गठबन्धन राष्ट्रिय आवश्यकता : प्रधानमन्त्री देउवा

गठबन्धन राष्ट्रिय आवश्यकता : प्रधानमन्त्री देउवा

Hollywood Khabar October 20,2022 Comments

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताउनुभएको छ । पाँच दलीय गठबन्धन गण्डकी प्रदेश समितिद्वारा पोखरामा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलाको पोखरामा उद्घाटन गर्दै उहाँले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन भएको स्पष्ट पार्नुभयो ।

यो चुनावले संविधानको रक्षा, स्थिरतासँगै समावेशीतालाई अघि बढाउँदै राष्ट्रिय एकता स्थापित गर्ने बताउँदै उहाँले भन्नुभयो, “सबैको समावेशीता नै राष्ट्रिय एकता हुन्छ, राष्ट्रिय एकताबाट नै देश बलियो हुन्छ । यो सबैको प्रतिनिधित्व हुने व्यवस्था हो ।” प्रधानमन्त्रीले गठबन्धनले जित्नुपर्ने आवश्यकता छ भन्नुभयो । गठबन्धनमा कुनै बहानामा शङ्का उपशङ्का गराउन नहुने बताउँदै उहाँले बोली तथा व्यहारमा तिक्तता आउने काम कसैबाट पनि हुन नहुनेमा जोड दिनुभयो ।

वर्तमानमा कुनै पार्टीको बहुमत आउन नसक्ने भएकाले पार्टी मिल्नुपरेको उहाँको भनाइ थियो । गठबन्धनमा सबैको जीत भएको उल्लेख गर्दै उहाँले यसलाई कायम राख्दा सबैको अवसर आउने बताउनुभयो । निर्वाचनमा जाँदा सबै पार्टीमा कसैले टिकट पायो या कसैले नपायो त्यसमा प्रवाह नगरी लाग्न आग्रह गर्दै उहाँले गठबन्धनको सरकार बनेमा अन्य विभिन्न अवसर उपलब्ध हुने उल्लेख गर्नुभयो ।

नेपालमा विसं २००७ देखिका विभिन्न परिवर्तन हुँदै गणतन्त्र, समावेशी लोकतन्त्र जस्ता उपलब्धि हासिल भएको बताउँदै प्रधानमन्त्री देउवाले यहाँको समावेशी लोकतन्त्र अन्य राष्ट्रका लागि पनि चासो र अध्ययनको विषय बनेको बताउनुभयो । गण्डकी प्रदेशमा भव्यताका साथ नवौँ राष्ट्रिय खेलकुद सम्पन्न भएको र यसले यहाँको सम्भावनालाई पनि थप उजागर गरेको प्रधानमन्त्री देउवाले बताउनुभयो ।

कला, संस्कृतिलगायतका धेरै विविधता रहेको यस मुलुकको समृद्धि र विकास अबको आवश्यकता भएको बताउँदै उहाँले संविधानको रक्षा, राजनीतिक स्थिरता र समृद्धिका लागि गठबन्धनको जीत अपरिहार्य भएकामा जोड दिनुभयो । नेपाल कम्युनिष्ट पार्टी९माओवादी केन्द्र०का अध्यक्ष एवं पूर्वप्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ निर्वाचनका लागि मात्र अहिलेको गठबन्धन नबनेको बताउनुभयो । संविधान, लोकतन्त्र र राष्ट्रको रक्षा गर्ने उद्देश्यले धेरै ठूलो मेहनतपछि बृहत्तर उद्देश्यका लागि गठबन्धन गरिएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “सत्ता प्राप्ति र निर्वाचन जित्नका लागि मात्र गठबन्धन बनेको होइन । बृहत्तर उद्देश्यका साथ सङ्घर्षको मैदानमा जन्मिएको गठबन्धन हो, स्थिरता, विकास र समृद्धिबाहेक यसको अर्को उद्देश्य छैन ।” उहाँले लामो सङ्घर्षपछि प्राप्त उलब्धिको रक्षाका लागि गठबन्धन अघि आएको बताउँदै सत्ताप्राप्तिका लागि मात्र हो कि भनेर सोच्न नहुने उल्लेख गर्नुभयो ।

जनताको जीवनस्तरमा परिवर्तन, संविधान रक्षाको सुनिश्चितता, निरङ्कुश प्रवृत्तिको अन्त्य र आर्थिक विकासको युग सुरु नहुँदासम्म गठबन्धन कायमै रहने उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले गठबन्धनमा भएको सहमतिअनुसार उम्मेदवारलाई विजयी गराउने कार्यमा लाग्न सबै पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । आगामी निर्वाचनले देश, संविधान र लोकतन्त्रले जित्ने कि हार्ने भन्ने कुराको निर्धारण गर्ने भन्दै दाहालले गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “गठबन्धनको अर्को मित्रलाई भोट नहाल्नु मित्रप्रतिको घात हुन्छ । गठबन्धनका दलले इमानदारीपूर्वक एकअर्काको चिन्हमा भोट हाल्नुहोला ।” नेकपा९एकीकृत समाजवादी०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गण्डकी प्रदेशका गठबन्धनका उम्मेदवारलाई विजयी गराउने गरी लाग्न आग्रह गर्नुभयो । उहाँले गठबन्धन दल किन बनायौं भनेर जनतामाझ जाँदा बुझाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “विपक्षीले फैलाएको भ्रम चिर्ने गरी जनतामा जानुहोस्, गठबन्धन दलका नेता इमानदारीपूर्वक चुनावमा लागेर गठबन्धनका दललाई जिताउनुहोस् ।” अध्यक्ष नेपालले अहिलेको गठबन्धन स्वाभाविक र प्राकृतिक रहेको बताउँदै यही गठबन्धन नै गणतन्त्रको रक्षा गर्ने मूल शक्ति भएको स्पष्ट पार्नुभयो ।

विपक्षी गठबन्धनलाई गणतन्त्र, सङ्घीयता र लोकतन्त्र नपचेको अध्यक्ष नेपालको जिकिर छ । जनतालाई न्याय दिन, समानता स्थापित गर्न र देशलाई विकासको बाटोमा लैजाने काम गठबन्धनको सरकारले गरेको उहाँले बताउनुभयो । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पाँच दलीय गठबन्धनका कार्यदल संयोजक रामचन्द्र पौडेलले राष्ट्रिय आवश्यकताअनुसार दलगत सिद्धान्तबाट माथि उठेर साझा मुद्दामा गठबन्धन एक भएको बताउनुभयो ।

संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि बनेको गठबन्धन संविधान र राष्ट्र विरोधी प्रतिगामी शक्तिका विरुद्धमा रहेको बताउँदै उहाँले त्यसलाई परास्त गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । गठबन्धन सरकारमा जाने मात्र नभई राष्ट्रको समृद्धि र विकासका लागि भएको उहाँको भनाइ छ । -रासस