-Gita Bajagain Adhikari

गद्य कविता:दशैँ

Hollywood Khabar October 04,2022 Comments

-गीता बजगाईं अधिकारी, अमेरिका, अक्टुवर ४, २०२२

 

सानै थिएँ

मेरा सोचाइ साना

र निर्मल थिए

जिज्ञासाहरू धेरै थिए

तर थोरै उत्तरले समेटिन्थेँ

माग मनग्य थियो

तथापि व्यवस्थित आपूर्तिले

जीवन मनग्य चलेको थियो

सही /सापट

अर्म /पर्म

ऐंचो /पैंचो

सारा प्रफुल्लित भएर चल्थे

आत्मीय सौहार्द्रतामा

दशैँ भित्रन्थ्यो

 

घर वरिपरि

बाटो /घाटो

पूल /पुलेका

गल्ली /चोक

सबै सफा गर्ने

कटुवालले

उर्दी गर्थे

तोकिएको दिनमा

तोकिएका ठाउँका

धारा /पधेरा सबै

मेरो सानो

मुटुजस्तै

कञ्चन

सफा हुन्थे

र दशैँ भित्रिन्थ्यो

 

कमेरो ( सेतो माटो)

रात्माटो ( रातो माटो)

खन्न जानेको लाइन लाग्थ्यो

घर

पिँढी लिपपोत हुन्थे

भित्तामा पुरेनी भरिन्थ्यो

सालका चोइटाको

काली पाक्थ्यो

झ्याल

ढोका र बारदली

कालीले सिँगारिन्थे

जुडी

र अनदी धानका चिउरा

दॅात नभएको मुसलले

गाउॅ भरिका

ढिकीमा चेप्ट्याइन्थ्यो

दमै बाको घरमा

नयॅा लुगाका खात हुन्थे

कुखुराले बिस्ट्याएको

दमै बाको घरको गुन्द्री

बाल कोमल फूलले

रङ्गीचङ्गी बनाउॅथ्यो

तल्लो गाउॅ

पल्लो गाउॅ

सबैतिर लाउरे आउॅथे

क्यासेटमा गीत घन्कन्थे

चमेली तेलको

वास्ना उड्थ्यो

वास्नाको पछि पछि

चक्लेल माग्नेको

घुइचो हुन्थ्यो

र पो दशैं आउॅथ्यो

 

फेरि आकाशमा

बादलले

लामो लामो

सेतो बाटो बनाउॅथे

म बाबासॅग सोध्थेँ

बाबा त्यो के हो ?

ए लाटी !

त्यो त दशैँ आउने

बाटो हो नि ?

म छक्क पर्थेँ ?

अब

कति दिनमा आइपुग्छ

होला दशैँ!

त्यो बादलको

बाटो बिलाएर

आकाश निलो भएपछि

आउॅछ होला है

मन आफैँ बोल्थ्यो

अनि बालसुलभ मनले

आकाशको

बादल फाटेको देखेको दिन

दशैँ आउॅथ्यो

दशैँ आकाशबाट

पो झर्दो रहेछ भनेर

मन दङ्ग हुन्थ्यो

सप्तऋषि

तारा हॅसियाजस्तै गरी उदाउॅथे

अन्य ताराहरूले

सिङगो आकाश

धपक्क बल्थ्यो

जूनको

टहटह छाउॅथ्यो

खेतीपाती

लहलह झुल्थ्यो

बारीभरि

जताततै

फूलका तरेली लाग्थे

अनि पो

दशैँ आउॅथ्यो

 

आजकल

म ठुलो भएँ

मसँगै

मेरा समस्याहरू

ठुला भए

मागहरू बढे

आपूर्ति घट्यो

त्यसैले होला

पहिलेजस्तो

केही लाग्दैन

सौहार्द्रता मरिसके छ

आत्मीयता बन्दकी परेछ

धनी अथाहा

धनी

गरिब निस्फिक्री

गरिब छन्

बीचमा खाल्डो परेछ

सपनाहरू खण्डित छन्

निद्राहरू दिग्भ्रमित छन्

मनहरू चञ्चल छन्

तनहरू अधैर्य छन्

लोभ छ

पाप छ

त्यससभित्र तातो बाफ छ

भोकको ज्वाला दन्किएछ

रोगको मेलो तन्किएछ

महिनौँदेखि

दशैँकै बारेमा सोच्नु पर्छ

सय कडा चार

ब्याज धोक्नु पर्छ

अन्योलमै दशैँले

चुल्हो बाल्छ

भुमरीमा पारेर

दशैँ भाग्छ

खै !किन हो किन

आजकलको दशैँ

रेशमी डोरी होइन

माकुराको जालजस्तै

जतासुकै

फेस बुके महाजालमा

फोटो खिच्नको लागि

लाग्छ

अनि जान्छ

सुटुक्क थाहा नै नदिई!!

गीता बजगाईं अधिकारीका कविताहरु

गद्य कविता:गौंडाहरू

तीज गीत