-तीर्थराज अधिकारी,गोरखा, लप्सीबोट; हाल:सरस्वतीनगर, काठमाडौँ-६, फेब्रवरी ६, २०२२
आफैँ न्याय नपाएर न्यायाधीश निराश छन्
स्वास्थ्यसेवी बनी रोगी स्वयम् दिक्क उदास छन्
चोरको स्वर चर्को छ साधु तड्पेर मौन छ
सरकार कतै छैन आज नेपाल बन्द छ ! १।
घरका पर लागेर पिरका पिर बोक्दछन्
परका घर आएर चर्को हैकम गर्दछन्
राजनीति जता हे~यो नीतिले शून्य राज छ
चुँडिई आसको त्यान्द्रो आज नेपाल बन्द छ ।२।
झण्डा उठाउनै पर्छ चर्को नारा लगाउँदै
तिघ्रा ठटाउनै पर्छ सयौँ सिठ्ठी बजाउँदै
किसान खेतमा हैन भेलामा जुट्नुपर्दछ
देश समृध्दिमा लान आज नेपाल बन्द ।३।
पुत्लाहरू जलेका छन् मुर्दावाद ! भनी भनी
बत्तीहरू निभेका छन् घर बाटो जता पनि
कतै टायर बल्दै छन् कतै फायर उग्र छ
यही पौरखले गर्दा आज नेपाल बन्द छ ।४।
नशाका तालमा चल्छन् कुर्सीमात्रै छ ध्यानमा
दृष्टि दर्शन क्यै छैनन् उडेका छन् बतासमा
योग्यताको कुनै पत्र कतै बिक्दैन झेल छ
दलाल खेलमात्रै छ आज नेपाल बन्द छ ।५।
निर्धाको काम क्यै छैन नबोलीकन बस्नु छ
ढुङ्गा- मुढा उचाल्नेले भन्छन् जे मान्नुपर्दछ
सन्तति वीरका हामी महाभारत लड्नु छ
होली रगतको खेल्न आज नेपाल बन्द छ ।६।
**तीर्थराज अधिकारीका अरु कविता**
सिफारिस
हत्यामा संलग्न रहेको अभियोगमा सुदिप र उदित ठाकुर पक्राउ
एनआरएनहरुका ३ एजेण्डा, ४ मुख्य काम नै अबको अभियान, बिस्तृतमा
केप कड नेपाली समाजको साधारण सभा र तेस्रो अधिवेशन सम्पन्न
चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा उमेश तामाङ पक्राउ