मन्त्रालयको कामलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

मन्त्रालयको कामलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

Hollywood Khabar February 06,2023 Comments

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रालयका काम कारबाहीलाई प्रभावकारी र परिणाममुखी बनाउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज सबै मन्त्रालयका सचिवहरूसँग छलफल गर्दै प्रधानमन्त्रीले मन्त्रालयअन्तर्गतका आयोजनाको कामलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले प्रधानमन्त्रीले पदवहालीका क्रममा र संसद्मा प्रतिबद्धता जनाएअनुरूपका कामको प्रगतिबारे सचिवहरूसँग ब्रिफिङ लिनुभएको उल्लेख गर्नुभयो । “सचिवहरूको बैठकमा प्रधानमन्त्रीले जिम्मेवारी लिएपछि सबै मन्त्रालयका सचिवलाई एकीकृत कार्ययोजना ल्याउन निर्देशन दिनुभएको थियो ।

एकीकृत कार्ययोजनाको कार्यान्वयनको स्पष्ट मापदण्डसहित आज प्रधानमन्त्रीसहित सबै उपप्रधानमन्त्री, मन्त्री, राष्ट्रिय योजना आयोग, सबै मन्त्रालयका सचिवको उपस्थितिमा छलफल भएको थियो । उक्त छलफलले सबै मन्त्रालयअन्तर्गतका योजनालाई आगामी बजेटको केन्द्रविन्दुमा राखेर निश्चित समयावधिमा कार्यान्वयन गर्नेगरी योजना समावेश गरिएको र सोको कार्यान्वयनका लागि सबै योजना अगाडि बढाउन प्रधानमन्त्रीले गम्भीरतापूर्वक निर्देशन दिनुभएको सञ्चारमन्त्रीले जानकारी दिनुभयो ।

त्यसैगरी प्रधानमन्त्री दाहालले राजनीतिक संयन्त्र र प्रशासनिक संयन्त्रको बीचमा हुने अन्योललाई चिर्न यस किसिमको छलफललाई निरन्तरता दिन र सबै मन्त्रालयको एकीकृत कार्ययोजनाको कार्यान्वयन र अनुगमन गरी मुलुकको अर्थतन्त्रमा सुधार गर्नेगरी काम गर्न आग्रह गर्नुभएको छ ।

राहदानी वितरण व्यवस्थित गर्न प्रधानमन्त्रीले पदबहालीकै क्रममा सचिवलाई निर्देशन दिनुभएको र उक्त विषय अझै पनि प्रभावकारी कार्यान्वयन नभएको गुनासो आइरहेको भन्दै प्रधानमन्त्रीले तत्काल सुधार गर्न निर्देशन दिनुभएको छ ।