चाइना–नेपाल रेल्वेदेखि अरनिको राजमार्ग मर्मतको लागि नेपाल चीन सम्झौता

चाइना–नेपाल रेल्वेदेखि अरनिको राजमार्ग मर्मतको लागि नेपाल चीन सम्झौता

Hollywood Khabar March 25,2022 Comments

नेपाल र चीनबिच क्रस बोर्डर रेल्वे परियोजनाका लागि सम्भाव्यता अध्ययनको लागि प्राविधिक सहायता योजनामा हस्ताक्षर भएको छ । शनिवार सिंहदरबार स्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ विदेश मन्त्री वाङ यी बीच भएको भेटवार्तामा सो सहित विभिन्न विषयमा सम्झौता भएको हो । ३ दिने नेपाल भ्रमणका क्रममा रहेका विदेश मन्त्री वाङ र मन्त्री खड्काबीच ६ बुँदामा नौ वटा समझदारीमा हस्ताक्षर पनि गरेका छन् । 

यस्तै चीन–नेपाल पावर ग्रिड इन्टरकनेक्शनको सम्भाव्यता अध्ययन, नेपालबाट चीनमा प्रशोधित सुख्खा घाँस (haylage) निर्यातको सुरक्षा र स्वास्थ्य अवस्था सम्बन्धी प्रोटोकल, अरनिको राजमार्ग मर्मत सम्भार परियोजना, रेल्वे क्षेत्रमा सहयोग अभिवृद्धि, नेपाललाई चीनले कोभिड–१९ भ्याक्सिन सहायताको वितरण, नेपालमा काम गर्न चिनियाँ मेडिकल टोली पठाउने प्रोटोकल लगायतका विषयमा सम्झौता भएको छ । 

चीन र नेपालका विदेशमन्त्रीको उपस्थितिमा आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी तथा नेपालमा चीन–नेपाल अन्तरदेशीय रेल–वे परियोजनाको सम्भाव्यता अध्ययनका लागि प्राविधिक सहायता योजनामा अर्थसचिव मधुकुमार मरासिनी र नेपालका लागि चीनका राजदूत हउ यान्छीले हस्ताक्षर गरे । नेपाल–चीन पावर ग्रिड इन्टरकनेक्सन सम्भाव्यता अध्ययनका लागि सहयोग सम्झौतामा ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव देवेन्द्र कार्की र राजदूत हउले हस्ताक्षर गरे । सुरक्षितरुपमा स्वस्थ घाँस नेपालबाट चीन निर्यात गर्नेसम्बन्धी समझदारीमा पशुपन्छी विकास सचिव निरु दाहाल र चिनियाँ राजदूतले दस्तखत गरे ।