमाथि गम्भीर प्रश्न उठ्नु स्वाभाविक नै हो। पछिल्लो पटक भुटानी शरणार्थी प्रकरणमा अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि विभिन्न पक्षबाट अभियोग लाग्यो। तथापि, राजनीतिक संरक्षणकै कारण अख्तियारमा नियुक्त भएका शक्तिशाली राईलाई कसैले बयानका लागि बोलाउने आँट गरेन। 

प्रमुख आयुक्त नै यस्ता काण्डमा मुछिएपछि अन्य कर्मचारीले के गर्लान्? प्रश्न स्वाभाविक नै हो। तर अख्तियारका जिम्मेवारी कर्मचारीप्रति सञ्चार क्षेत्रले सम्मान नै गर्छन्। तर भ्रष्टाचारीलाई संरक्षण गर्ने, आर्थिक लेनदेनकै आधारमा उजुरी लिने–नलिने, पैसाको भारी पाएपछि मुद्दा दर्ता नगर्ने, पीडित बनेका–बनाइएकालाई नै मुद्दा हाल्ने जस्ता कार्यमा अख्तियार संलग्न रहेपछि यो श्रृंखला सुरु गरिएको हो। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उपसचिवको जिम्मेवारीमा छन् मोहन अधिकारी। जुनसुकै मुद्दाको अनुसन्धानमा पनि अधिकारी अग्रसर हुन्छन्। यसका केही कारण छन्। संखुवासभामा जन्मिएका अधिकारी अख्तियारमा आएपछि निकै ‘सुकिला’ भएका छन्। उनले सरकारी पेसामा प्रवेश गरेपछि काठमाडौँको सिनामंगलमा गज्जबको घर बनाए। 

उपसचिव अधिकारीले अनुसन्धानको जिम्मा पाएका जति पनि मुद्दा छन्, ती सबै नै सुरुमा ‘पेन्डिङ’ रहन्छन्। अख्तियारले तत्काल छानबिन गरेर निर्णय दिनुपर्नेमा अधिकारी सबै पक्ष बुझ्छन्। उनी अभियुक्तहरूलाई आफै फोन गर्छन्। अभियुक्तको नजिक रहेका व्यक्तिमार्फत ‘डिल’ सुरु गर्छन्। ‘डिल’ नमिलेपछि योजनाबद्ध रुपले षडयन्त्रपूर्वक मुद्दा हालेर सामाजिक छवि समाप्त गर्छन्।

गत साउनमा विशेष अदालतमा दायर भएको मुद्दाका अभियुक्तसँग उपसचिव अधिकारीले धेरै पटक कुरा गरे। कहिले कार्यालयमै बोलाएर “फसाइदिन्छु, अब सिध्याइदिन्छु’ भन्दै उनले ती व्यक्तिलाई धम्क्याए। उजुरीमा नाम आएका ती व्यक्तिले आफूलाई मोटो रकम दिन भने पनि ‘मसँग पैसा छैन, दिन सक्दिनँ’ भनेपछि मुद्दा दायर भएको बताए। उजुरीकर्ता र आरोपीसँग कनेक्सन भएको उपसचिव अधिकारीको फोन सम्पर्क विश्लेषण गर्दा उनले आरोपीहरूसँग पटक-पटक कुरा गरेको पाइएको छ।

ठुला मुद्दाका आरोपीसँग फोनमा कुरा गरेका अधिकारीले मुद्दा दर्ता गर्नुअघि पटक पटक पैसाका लागि दबाब दिने गरेको पीडितले बताए। अख्तियारकै तल्लो तहका एक कर्मचारीका अनुसार पछिल्लो समय उपसचिव अधिकारीको ठाँट निकै बदलिएको छ। मोहन अधिकारी उता मन्त्रालयमै रहँदा पनि त्यति राम्रो काम गर्नेमा पर्दैनथिए। यहाँ आएपछि उनी ‘कमाउनै आएको हो’ भन्छन्, तल्लो तहका कर्मचारी उनीसँग आतंकित हुन्छन्, ती कर्मचारीले भने। 

उपसचिव अधिकारीको अख्तियारी दुरुपयोगको श्रृंखला लामो छ। झण्डै ६ महिनाको खोजबाट तयार गरिएको यो श्रृंखलामा उनका अनियमितताका विषय क्रमश: उठान गरिनेछ। यस सन्दर्भमा बुझ्न अधिकारीलाई हाम्रा प्रतिनिधिले फोन गर्दा उनले फोन उठाएनन्।