मेरिल्याण्ड डिस्ट्रिक्ट ८, विधायक: ह्यारी भण्डारी

ह्यारी भण्डारी स्टेट विधायकबाट कंग्रेसमेनको लागि क्याम्पेन गर्दै

Hollywood Khabar January 29,2024 Comments

प्रेस विज्ञप्ती 

जनवरी २९, २०२४

सन् २०१८ मा मेरिल्याण्ड राज्यमा नेपाली मुलको पहिलो विधायकका रूपमा विजयी भएर अमेरिकामा नेपाल र नेपालीलाई देखिने र सुनिने बनाउने अभियानमा लागेको एक निमित्त पात्रका रूपमाले अमेरिकामा कार्यरत नेपाली मिडियाका मित्रहरूले मलाई चिन्नु नै हुन्छ भन्ने विश्वास लिएको छु।

आज पनि म अमेरिकी मूलधारको राजनीतिमा नेपालीका लागि सुरू गरेको त्यो अभियानको पहिलो दिन सम्झन्छु। त्यसयता यहाँहरूले निरन्तर रूपमा दिनुभएको अमूल्य सहयोग, साथ, सद्भावले तय गरेको यात्रापछि आइपुगेको यो विन्दुमा उभिएर यहाँहरू सबैप्रति कृतज्ञता प्रकट गर्दछु।

मेरिल्याण्ड डिस्ट्रिक्ट ८ को विधायकका रूपमा मैले पहिलो कार्यकालमा गरेको कामको मूल्यांकन गरेर मेरो निर्वाचन क्षेत्रका मतदाताले मलाई दोस्रो कार्यकालमा पहिलो मतका साथ जिताएनन् मात्र, सिंगो निर्वाचन क्षेत्रलाई नै बैजनीबाट नीलो बनाइ दिएर मेरो कामको अनुमोदन गरी दिए। 

यसबाट अमेरिकाको मूलधारका मतदातामाझ पनि नेपाल र नेपाली अरू बढी देखिएको छ, सुनिएको छ। मेरिल्याण्डमा नेपाल र नेपालीलाई हेर्ने दृष्टिकोणमा सकारात्क परिवर्तन भएको छ। मेरिल्याण्डका मात्र हैन, अमेरिकाभरिका नेपालीका लागि खासगरी दु:खको बेला काँध थाप्दै आएको छु। यसबाट पीर र समस्यामा परेका धेरै नेपालीको चहराइरहेको घाउमा मल्हम लागेको मैले अनुभव गरेको छु।  

इतिहासले फेरि एकपटक ममार्फत् अमेरिकाभरिका नेपालीका लागि एउटा सुनौलो मौका ल्याइदिएको छ । मेरै निर्वाचन क्षेत्रसमेत रहेको मेरिल्याण्ड कंग्रेसनल डिस्ट्रिक्ट २ लाई बिगत २१ वर्षदेखि अनवरत् रूपमा प्रतिनिधित्व गर्दैआएका कंग्रेसमेन डच रूपेर्सबर्गरले अवकाशको घोषणा गरेपछि ओपन सिट भएको छ।

डेमोक्रेटिक पार्टीले जित्ने सिट ओपन हुनु भनेको त्यही क्षेत्रको सबैभन्दा बढी मत ल्याएर जितेको र बरियताक्रममा पनि नम्बर १ मा रहेको डेलिगेटका लागि एकजुगमा एक दिन एकपटक आउने सुनौलो अवसर हो। कम्तिमा मेरो सक्रिय राजनीतिक जीवनमा यस्तो अवसर फेरि आउने छैन भन्नेमा म विश्वस्त छु।

म यो सुनौलो अवसर अमेरिकाभरिका नेपालीको अवसरका रूपमा स्विकार्छु र विनम्रतापूर्वक मेरिल्याण्ड कंग्रेसनल डिस्ट्रिक्ट २ को लागि डेमोक्रेटिक पार्टीको उम्मेद्वारी घोषणा गर्न चाहन्छु। मलाई थाहा छ, मेरो लागि यो चुनौतिको पहाड हो। तर, अमेरिकामा रहेका तमाम तह र तप्काका नेपालीबाट सहयोग, साथ र सद्भाव पाएँ भने यो चुनौतिको पहाडलाई सम्याएर अवसरको मैदान बनाउन सक्ने छु। 

