राष्ट्रिय प्रसारण लाइनमा थपियो २७ मेगावाट बिजुली

Hollywood Khabar August 30,2022 Comments

लमजुङबाट राष्ट्रिय प्रसारण लाइनमा २७ मेगावाट बिजुली थपिएको छ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा दोर्दी गाउँपालिकामा निर्माण गरेको दोर्दी जलविद्युत् आयोजना सम्पन्न भएसँगै मङ्गलबारदेखि बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिएको हो । गैरआवासीय नेपाली सङ्घ ९एनआरएन० का पूर्वअध्यक्ष एवं प्रवर्द्धक हिमालय पावर पार्टनर लिमिटेडका अध्यक्ष जिवा लामिछाने र लगानीकर्ता आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालको उपस्थितिमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान भएको घोषणा गरिएको हो ।

एनआरएनएका पूर्वअध्यक्ष लामिछानेले आफू अध्यक्ष रहेका बेला गैरआवासीय नेपालीले एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी खोलेर उक्त संस्थामार्फत यस जिल्लामा पहिलोपटक दोर्दीखोला जलविद्युत् आयोजनामा लगानी गरेको बताए । उनले नेपालमा सफल व्यवसायीसँग मिलेर काम गरेको र गैरआवासीय नेपालीको लगानीबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान भएकामा खुसी व्यक्त गरे ।

त्यस्तै आइएमई ग्रुपका अध्यक्ष ढकालले एनआरएनएसँग मिलेर दोर्दीखोला जलविद्युत् आयोजनालाई अघि सारिएको र अहिले सम्पन्न भएको भन्दै खुसी व्यक्त गरे । आउँदा दिनमा ठूला जलविद्युत्, पर्यटन, पूर्वाधार लगायतमा लगानी गर्न उनले गैरआवासीय नेपालीलाई आग्रह गरेका छन् । 

आयोजनाले २०७२ फागुनदेखि निर्माण थालनी गरेर २०७५ भदौ १५ गते विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो । भारतको नाकाबन्दी, अघिल्लो बर्खामा पावर हाउसमा मर्स्याङ्दी नदीको पानी छिरेर मेसिनरी सामग्रीमा पुर्याएको क्षति र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकाले निर्माणमा ढिलाइ भएको आयोजना प्रमुख मुन्न शाक्यले बताए ।

आयोजनाको बाँधस्थल दुई सय १२ मिटरको रहेको छ । बेँसीशहर नगरपालिका–११ रामचोकबेँसीमा विद्युतगृह छ । नेपाल विद्युत् प्राधिकरण र उक्त कम्पनीका बीचमा पिपिए सम्झौता २०६९ असार १ गते भएको थियो । बाँधस्थल र विद्युतगृहको काम रसुवा कन्स्ट्रक्सन कम्पनी, पाइप लाइनको माछापुच्छे« मेटल एण्ड मेसेरेनरी कम्पनी र सुरुङ निर्माणको काम मल्टी इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीको रहेको थियो ।