छ वर्षमा ३५ हजार इम्बोस्ड नम्बरप्लेट जडान

छ वर्षमा ३५ हजार इम्बोस्ड नम्बरप्लेट जडान

Hollywood Khabar December 24,2022 Comments

सवारीसाधनको सुरक्षाका लागि महत्वपूर्ण मानिएको इम्बोस्ड नम्बर प्लेट जडान छ वर्षमा ३५ हजार सवारीसाधनमा मात्रै भएको छ । कानुनीलगायतका विभिन्न कारणले केही अवधि रोकिएको जडान पछिल्लो समय भने न्यून सङ्ख्यामा भए पनि दैनिकरुपमा भइरहेको छ ।

तर निर्धारित समय सकिन ११ महिना बाँकी रहँदा दुई प्रतिशतभन्दा कम सवारीसाधनमा नम्बर प्लेट जडान भएको विभागको भनाइ छ । इम्बोस्ड नम्बर प्लेट विसं २०८० मङ्सिरसम्म जडान गरिसक्नुपर्नेछ । इम्बोस्ड नम्बर प्लेट जडानको अहिलेको गति हेर्दा निर्धारित अवधिमा सबै सवारी साधनमा जडान हुने अवस्था नभएको विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुको भनाइ छ ।

सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जोड्नुपर्छ भनेर कानुनमा व्यवस्था गरिएकाले सेवाग्राहीले जडान गर्न पाउने तर बाध्यकारी नभएको उहाँको भनाइ छ । सरकारले पाँच वर्षमा २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडानको लक्ष्य लिएको छ । सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान कहिले कानुनी त कहिले भाषाको विवादका कारण अपेक्षाकृत रुपमा हुन सकेको थिएन । इम्बोस्ड नम्बर प्लेट जडानको अवधि गत वर्ष जेठमा सकिएपछि फेरि साढे दुई वर्षका लागि थप गरिएको थियो ।

इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा हुनुपर्ने माग गर्दै अदालतमा मुद्दा दायर भएको थियो । सो मद्दामा दुई वर्ष पहिले अदालतले प्लेट अङ्ग्रेजी भाषामै हुँदा फरक नपर्ने फैसला गरेको थियो । यातायात व्यवस्था विभागले विसं २०७३ जेठ १७ मा टाइगर आइटी (द कर्पाेरेसन)सँग नम्बर प्लेट आपूर्ति र जडानका लागि सम्झौता गरेको थियो ।

प्रविधियुक्त इम्बोस्ड नम्बर प्लेटको प्रयोगले सवारीसाधनको चोरी, राजस्व छली र आपराधिक क्रियाकलाप रोक्ने अपेक्षा गरिएको छ । विभागले सम्झौतामा वैयक्तिक नामाङ्कन र सूचना प्रविधि पूर्वाधारसमेत निर्माण गरिने बताएको छ । आधुनिक र वैज्ञानिक नम्बर प्लेट खरिदका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा बोलपत्र आह्वान गरिएको थियो ।