बागमती प्रदेशमा एक वर्षमा दुर्घटनामा परी ३६० को मृत्यु

बागमती प्रदेशमा एक वर्षमा दुर्घटनामा परी ३६० को मृत्यु

Hollywood Khabar April 14,2022 Comments

विगत एक वर्षमा बागमती प्रदेशमा भएका दुर्घटनामा परी ३६० जनाको मृत्यु भएको छ । बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौँ, भक्तपुर र ललितपुरबाहेकका १० जिल्लामा भएको दुर्घटनामा परी उनीहरुले ज्यान गुमाएका हुन् ।

कार्यालयका प्रमुख प्रहरी उपरिक्षक सुशीलसिंह राठौरका अनुसार एक हजार ६४७ दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । यस्तै तीन हजार ३८९ जना घाइते भएका छन् । घाइतेमध्ये दुई हजार ५२० सामान्य र ८६९ जना गम्भीर घाइते भएको कार्यालयको तथ्याङ्कले जनाएको छ । गत वर्ष वैशाखमा भएको १३५ दुर्घटनामा परी ३४ जनाको मृत्यु भएको थियो ।

ती दुर्घटनामा २३१ घाइते भएका थिए । जेठमा भएका ८७ दुर्घटनामा परी १९ जनाको मृत्यु भएको छ भने १३० घाइते भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । कार्यालयका अनुसार असारमा भएका १२३ दुर्घटनामा परी १८ जनाको मृत्यु भएको थियो । सोही दुर्घटनामा २१२ घाइते भएका थिए । साउनमा १५० दुर्घटनामा २४ जनाको मृत्यु भयो भने २४२ घाइते भएका छन् । यस्तै भदौमा भएका ११८ दुर्घटनामा परी २२ जनाले ज्यान गुमाएका थिए । दुई सय ७८ जना घाइते भएका थिए ।

असोजमा भएका १५८ दुर्घटनामा ३६ जनाले ज्यान गुमाए भने ३७५ जना घाइते भएका थिए । कात्तिकमा भएका १६३ सवारी दुर्घटनामा ४३७ जना घाइते भएका थिए भने ४१ ज्यानले ज्यान गुमाएका छन् । मङ्सिरमा भएका १५५ दुर्घटनामा ३५ जनाको मृत्यु भएको थियो । सोही दुर्घटनामा ३६३ घाइते भएका छन् । पुसमा भएका दुर्घटनामा ३१ जनाको मृत्यु भएको छ । एक सय १४ दुर्घटनामा २२० जना घाइते भएका थिए । माघमा ३४ जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ भने १२२ दुर्घटनामा १७७ जना घाइते भएका छन् ।

फागुनमा भएका १७५ दुर्घटनामा परी ३४ जनाले ज्यान गुमाएका छन् भने ३८९ घाइते भएका छन् । चैतमा भएका १४७ दुर्घटनामा ३२ जनाले ज्यान गुमाएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सोही दुर्घटनामा परी ३३५ घाइते भएका छन् । बागमती प्रदेशमा वर्षभरि भएका दुर्घटनामा दुई हजार ४०७ सवारीसाधन परेका छन् ।