हङकङको कमाईले जन्मगाउँमा निशुल्क एम्वुलेन्स सेवा

Hollywood Khabar February 15,2024 Comments

उर्लाबारी/मोरङको उर्लाबारीबाट रोजगारको शिलशिलामा हङकङ पुगेका युवाले आफू जन्मे हुर्केको गाउँका बासिन्दालाई अस्पताल सम्मको पहुँच सहज बनाउन एम्बुलेन्स प्रदान गरेका छन्। उर्लाबारी नगरपालिका हङकङ परिवारले २५ लाख ५० हजार रुपैंयाँ सङ्कलन गरी पठाएको पैसाले खरिद गरेको एम्बुलेन्स नगरको वडा नं.९ ले सञ्चालन गर्न थालेको छ।

माघ १४ गते बाट एम्बुलेन्स सेवा सुरु गरिएको वडाध्यक्ष नरबहादुर मोक्तानले बताए। वडाध्यक्ष मोक्तानका अनुसार एम्वुलेन्सले विपन्न परिवारलाई निशुल्क सेवा दिनेछ । नगरले विपन्न परिवार सम्बन्धी कार्यविधि बनाइरहेको छ । कार्यविधि निर्माण भएपछि विपन्न परिवार परिचय वितरण गरिनेछ। परिचय प्राप्त गर्नेलाई निशुल्क र अरु सर्वसाधरणलाई २० प्रतिशत छुटमा एम्वुलेन्स सेवा दिइने छ।

एम्वुलेन्स खरिदका लागि हाल हङ्कङमा रहनु हुने उर्लाबारी –९ का याम सेम्बुले एक्लै ५ लाख ३० हजार १ सय ७६ रुपैंया सहयोग गरेका थिए । सेम्बु र साङ्गेहाङ्ग तुम्बाहाम्फेको सक्रियतामा एम्वुलेन्स खरिद गर्ने रकम जुटको हो । एम्वुलेन्सको चालक र इन्धन खर्च उर्लाबारी नगरपालिकाले ब्यहोर्ने छ।