-Tirtha Raj Adhikari

काल-कर्म

Hollywood Khabar January 12,2023 Comments

-तीर्थराज अधिकारी, गोरखा, लप्सीबोट हाल सरस्वतीनगर, काठमाडौॅं ६, जनवरी १३, २०२३

 

उखेल्छ बाघका नङ्ग्रा ,मत्ताको मद गाल्दछ

उतार्छ गोहीका दाह्रा ,साँढेको सिँग भाँच्दछ

देख्दा अजिबका होलान् काया ह्वेल,अजिङ्गर

कालका बलका सामु छैनन् कोही भयङ्कर ।१।

 

चरा सगरमा उक्ली दूर जाऊन् जतातिर

माछा सागरमा डुब्दै गरून् फुर्फुर - फुर्फुर

पुगून् मङ्गलमा वा क्वै कुदून् जङ्गल- जङ्गल

सबैको बल खोसेर कालले पार्छ निर्बल ।२।

 

हुरी,आँधी ,महामारी, सुनामी जति आउँछन्

हाँसेका ओठमा आँसु आँखाबाट खन्याउँछन्

फुट्दा ज्वाला स्वयम्- भित्र शैल भासिन्छ गर्तमा

अड्न सक्ने कुनै छैनन् रण चर्को प्रकम्पमा ।३।

 

ढुङ्गामा मात्र पर्दैन वज्रको क्रूर चड्कन

वडवानलले बाँकी राख्दैन नवजीवन

दया-माया कहाँ राखी गति चाल्छ र छालले !

वयको ख्याल गर्दैन , बिन्ती सुन्दैन कालले ।४।

 

सुनको लोभमा फस्दै दौडे राम अरण्यमा

बर्सिए बाँण व्याधाका कृष्णका दिव्यप्राणमा

जूनमा, घाममा छाया पर्छ ग्रहणको कडा

कालका दृष्टिमा छैनन् कतै कोही महाबडा ।५।

 

आजका हरिया पात झर्छन् भोलि कठाङ्ग्रिँदै

शैलका हिमका ढिक्का पग्ली खस्छन् मडारिँदै

फाँटले मोह राखेर काखमा कुन बस्छ र ?

पाकेका अन्नका दाना पुग्छन् किसानका घर ।६।

 

पक्षको पथले गाल्दै जून पस्दा कुनै कुना

बढ्ला ताराहरूभित्र भेटको अझ तिर्सना

कुनै तारा कतै झर्दा रोलान् बाँकी सबै मिली

झर्दा अन्तिमको तारा रोला को दर्दले जली ? ७।

 

रस,शब्द कता जान्छन् ! गन्ध, स्पर्श हराउँछन् !

डेरा सर्दा कतै प्राण रूप जम्मै बिलाउँछन् !

'जन्मकै ऋण हो मृत्यु सबैले तिर्नुपर्दछ '

आएको शून्यबाटै हो शून्यमै मिल्नुपर्दछ ।८।

**तीर्थराज अधिकारीका अरु कविता**

लोभिँदा लोभिँदै

होसियार !!

आकाशसँग

वास्तविकता

जङ्गल

मेरा माटाका विम्बहरू

चमेराहरू

पीपलका पातहरू

जगत् चिडियाखाना

जगत् चिडियाखाना

उभिएकै छन्-बिचरा बुख्याँचाहरू

आफन्त

तिमी खुसी नै छौ

आगो उसै जन्मिँदैन

उस्तै-उस्तै रूपहरू

माया, नाता र आफन्तहरू

लिफ्टबाट झर्दै

कलाकार नेताहरू

मेरो प्रजातन्त्र

नवजीवनको प्रतीक्षामा

डाक्टर साहेब

यसरी उठ्छ यथार्थ

बुद्धिजीवी:अनौठो किंवदन्ती

भीमोदय

पानी

पाठशाला कता खोजौॅं

आज नेपाल बन्द छ ! (४)

आज नेपाल बन्द छ- ३

आज नेपाल बन्द छ- २

आज नेपाल बन्द छ-१

मकैका फूलहरू

सपनामा हराएको बिपना

बोटको अठोट

भलिबल

भ्रमजाल

भेडा र गोठालाहरू

सत्ता

के प्रयोजन

स्वतन्त्रता !

राजनीतिका जुवाडेहरू

कवि र दुनियाँ

सलाम मुटुका मालिकहरूलाई

घडीको टिकटिक

बग्गीका घोडाहरू

असहमति

जडमूर्ति

सलाम मुटुका मालिकहरूलाई

छाया

वाणीपुत्र ! महाकविमा समर्पित