३ मंसिरमा १८ वर्ष पुगेकाले मतदान गर्न पाउने

३ मंसिरमा १८ वर्ष पुगेकाले मतदान गर्न पाउने

Hollywood Khabar August 13,2022 Comments

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा निर्वाचनको अघिल्लो दिन १८ वर्ष पुगेका मतदाताले मतदान गर्न पाउने भएका छन् ।निर्वाचन आयोगले यसअघि निर्वाचन घोषणा भएको दिन १८ वर्ष पूरा भएका र मतदाता नामावलीमा नामावली समावेश भएका मतदातालाई मतदानमा सहभागी गराउने गरेकोमा गत स्थानीय तह निर्वाचनदेखि सो व्यवस्थामा हेरफेर गरेको थियो ।

३ मंसिरमा १८ वर्ष उमेर पूरा भएका र मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई मतदानको प्रक्रियामा सहभागी गराउनेगरी आवश्यक व्यवस्था गरिएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । आयोगले गत १९ साउनसम्म ७७ जिल्लाका निर्वाचन कार्यालय, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७३ इलाका प्रशासन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गरेको थियो ।

यसैगरी, आफ्नो स्थायी ठेगाना रहेको जिल्ला बाहिर बसोबास रहेकालाई आयोगले बसोबास रहेकै जिल्लाको निर्वाचन कार्यालयबाट नाम दर्ता गर्नेगरी सुविधा दिएको थियो । यसपटक काठमाडौं उपत्यकासहितका केही जिल्लामा अनलाइन प्रणालीमार्फत पनि नाम दर्ता गर्न सकिने व्यवस्था आयोगले मिलाएको थियो । आयोगले १६ वर्ष उमेर पूरा भएका नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गर्न योग्य मान्दै आएको छ भने मतदानका लागि तोकिएको मितिमा १८ वर्ष उमेर पुगेको हुनुपर्नेछ ।

आयोगका अनुसार ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनअघि कुल १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताको नाम आयोगमा दर्ता थियो । यो संख्या यसपटक करिब ५ लाखले बढ्ने आयोगको अनुमान छ । स्थानीय तह सकिएपछि १ असारबाट आयोगले मतदाता नामावली संकलन सुरु गरेको थियो ।