-Krishna Jibi Pantha

हामी सबैको एउटा एनआरएन र नेपाली नागरिकताको निरन्तरता नै मूल मुद्धा हो

Hollywood Khabar January 01,2023 Comments

कृष्णजीवी पन्थ, अमेरिका, जनवरी १, २०२३

गैरआवासीय नेपाली संघको स्थापना भएको पनि २ दशक पुरा भैसक्यो। पछिल्लो एक दशक बित्यो नेपाली नागरकताको निरंतरताबाट अभियान सुरु भएको पनि। नेपालको वर्तमान संबिधानमा गैरआवासीय नेपाली नागरिकताको ब्यबस्था छ। तर ऐन नबनेका कारण त्यसको कार्यावन्यन हुन सकेको छैन।

एनआरएनको अभियानमा रहेका एकाथरीलाइ केवल एनआरएन कार्ड मात्र भए पुग्ने कुरा छ। नेपालबाट मध्येपूर्व र मलेसीया लगायतका देशमा ठुलो रोजगारीका लागी जाने जनसंख्या छ। केहि हजारलाइ छोडेर हेर्ने हो भने उनीहरु छोटो समयका लागि बैदेशिक रोजगारीमा गएका हुन्छन। त्यहाँ मजदुरका धेरै समस्याहरु छन्। उनीहरुको सहयोगको लागि नेपाल सरकारको कुटनैतिक पहुँच कम छ। गैरआवासीय नेपाली संघ त्यो क्षेत्रका धेरै देशमा दर्ता नै छैन। एक किसिमको लुज टाइपको अण्डरस्टनडिङ्गमा चलेको छ।

एशियाका केहि देशमा अल्पकालीन रुपमा रोजगारी र अध्ययनमा जाने नेपालीहरु छन्। युरोप, बेलायत, अष्ट्रेलिया, अमेरिका क्षेत्र लगायत देशमा भने फरक बिषयको प्रमुख मुद्धा छ। गैरआवासीय नेपाली नागरिकताको प्राप्ति र नेपाली नागरिकताको निरन्तरता यो क्षेत्रका नेपालीहरुको मुख्य मुद्धा हो। लगानी र अन्य बिषयमा रटान गरिएपनि जब हामी आफैं कानुनी रुपमा नेपालमा सुरक्षित छैनौं भने रिश्क अझै बढेर जान्छ।

कतिपयलाइ मन नपर्न सक्छ तर गहिरिएर हेर्ने हो भने बैदेशिक रोजगारी र नेपाली मुलका बिदेशीको प्रमुख मुद्धा फरक फरक छन्। नेपाल सरकारको ऐन-कानुनमा जे जस्तो ब्याख्या गरिएता पनि ब्यबहारिक रुपमा चाहिं मध्येपूर्व र मलेसीया आदी देशमा जाने एनआरएनहरु भनेको अल्पकालीन रुपमा बैदेशिक रोजगारीमा जानेहरु हुन्। खासमा एनआरएन होइनन। उनीहरु छोटो समयको लागि विदेश जान्छन र फर्कन्छ। उनीहरुको लागि मुख्य मुद्धा भनेको श्रम संबन्धि समस्याको कुटनैतिक पहल र नेपाली निर्वाचनमा मतदानको अधिकार हो।

तर बिदेशमा आवासीय रहेका, बिदेशी मुलुकको नागरिकता लिएका, जन्मसिद्ध नागरिकता पाउने देशमा जन्मिएका व्यक्तिहरुको लागि भने नेपाली नागरिकताको निरन्तरता नै प्रमुख मुद्धा हो। यसलाई नेतृत्वमा को पुग्ने भन्ने होडबाजीले गर्दा स्थापनाको २ दशक सम्म पनि ओझेलमा पारियो। त्यसैले अहिले सम्म पनि गर्नुपर्ने पहल पुगेको छैन अनि पाउनुपर्ने नितिजा पाइएको छैन।

एनआरएनहरुको २०२१ मा सम्पन्न हुनुपर्ने १० औं अन्तराष्ट्रिय महाधिवेशन पनि यस्तै समयका कारण हुन सकेन। मार्च २०२२ मा सम्पन्न १० औं महाधिवेशनले त संघलाइ दुइ टुक्रामा बिभाजित गरायो। यसले केहि व्यक्तिहरुलाइ पद वितरणमा सहज त भयो तर हामी आम एनआरएनहरुमा विभाजनसँगै मुख्य कुराको समाधनमा समस्या ल्यायो। हाम्रो मुद्धाको पहल कम्जोर बनायो। त्यसैको परिणाम दुइ-दुइ पटक संसदबाट गएको नागरिकता ऐन शितल निवासमा पुगेर रोकियो। जे भयो गलत भयो।

यसमा दोष नेपाल सरकार र अरुलाई मात्र दिएर पुग्दैन। हाम्रा नेतृत्वमा रहेका व्यक्ति साथै बिश्वोमा आफ्नो फरक र दरिलो हैसियत राख्ने एनआरएन अमेरिकाको पहल पनि सबै भन्दा कमजोर सावित भयो। अन्तराष्ट्रिय परिषदको नेतृत्व लिएर आउनुपर्ने ठाउँमा विभाजनको साछी बसेर हाम्रो मुख्य मुद्धालाइ फिरौती चढाएर आउने काम भयो।

त्यसैको नतिजा अन्तराष्ट्रिय रुपमा विभाजित हुँदै गएको एनआरएनहरुको संघमा अमेरिकालेले कि त तटस्थ बस्नुपर्थ्यो कि एउटा सिंगो संघ बनाउन पहल गर्नुपर्थ्यो। त्यो दुवै काम भएन। २/३ महिनाको पहल गर्ने समय हुँदाहुँदै पनि, सल्लाह र सुझाव दिंदादिंदै पनि सुनिएन। अन्तत अमेरिकामा पनि बिभाजन भयो। यसो हुनमा अरु भन्दा पनि अहिलेको नेतृव नै बढी जिम्मेवार छ।

कतिपयले सामान्य फोनका कुरालाई पनि वार्ता, मिलाप र के के भन्दै फेसबुकमा हल्ला फिंजाएका छन्। वास्तवमा अब वार्ता र चिया, मम गफले यसको टुंगो लगाउँदैन। आम गैरआवासीय नेपालीहरु काठमाण्डौमा उपस्थित भएर बैधानिक रुपमा समाधान खोज्नु नै एक मात्र उपायो हो भन्ने मेरो विश्वास रहेको छ।

हाम्रो मूल मुद्धाको किनारा लगाउनको लागि टुटे-फुटेको विभाजित एनआरएन होइन हामी सबैको एउटा मात्र बलियो एनआरएन बनाउनुपर्छ। नेपाली नागरिकताको निरन्तरता नै हाम्रो मूल मुद्धा हो। बिचलित होइन त्यसैका लागि हामी एक एनआरएन, एक पहल र एउटै मूल मुद्धा नागरिकताको निरन्तरता हुनुपर्छ। म यसका लागि प्रतिबद्ध छु र नतिजा नआउँदा सम्म लागि परिरहन्छु। हामी आपसी दुश्मन होइनौं मुख्य मुद्धा पुरा गर्ने आपसी सारथी हौँ। नयाँ बर्ष २०२३ ले हामी सबैलाई यहि बाटोमा पुग्न सफलता मिलोस।