चालक अनुमतिपत्र छपाइका लागि 'मास प्रिन्टर' खरिद गरिँदै

चालक अनुमतिपत्र छपाइका लागि 'मास प्रिन्टर' खरिद गरिँदै

Hollywood Khabar December 28,2022 Comments

सेवाग्राहीले लामो समयसम्म पनि चालक अनुमतिपत्र नपाउने समस्या हटाउन सरकारले नयाँ ‘मास प्रिन्टर’ (ठूलो क्षमताको छपाइ उपकरण) खरिदका लागि प्रक्रिया अघि बढाएको छ । हाल सञ्चालनमा रहेको जस्तै नयाँ प्रिन्टर खरिद गर्न लागिएको हो ।

अहिले माग र आपूर्तिबीचमा ठूलो अन्तर भएकाले ‘मास प्रिन्टर’ खरिद गर्न लागि यातायात व्यवस्था विभागले जनाएको छ । केही वर्षदेखि सेवाग्राहीले फारम भरेको वर्षदिनसम्म पनि चालक अनुमतिपत्र नपाउने अवस्था छ । चालु आर्थिक वर्षमा बजेट विनियोजन भएकाले बोलपत्र आह्वानका लागि प्रक्रिया अघि बढेको विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नयाँ उपकरण खरिदका लागि प्रक्रिया भइसकेको छ र अर्काे मेसिन आएपछि समस्या समाधान हुनेछ ।”

सार्वजनिक खरिद प्रक्रियाका लागि केही समय लाग्नसक्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “छिटो भएमा पनि चारदेखि पाँच महिना लाग्नसक्छ ।” संविधानअनुसार अनुमतिपत्रसम्बन्धी सबै अधिकार प्रदेश सरकारको भए पनि प्रदेश आफैँले नसक्दासम्मका लागि भनेर केन्द्र सरकारले छपाइ गरिरहेको प्रवक्ता पनेरुको भनाइ छ । प्रदेशहरुले आफैँ छाप्नुपर्ने भए पनि अहिलेसम्म कुनै प्रदेशले पनि काम सुरु गरेका छैनन् । उहाँले भन्नुभयो, “यसको कार्यक्षेत्र प्रदेश सरकारको हो विभागले सहजीकरण गरेको हो ।”

माग र आपूर्तिबीचको सन्तु्लन नभएकाले समस्या भइरहेको भएको विभागले जनाएको छ । विभागले दैनिक साढे चार हजार अनुमतिपत्र छाप्न सक्ने हुँदा माग सात हजार थियो । एउटा मात्रै ‘मास प्रिन्टर’ भएकाले सबै सेवाग्राहीले तत्काल अनुमतिपत्र पाउने अवस्था नभएको रहेको प्रवक्ता पनेरुले बताउनुभयो । अनुमतिपत्र छपाइमा समस्या बढिरहकाले गत आवमा उपकरण किन्न विभागले बजेट माग गरेको थियो ।