बालकुमारी घटनामा मन्त्री ज्वालाको भूमिका छानबिन गर्न निर्देशन

Hollywood Khabar January 01,2024 Comments

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले बालकुमारी घटनामा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र भौतिक पूर्वाधारमन्त्रीको भूमिकाबारे छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ।

सोमबार बसेको समितिको बैठकमा कोरियाली भाषा परीक्षा दिन माग गर्दै युवाहरुले गरेको प्रदर्शनमा गोली चलेको घटनामा दुई मन्त्रीको भूमिकाबारे छानबिन गर्न निर्देशन दिएको हो।उक्त घटना घट्न श्रम रोजगार तथा सामाजिक मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय/मन्त्रीको भूमिकाबारेमा समेत छानबिन गर्न निर्देशन दिने, सभापति रामहरि खतिवडाले समितिको निर्णय सुनाउँदै भने।

पानीजहाज निर्माणको कामका लागि दिएको भाषा परीक्षामा फेल भएकाहरुले उत्पादनमूलक कामका लागि लिइने भाषा परीक्षामा पनि सहभागी हुन पाउनुपर्ने माग गर्दै आन्दोलन गरिरहेका क्रममा शुक्रबार झडप भएको थियो।

झडप भइरहेको समयमा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला आन्दोलनस्थलमा पुगेका थिए। मन्त्री त्यस क्षेत्रमा पुगेको केहीबेरमा प्रहरीले आन्दोलनकारीमाथि गोली चलाएको थियो। समितिको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा दोषी देखिएका जोसुकै भए पनि नछाडिने र कारबाही गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन्।