एक्लै नक्सा ल्याएँ भनेर ओलीले झुटो कुरा गर्दैछन्: देउवा

एक्लै नक्सा ल्याएँ भनेर ओलीले झुटो कुरा गर्दैछन्: देउवा

Hollywood Khabar November 08,2022 Comments

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपाली भूमि हो भनेर संसदले एक मतले पास गरेको बताएका छन्। दार्चुलाको गोकुलेश्वरमा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले मात्रै पास गरेको जस्तो गरेर झुटा कुरा गरिरहेको आरोप लगाए।

‘कांग्रेस, माओवादी केन्द्र लगायतका सबै दल मिलेर एक आवाजमा संसदबाट पास भएको हो। अहिले ओलीले अरुले केही गरेकै छैन, आफूले मात्रै गरेँ भनेर झुटो कुरा गर्दैछन्,’ उनले भने। केही दिनअघि ओली दार्चुला पुगेर गफ लगाएर फर्किएको आरोपसमेत उनको थियो।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले राष्ट्रलाई कुन दिशामा लैजाने भन्ने निर्णय लिने उनको भनाइ थियो। ‘अहिले धेरै किसिमका अफवाह फैलाउने काम भइरहेको छ। मुलुकलाई समृद्ध बनाउन गठबन्धन दल एकजुट भएर अघि बढेको छ,’ उनले भने।

उनले केही महिनाअघि दार्चुलामा नेपाल–भारत पक्की पुलको शिलान्यास भएको भन्दै उक्त पुल चाँडै निर्माण सम्पन्न हुने उनले बताए।