नेवा:नख: न्यूयोर्कको पाँचौ साधारण सभा सम्पन्न, डा. शाक्यको नेतृत्वमा नयाँ कार्यसमिति

Hollywood Khabar February 06,2024 Comments

नेपाल संवत ११४४ प्वहेलागाः अष्ठमी,शनिबार (Saturday, February 3, 2024) का दिन नेवा: नख: न्यूयोर्कका महासचिव तुलसी नारायण चित्रकारले जूम (zoom) को माध्यमबाट संचालन गरिएको साधारण सभाको अध्यक्षतामा नख:का अध्यक्ष महेन्द्र बीर बज्राचार्यले गरेका थिए। प्रमुख अतिथिमा नख:का पूर्व अध्यक्ष तथा सल्लाहाकार विष्णु मान प्रधान थिए। 

उक्त सभामा उपस्थित सबैलाई प्रथम उपाध्यक्ष डा. नरेश मान शाक्यले स्वागत गरेका थिए । नख:का प्रमुख अतिथि, संस्थापक उपाध्यक्ष, पूर्व अध्यक्ष तथा सल्लाहाकार विष्णु मान प्रधानले नेवाः नखः न्युयोर्कको स्थापना, यसको महत्त्व र इतिहासको बारेमा प्रकाश पारेका थिए । उहाँले “Teamwork Makes A Dream Work” भनेर सबै सदस्यहरू मिलेर संस्था लाई अझ राम्रो संग अगाडि बढाउनु पर्ने कुरामा जोड दिदैं कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए। 

द्वितीय उपाध्यक्ष श्रुति अमात्यले नखःको बारेमा बोल्नुका साथै सबै मिलेर काम गरि नयाँ पु्स्तालाई समेटेर नेवाः संस्कार र संस्कृति सिकाउँदै लानु पर्ने र सदस्यहरूलाई लाभान्वित हुने खालको कार्यक्रम ल्याउनु पर्ने कुरामा जोड दिंदै कार्यक्रम सफलताको शुभकामना दिएका थिए । कार्यक्रमको शुरूमै उपस्थित सदस्यहरूको सहभागीताको दर्ता कार्य, सचिव अनित श्रेष्ठ र सह-कोषाध्यक्ष मेनी श्रेष्ठले गरेका थिए । कार्यक्रममा उपस्थित सबै सदस्यहरुले आ-आफ्ना परिचय दिएका थिए। 

खुल्लासत्रमा, महासचिव तुलसी नारायण चित्रकारले संस्थाको दुई वर्षको कार्यप्रगति विवरण तथा संस्थाले भए गरेका गतिविधीहरू प्रस्तुत गरेका थिए भने कोषाध्याक्ष सलोनी वन्त श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेका थिए।पेश गरिएको सो प्रतिवेदन सभाले सर्वसम्मत पारित गर्यो । सभामा, दिवंगत भएका नखःका प्रथम उपाध्यक्ष डा. नरेश मान शाक्यका पिता श्री कर्ण मान शाक्यको सम्झनामा एक मिनेट मौन धारणा गरि उहाँको आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धांजली अर्पण गरिएको थियो।  बन्द सत्रमा, नेवा: नख: न्यूयोर्कको चौंथो निर्वाचन, निर्वाचन आयुक्त विष्णु मान प्रधानले विधीपूर्वक सम्पन्न गरेका थिए । 

नयाँ कार्यसमितिको अध्यक्षमा डा. नरेश मान शाक्य, प्रथम उपाध्यक्षमा श्रुति अमात्य, द्वितीय उपाध्यक्षमा महेन्द्र कुमार बज्राचार्य, महासचिवमा तुलसी नारायण चित्रकार, सचिवमा अनित श्रेष्ठ, कोषाध्यक्षमा सलोनी वन्त श्रेष्ठ र सह-कोषाध्याक्षमा मेनी श्रेष्ठ निर्विरोध निर्वाचित भएका थिए भने कार्यसमितिको सदस्यहरूमा, दिपक कुमार प्रधान, नम्रता प्रधान, राधिका श्रेष्ठ, किरण कुमार रंजित, शोभना शाक्य, उजिला प्रधान, राजीव बाटाजु र सबिना शाक्य निर्विरोध निर्वाचित भएका थिए। 

१५ जनाको कार्यसमितिमा ८ जना महिलाहरू निर्वाचित भएका थिए ।सभाले विष्णु मान प्रधान र महेन्द्र बीर बज्राचार्यलाई सल्लाहाकारमा मनोनीत गरे । अध्यक्ष महेन्द्र बीर बज्राचार्यले नव निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए भने सभामा उपस्थित सबै सदस्यहरूलाई उहाँहरूको सहयोग, सपोर्ट र गरिमामय उपस्थितिको लागि हार्दिक धन्यवाद ज्ञापन गरेका थिए । उहाँले आफ्नो कार्यकालमा नखःको विभिन्न कार्यक्रममा सहयोग गर्नुहुने सम्पूर्ण सदस्य, संघ-संस्था, महिला तथा पुरूष, स्वयंमसेवी र सहयोगीहरूलाई विशेष धन्यवाद दिएका थिए।

अन्तमा, नेवा: कला संस्कृतिको क्षेत्रमा सबै समुदायसँग सहकार्य गर्दै संस्थालाई अगाडि बढाउने र आधुनिक प्रविधी प्रयोग गरि भावी कार्यक्रमहरू संचालन गर्नु पर्नेमा जोड दिंदै नव निर्वाचित अध्यक्ष डा. नरेश मान शाक्यले सबैलाई धन्यवाद दिई सभाको अन्त्य गरेका थिए । अन्य पदाधिकारीहरू तथा सदस्यहरूले पनि आ-आफ्ना प्रतिवद्धता व्यक्त गरेका थिए। नेवा: नख: न्यूयोर्क - नेवा: परम्परा, कला र संस्कृतिको संरक्षण, प्रवर्द्धन र नयाँ पिढिमा पुस्तान्तरणका लागि सन २०११ मा न्युयोर्कमा स्थापना गरिएको संस्था हो । यो संस्थाले समुदायको हितका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।