राष्ट्रिय सभामा एमाले सहित गठबन्धन नहुने

Hollywood Khabar January 06,2024 Comments

सत्ता गठबन्धनले राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेल नगर्ने भएको छ । एमालेलाई पनि समेटेर निर्वाचनमा जाने चर्चा गठबन्धन दलभित्र भएको थियो। तर आज बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले एमालेसँग सहकार्य नगर्ने निर्णय गरेको हो। गठबन्धनमा सहभागी नेपाली कांग्रेसका नेता रमेश लेखकले एमालेसँग चुनावी तालमेलको सम्भावना सकिएको बताए। उनले भने, सत्ता गठबन्धनभित्रै सिट बाँडफाँटमा सहमति खोज्ने कुरा भएको छ।

आज साँझ बैठक बसेर फेरि छलफल हुनेछ। राष्ट्रिय सभाको १९ सिटका लागि माघ ११ गते निर्वाचन हुँदैछ। संक्रमणकालीन न्याय टुंग्याउन एमालेको पनि साथ खोज्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेलाई पनि राष्ट्रिय सभामा समेट्ने प्रस्ताव गरेका थिए।

तर अन्य दलहरुले सहमति नजनाएपछि गठबन्धनभित्रै तालमेल हुनेछ। गठबन्धनसँग सात वटै प्रदेशमा स्पष्ट बहुमत छ। खाली हुने २० सिटमध्ये एक सिट सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ। गठबन्धनबाहिर रहेर चुनाव लड्नुपर्ने भएपछि एमालेलाई जित्न कठिन हुने भएको छ। गठबन्धन एक ढिक्का भए एमालेले एक सिट पनि नजित्ने निश्चित छ।