डोटीका भूकम्पपीडितलाई काठमाडौँ महानगरपालिकाको सहयोग

डोटीका भूकम्पपीडितलाई काठमाडौँ महानगरपालिकाको सहयोग

Hollywood Khabar December 18,2022 Comments

डोटीको पूर्वीचौकी गाउँपालिकाका भूकम्पपीडितलाई काठमाडौँ महानगरपालिकाले आर्थिक सहयोग गरेको छ । काठमाडौँ महानगरपालिकाले डोटीमा भूकम्पबाट घर भत्केर विचल्लीमा परेका परिवारलाई रु १० लाख आर्थिक सहयोग गरेको हो ।

गएको कात्तिक २३ गते पूर्वीचौकी गाउँपालिकामा गएको ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पले छ जनाको ज्यान गएको थियो भने तीन हजार आठ सय घरटहरा भत्किएका थिए । काठमाडौँ महानगरपालिकामा डोटीका भूकम्पपीडितका लागि सहयोगको अनुरोध गरिएपछि महानगरबाट विपद् व्यवस्थापनअन्तर्गतको बजेटबाट गाउँपालिकालाई रु १० लाख सहयोग उपलब्ध गराइएको महानगर प्रमुख बालेन शाहले बताउनुभयो ।

उहाँले भन्नुभयो, “भूकम्पपीडितका समस्याका विषयमा हामीले जानकारी पायौँ र केही रकम आर्थिक सहयोग गरेका छौँ, आशा छ हाम्रो सहयोगले पीडितका समस्या केही हदसम्म भए पनि समाधान हुने छन् ।” उक्त आर्थिक सहयोग पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायमार्फत हस्तान्तरण गरिएको काठमाडौँ महानगर पालिकाले जनाएको छ ।