घट्दो विद्यार्थी संख्या र गुणस्तरीय शिक्षा

Hollywood Khabar January 24,2024 Comments

ललितपुर/भट्टेडाँडा। घट्दो विद्यार्थी सङ्ख्या र गुणस्तरीय शिक्षा विषयक गोष्ठी ललितपुरको भट्टेडाँडामा सम्पन्न भएको छ। महाकाली देवी पूर्व विद्यार्थी सङ्घले आयोजना गरेको उक्त कार्यक्रम बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लामाको प्रमुख आतिथ्यमा सम्पन्न भयो। 

सार्वजनिक विद्यालयहरूमा दिनानुदिन घट्दो विद्यार्थी संख्या एकातिर समस्या रहेको छ भने संघले घट्दो विद्यार्थी संख्याका बीच पनि गुणस्तरीय शिक्षा कसरी दिन सकिन्छ भन्ने बारेमा कार्यक्रम आयोजना गरेको संघका अध्यक्ष विष्णुप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो। 

स्थानीय शिक्षाविद आश्रङका सुदर्शन घिमिरे र इकुडोलका नवराज सञ्जेलले उक्त विषयमा सहजीकरण गर्नुभएको थियो। कार्यक्रमलाई बागमती गाउँपालिकाले सबै विद्यालयमा अभियानका रूपमा अगाडि बढाउने र आएका सुझावहरुलाई कार्यान्वयन गर्ने अध्यक्ष लामाले जानकारी दिनुभयो।

विशेष अतिथि पालिका उपाध्यक्ष भक्तबहादुर दर्लामी मगर ,वडा अध्यक्ष द्वय नवराज खडका, होमप्रसाद बजगाई, शिक्षा शाखा प्रमुख कपिलमणि पौडेल, स्थानीय पार्टीका प्रतिनिधि नेकपा एमाले अध्यक्ष नवराज सञ्जेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष महेन्द्रप्रसाद घिमिरे, व्यवस्थापन समितिका अध्यक्ष डोलकेशर दाहाल, स्थानीय विद्यालयका प्रधानाध्यापक, मासका पूर्व अध्यक्षहरू, संघ संस्थाका प्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी लगायतका सरोकारवालाका उपस्थिति रहेको थियो। अध्यक्षता संघका अध्यक्ष विष्णुप्रसाद तिमल्सिना, कार्यक्रम सञ्चालक सचिव रमेशकुमार सञ्जेलले गर्नु भयो भने स्वागत मन्तव्य उपाध्यक्ष बासु घिमिरेले गर्नु भएको थियो ।