मसँग यो चुनौतिलाई स्विकार गर्ने अध्ययन, अनुभव, आँट र पृष्ठभूमी छ। त्यसैले मैले यो चुनौति मेरो लागिभन्दा पनि नेपाल र नेपालीका लागि लिनैपर्छ भन्ने ठानेको हुँ। यो यात्रा मेरिल्याण्डको राजधानी एनापोलिसको लागि हैन, अमेरिकाको राजधानी वासिङ्टन डीसीस्थित क्यापिटलको हिलको हो। अहिले म मेरिल्याण्डको विधायक हुँ भने यो जीतपछि अमेरिकाका ५० राज्यकै एक कंग्रेसमेन हुनेछु। त्यसबाट अमेरिकाभरिका समग्र नेपालीले आफ्नो मूलको पहिलो कंग्रेसमेन पाउँने छन्।

यसका लागि उम्मेद्वारी दिनु एउटा पक्ष हो भने त्यसका लागि प्रभावकारी चुनावी क्याम्पेन चलाउनु अर्को तर निर्णायक पक्ष हो । मैले पहिलो पक्षको जिम्मेवारी पूरा गरेको छु र दोस्रो पक्षको जिम्मेवारी लिन अमेरिकाको नेपाली समुदायलाई हार्दिक आग्रह गर्दछु । 

यदि अमेरिकाको नेपाली समुदायका हरेक सदस्यले मेरो उम्मेद्वारी नेपाल र नेपालीका लागि हो भन्ने आत्मसात गरेर गच्छेअनुसार सहयोगका रूपमा मुट्ठी दान गरिदिदनु भयो भने हाम्रो पक्षमा इतिहास बन्ने निश्चित छ । मसँग चुनावी क्याम्पेन सञ्चालन गर्ने पैसाबाहेक जीतका लागि चाहिने अरू सबै पृष्ठभूमी छ। 

म सबै नेपालीलाई सहयोग गरिदिनु भई चुनावी क्याम्पेन सञ्चालनका लागि स्रोत जुटाइ दिनु हुन विनम्रतापूर्वक अनुरोध गर्दछु । 

समयले हाम्रो लागि हाम्रो जीवनकालमा ल्याएको यो सुनौलो मौकाको सदुपयोग गरौं यसबाट अमेरिकामा नेपाल र नेपाली अरू देखिने छन्, सुनिने छन्, बिस्तारित हुने छन्। 

हामीसँग समय धेरै छैन । आगामी मे १४ मा प्राइमरी निर्वाचन हुँदै छ। मेरो जीतका लागि निर्णायक चुनाव भनेकै यही डेमोक्रेटिक प्राइमरी हो । यो चुनाव जितियो भने नोभेम्बर ५ मा हुने आमनिर्वाचन एक किसिममको जीतको औपचारिकता मात्र हुने छ।

म यही प्रेस विज्ञप्तीमार्फत् अमेरिकामा रहेका सबै नेपाली सञ्चारकर्मी मित्रहरूलाई यो अभियानको मर्मलाई सम्पूर्ण नेपालीमा पुर्याइ दिन हार्दिक आव्हान गर्दछु ।

सम्भव हुन्छ भन्ने मेरो अभियानलाई इन्डोर्स गरेर आम नेपालीलाई यो लिंकमार्फत् सहयोगका लागि आव्हान गरिदिन पनि अनुरोध गर्दछु ।

यो लिंकमा क्लिक गरेर $50, $100 वा यहाँले सक्ने रकम सहयोग गर्न सक्नु हुने छ। यहाँहरूको सहयोग, साथ र सद्भावको हार्दिक अपेक्षासहित, 

डेलिगेट ह्यारी भण्डारी, पीएच. डी. 

(मैले मेरिल्याण्डकै नम्बर १ ब्रोडसिट दैनिक द बाल्टिमोर सनमार्फत् आजै मैले उम्मेद्वार घोषणा गरेको हुँ । मेरो चुनावी क्याम्पेनमा यसको अहम् महत्व हुन्छ। त्यही पत्रिकाको लिंक सन्दर्भ सामग्रीका रूपमा यहाँ राखिदिएको छु।)

https://www.baltimoresun.com/2024/01/29/harry-bhandari-to-run-for-congress/ https://secure.actblue.com/donate/hb0124_explo