प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट दुरुपयोग भयो : डा. महत

प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट दुरुपयोग भयो : डा. महत

Hollywood Khabar March 25,2022 Comments

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट दुरुपयोग भएको बताएका छन् । शनिबार शिवपुरी गाउँपालिकाद्वारा निर्मित भवन उद्घाटन कार्यक्रममा उनले भने, “यसअघिको ओली सरकारले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमको १९/२० अर्ब रुपैयाँ रकमको व्यापक दुरुपयोग भएको छ । यसबाट कुनै रोजगारी सिर्जना भएको छैन ।”

ओली सरकारले आफ्ना कार्यकर्तालाई रकम बाँड्नलाई मात्र यो कार्यक्रम ल्याएको र मनपरी ढंगबाट सो आयोजनाको रकम बाँडेर सकिएको उनको आरोप थियो । प्रवक्ता महतले सो आयोजनाको रकम बाँड्ने क्रममा तिमी कुन पार्टीको मान्छे हो भनेर सोधेरै आफ्नो पार्टीका मान्छेलाई मात्र सो रकम दिने गरिएको बताए । कुनै पारदर्शी योजनाबिना नै सो आयोजना ल्याइएको र सडकको फोहर टिप्ने तथा झार उखेल्ने काम लगाएर आफ्ना कार्यकर्तालाई रकम बाँडिएको उनले बताए ।

उनले ओली सरकारका पालमा कैयौँ अनियमिता भएका र जसका कारण देश आर्थिक रूपमा तहसनहस हुन पुगेको बताए । भ्रष्टाचार, अनियमितता तथा कम्युनिस्ट सरकारका अनेक ज्यादतीका कारण नागरिक अत्तालिएर कांग्रेसको नेतृत्वमा सरकार खोजेका र वर्तमान सरकार निर्माण भएको उनले बताए ।

उनले आगामी सबै निर्वाचनहरूमा नेपाली कांग्रेस नै पहिलो पार्टी हुने भन्दै यसका लागि कांग्रेसका कार्यकर्तालाई एकजुट भएर लाग्न पनि आग्रह गरे ।