-तीर्थराज अधिकारी,गोरखा, लप्सीबोट; हाल:सरस्वतीनगर, काठमाडौँ-६ मार्च २३, २०२२
चाहे तिमी -
नालापानीका स्वाभिमानी कथाहरू पढ
चाहे भगीरथका पराक्रमी एकएक
पसिनाका थोपालाई छाम
युलिसिस यात्रा जहाँसुकै
पानी- नवसिर्जना भएर फक्रिएको छ
जिउँदो रगत र नसामा अनुवाद भएको छ ।
पानी- सगरभरि उचालिएको छ
पानी-सागरभरि सुसाएको छ
शिखरका टाकुराहरूमा
शुभ्र-स्वरूप मुस्कुराएको छ ।
पानी- जीवनको अमर कहानी लेख्ने मसी हो
असिका धार गलाउने असीम शक्ति हो
उर्वरताको आधार
मीठो सञ्जीवनी हो ।
यस प्रकृतिको वरदान साझा सम्पत्तिलाई
खण्डित र विभाजित मन कसैले
एक्लै खोपीमा ताल्चाभित्र नलुकाउनू !
थोपा-थोपाको पवित्रता बिटुल्याउँदै
धमिला ढलहरूमा नमिसाउनू !
विवेकको आफ्नै उपहास गर्दै अनाहक नडस्नू !
पानी - निर्मल धाराहरूमा
करोडौँ चाहनाको मीठो व्यञ्जन हुनुपर्छ
समताको सुन्दर रूप सधैँ
पानी - नानी बन्नुपर्छ
र,बानी सङ्लिँदै जवानी उठ्नुपर्छ ।
पखालेर अञ्जलि थापे
श्रद्धा र आस्थाको उचाइमा
पानी/ देवता अलौकिक रूप बन्छ
पानीको पिउने र जिउने पनि
आफ्नै रीत हुन्छ
व्यवस्थित र उचित प्रबन्धमा
पानी - मुटुको पनि मुटु बन्छ
मुटुको पनि मुटु हुनुपर्छ ।
संयमले संयन्त्रमा सजाए
पानी - दिव्य आलोक हो -झलमलाउँछ
ज्ञानमा / विज्ञानमा
पानी - स्वयम् ऊर्जा हो
यस शक्तिको सच्चा उपासनामा
अभावमा नयाँ भावको जन्म हुन्छ ।
सधैँ सफा र सुन्दर राखे
पानी - चहकिलो ऐना हो
विवेकी आफ्नै अनुहार हेर्न सकिन्छ
भूगोलमा पानी
शरीरमा रगतजस्तै हो
र, रगत पानी नै हो
थोपाथोपाको अनावश्यक चुहावटमा
धर्ती धाँजा फाट्छ
सिर्जना मुर्झन्छ
हामी सुक्छौँ र नीरस लत्रिन्छौँ ।
त्यसैले-
सृष्टिको यस मूल आधारलाई
भगीरथ प्रयत्नमा सङ्लो सागर बगाऔँ
पानी - स्वतन्त्र गति हो
निर्बन्ध यसलाई बग्न दिऔँ
चेतनाको यो बिहानी हो
सफा यसैमा आँखा धोऔँ ।
स्वच्छ प्रवाह
समताको सङ्लो नानीमा
पानी - प्राणी प्रत्येकको धुकधुकी हो
पानी - जीवन हो
पानीको पनि जीवन हुन्छ
जीवन यसको पनि जोगाऔँ !!
**तीर्थराज अधिकारीका अरु कविता**
सिफारिस
हत्यामा संलग्न रहेको अभियोगमा सुदिप र उदित ठाकुर पक्राउ
एनआरएनहरुका ३ एजेण्डा, ४ मुख्य काम नै अबको अभियान, बिस्तृतमा
केप कड नेपाली समाजको साधारण सभा र तेस्रो अधिवेशन सम्पन्न
चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा उमेश तामाङ पक्राउ