पिपलटारमा जिल्ला आयुर्वेदिक औषधालयको नवनिर्मित भवनको शिलन्यास

पिपलटारमा जिल्ला आयुर्वेदिक औषधालयको नवनिर्मित भवनको सिलान्यास

Hollywood Khabar October 25,2021 Comments

बिदुर ५ पिपलटारमा जिल्ला आयुर्वेदिक औषधालयको नवनिर्मित भवनको एक कार्यक्रमको बिच  सिलान्यास गरिएको छ । गएको असार ३ गते सम्झौता गरि हिम्डुङ एण्ड थोक्कर ÷ वि एम जे.भी.ले  भवनको निर्माण कार्य सुरु गरिसकेकोे भएता पनि वागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री केशव पाण्डे, भूमि ब्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री वद्रि मैनाली लगायतको उपस्थितिमा सोमवार औपचारिक रुपमा नवनिर्मित भवनको सिलन्यास गरिएको हो ।

जिल्ला आयुर्वेदिक औषधालयको भवन सिलन्यास कार्यक्रमलाई संवोधन गर्नुहुदै भौतिक पूर्वाधार विकास मन्त्री पाण्डेले कोरोना भाइरस महामारीको विषम परिस्थितिमा आयुर्वेदिक औषधालयले पुराएको योगदान प्रशंसायोग्य रहेको बताए । विगतका वर्षहरुमा मानिस तथा घरपालुवा पशुचौपायहरु विरामी भएको खण्डमा गाउँघरतिर नै पाइने जडिबुटीहरुको प्रयोगबाट लाभ लिएको सम्झनुहुदै मन्त्री पाण्डेले खेर गइरहेको जडीवुटीहरुको पहिचान गरी सदुपयोग गर्नतर्फ ध्यान दिनुपर्ने बताए । वेलकोटगढीमा प्रदेशस्तरीय आयुर्वेदिक रिसर्च सेन्टर स्थापना गरिएकोले जिल्ला आयुर्वेदिक औषधालयसँग समन्वय गरेर अघि बढ्न सकेमा राम्रो प्रतिफल प्राप्त हुनेमा विश्वस्त रहेको उनले बताए । 
  

यस्तै मेडिकल साइन्सको विकाससँगै आयुर्वेदिक पद्धति पछाडी परिरहेको महसुस भएता पनि हाल सेवाग्रही आयुर्वेदिक पद्धति तिरै आकर्षित भइरहेको भूमि ब्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री वद्रि मैनालीले बताए । आयुर्वेदिक पद्धति अवलम्वन गर्नलाई नुवाकोट जिल्ला उर्वर भूमिको रुपमा रहेकोले जिल्ला आयुर्वेदिक औषधालयलाई सेवा प्रवाह गर्न सहज भएको उनको भनाई छ । उक्त कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले विषादी युक्त कृषि उपजको प्रयोगले नागरिकहरु विभिन्न रोगबाट ग्रसित भइरहेको प्रति दुखेसो पोखे । आर्थिक स्थिति कमजोर भएका नागरिकहरुले औषधोपचार गरेर स्वस्थ जीवन ज्यून अवस्था नरहेकोले शहर वजारमा केन्द्रित भइरहेको आयुर्वेदिक औषधालयलाई गाउँ केन्द्रित गराउनु पर्ने उनले बताए । 
  

कार्यक्रममा विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, पूर्व मेयर ठाकुर गजुरेल, विदुर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष शिव चित्रकार लगायतले खेर गइरहेको जडीवुटीहरुको सदुपयोग गर्दै आयुवेर्दिक औषधीको प्रयोग र फाइदाको विवषयमा वढवा दिन सबै पक्षले प्रचारप्रसारमा जोड दिनु आवस्यक रहेको बताएका छन् । वागमती प्रदेशको आर्थिक लगानीमा जिल्ला आयुर्वेदिक औषधालयको भवनको निर्माण गर्नलाई ९ करोड ४९ लाख ५३ हजार रुपैयाँमा सम्झौता भएको छ ।

उक्त भवन विसं २०७९ साल पुसमा सम्पन्न गर्ने सम्झौता भएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र देविघाटका सञ्चालन र व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण खड्काले जानकारी दिए । छायामा परेको आयुर्वेद स्वास्थ्य उपचारलाई ग्रामीण भेग सम्म पुराउनलाई नुवाकोटको तीन स्थानीय तहमा नागरिक आरोग्य केन्द्र स्थापना गरिएको अध्यक्ष खड्काले बताए । शिवपुरी गाउँपालिका, दुप्चेश्वर गाउँपालिका र किस्पाङ गाउँपालिकामा नागरिक आरोग्य केन्द्र स्थापना गरिएको छ ।