छठअघि नै १३ जिल्लामा वडा अधिवेशन गर्ने कांग्रेसको तयारी

छठअघि नै १३ जिल्लामा वडा अधिवेशन गर्ने कांग्रेसको तयारी

Hollywood Khabar October 25,2021 Comments

नेपाली कांग्रेसले वडा अधिवेशन गर्न बाँकी रहेका १३ जिल्लामा छठअघि नै अधिवेशन गर्ने तयारी गरेको छ। केन्द्रीय निर्वाचन समितिले सोमबार गरेको छलफलमा पदाधिकारीहरूसँग यसबारे मंगलबार छलफल गरेर अधिवेशनको मिति तय गर्ने तयारी गरेको हो।

कांग्रेसले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रसुवा, बाँके, सुर्खेत, डोल्पा र कैलालीमा वडा अधिवेशन नै गरेको छैन। यीमध्ये रौतहट र रसुवामा क्रियाशील सदस्यताबारे अझै विवाद छ। कांग्रेसले गत भदौ १८ देखि वडा अधिवेशन गरेको थियो। ६४ जिल्लामा वडा अधिवेशन सकिएर नयाँ नेतृत्व आइसकेको छ।

कांग्रेस निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले वडा अधिवेशन गर्न बाँकी रहेका जिल्लाहरूमा छठअघि नै अधिवेशन गर्ने गरी पार्टी पदाधिकारीसँग छलफल गरिने बताए। ‘वडा अधिवेशनको कार्यतालिका पार्टीले नै बनाउने हो तर हामीले पनि तिहार(छठअघि नै अधिवेशन गर्न सकिन्छ भनेर खाका दिन लागेका छौं,’ संयोजक यादवले भने, ‘पदाधिकारीहरूसँग छलफल गरेपछि अधिवेशनको मिति तय हुन्छ। कांग्रेसले मंसिर ९ देखि १३ गतेसम्म महाधिवेशन गर्ने भनेको छ तर कार्यतालिका प्रभावित भइसकेका छन्।