'महापुरूष'ले गर्‍यो १० करोडको व्यापार

'महापुरूष'ले गर्‍यो १० करोडको व्यापार

Hollywood Khabar November 27,2022 Comments

कोरोना भाइरस महामारीका कारण लकडाउनको समय बढेको डिजिटल प्लेटफर्मको प्रयोगले हलमै गएर फिल्म हेर्ने संस्कृति हराउने चिन्ता बढेको थियो । विश्वमै ओटिटीको प्रयोग बढिरहँदा केही प्रतिक्षित फिल्म रिलिजसमेत भए । हलमा दर्शक घट्नु र ओटिटिमा बढ्नुले नेपालमा समेत यसको विकल्प खोजियो । तर, नेपालमा यसले सफलता पाउन सकेन ।

हलमै फिल्मको व्यापार राम्रो देखियो । प्रायः एकवर्षमा दशभन्दा कम फिल्मले हलबाटै मुनाफा कमाउने गरेको तथ्याङ्क छ । यद्यपि यसैवर्ष मङ्सिरसम्म कबड्डी ४, झिँगेदाउ, प्रेम गीत ३, के घर के डेरा, दुई नम्बरी र महापुरूषले हलबाटै मुनाफा कमाएका छन् । आइतबार फिल्म ‘महापुरूष’ युनिटले पत्रकार सम्मेलन गर्दै प्रदर्शनको चौथो साता पूरा गर्दा दश करोड बढी ग्रस कलेक्सन गरेको जानकारी दिएका छन् । “हामीले पहिलो साता पाएको शो सङ्ख्यामा खासै परिवर्तन आएको छैन ।

हामीले पाएको शोहरू मल्टिप्लेक्समा अझैँ भरिभराउ छन्”, निर्माता दीपेश खत्रीले भन्नुभयो, “फिल्म हेर्न परिवार नै आइरहनु भएको छ । यसैले फिल्मको व्यापार राम्रो भइरहेको छ ।” यसवर्ष कबड्डी ४ र प्रेम गीत ३ पछि १० करोड ग्रस गर्ने यो तेस्रो चलचित्र बनेको छ । नेपाली चलचित्रले हलमै यत्तिको व्यवसाय गर्नुलाई ‘ब्लकबस्टर’ मानिन्छ ।

निर्माता खत्रीका अनुसार फिल्मले पहिलो साता उपत्यका अन्तर्गतको हलमा तीन करोड छ लाख ६५ हजार र उपत्यका बाहिरका हलमा एक करोड पचास लाख १२ हजार, दोस्रो सातामा उपत्यकामा एक करोड ८९ लाख एक हजार र बाहिर ९४ लाख १७ हजार, तेस्रो सातामा उपत्यकामा ९६ लाख तीन हजार र बाहिर ४५ लाख सात हजार तथा चौँथो सातामा उपत्यकामा ८७ लाख सात हजार र मोफसलमा ३९ लाख आठ हजारको व्यापार गरेको छ ।